१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

भक्तपुर नगरकोट, बालाजु–रानीपौवा सडक खण्ड बिजोग

पासाङ ल्यामु राजमार्गको बालाजु–रानीपौवा सडकखण्ड अन्तर्गत ओदरपौवा क्षेत्रको जिर्ण सडक। तस्बिर सौजन्य एचके लोहनी

भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाले निर्धारित समयमै सडक बनाउन नसकेको शैलुङ–अरभाली इन्फ्रापावर जेभीलाई ६ करोड रूपैयाँ हर्जाना तिराउने भएको छ । योजनाले भक्तपुर भत्केपाटी–नगरकोट र बालाजु–रानीपौवा सडक खण्ड निर्धारित समयभित्रै सम्पन्न नगरेको भन्दै ठेकेदार कम्पनीलाई ठेक्का सम्झौताको १० प्रतिशत हर्जाना तिराउने भएको हो ।  

योजनाले केही अघि भक्तपुर भत्केपाटी–नगरकोट सडक खण्डमा साढे तीन करोड र बालाजु–रानीपौवा सडक खण्डमा दुई करोड ५० लाख रूपैयाँ हर्जाना तिराउने निर्णय गरेको हो । अनुमानित लागतभन्दा कम कबोलमा ठेक्का हत्याएर सडक आयोजना अस्तब्यस्त पार्दै आएको शैलुङ कन्सट्रक्सन प्रालि राजनीतिक आडमा कालोसूचीमा पर्नबाट जोगिँदै आएको छ । शैलुङ कन्सट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । अधिकारीले उपलब्ध गराएको ललितपुरको खुमलटारस्थित घरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसोबास गर्छन् ।  

भक्तपुर भत्केको पाटी–नगरकोट सडक खण्डका योजना प्रमुख जगत प्रजापतीले ठेकेदार कम्पनीले तोकिएको समयभित्रै भक्तपुर भत्केको पाटी–नगरकोट सडक खण्ड निर्माण सम्पन्न नगरेकाले ठेक्का सम्झौताको १० प्रतिशत हर्जाना लगाउने निर्णय गरेको जानकारी दिए । ‘ठेकेदार कम्पनीले पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न सकेन,’ उनले मंगलबार नागरिकसँग भने, ‘चौथोपटक म्याद थप गर्दा १० प्रतिशत हर्जाना लगाउने निर्णय गरेका हौं ।’  

योजना प्रमुख प्रजापतीले शैलुङ–अरभाली इन्फ्रापावर जेभीलाई साढे तीन करोड रूपैयाँ हर्जाना लगाउने निर्णय भइसकेको बताए । ‘ठेकेदार कम्पनीले काम गरेको बिल पेस गरेसँगै हर्जाना रकम कटौती गरेर मात्रै अन्य रकम भुक्तानी गर्नेछौं,’ उनले भने, ‘निर्माण क्षेत्रमा देखिएको विकृति नियन्त्रणको लागि उक्त हर्जाना लगाउने निर्णय भएको हो ।’  

शैलुङ–अरभाली इन्फ्रापावर जेभीले ०७०÷७१ मा भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्म साढे १५ किलोमिटर सडक विस्तार र कालोपत्रे गर्ने ठेक्का पाएको थियो । जेभीले दुई वर्षभित्र उक्त काम गर्ने गरी २७ करोड ९० लाख रूपैयाँमा उक्त ठेक्का पाएको थियो । दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने सडक सात वर्षसम्म बित्दासमेत अलपत्र छैन । ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले सात वर्षदेखि अलपत्र रहँदै आएको उक्त खण्डको म्याद पाँचौंपटक थप भइसकेको छ । पाचौंपटक थपिएको म्याद आगामी पुस १५ गतेसम्म छ ।

भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाले अनुमान गरेको निर्माण लागतभन्दा ४० प्रतिशत कम रकममा काम गर्ने प्रस्ताव जेभीले गरेपछि उसैले ठक्का पाएको थियो । तर ठेक्का सम्झौता भएको ६ वर्ष बित्दासमेत उक्त खण्डको निर्माण सम्पन्न हुन सकेको छैन ।  

भक्तपुर–नगरकोट सडक खण्ड

योजना प्रमुख प्रजापतीले भक्तपुर भत्केको पाटी–नगरकोट खण्डको भौतिक प्रगति ७५ प्रतिशत भएको बताए । ‘साढे १५ किलोमिटर खण्डमध्ये साढे तीन किलोमिटरमा मात्रै सबबेस राख्ने काम सकिएको छ । अन्यमा बेसकोर्स राख्ने काम भएको छ,’ उनले भने, ‘ठेकेदारको लापरवाही र लकडाउनले कालोपत्रे हुन नसकेको हो ।’

६ वर्ष ढिलो हुँदा ६ करोड लागत बढ्यो  
योजनाका प्रमुख प्रजापतीले भक्तपुर–भत्केको पाटी–नगरकोट सडक खण्डको भेरिएसन बढेकाले लागत वृद्धि भएको बताए । ०७०÷७१ मा ठेक्का सम्झौता गर्दा उक्त खण्डको लागत २७ करोड ८० लाख थियो । आयोजनाको भेरिएसन हुँदा अहिले लागत ३४ करोड रूपैयाँ पुगेको छ । योजना प्रमुख प्रजापतीले सडकको केही सीमांकन परिवर्तन गर्नुपर्दा लागत बढेको बताए ।

बालाजु–रानीपौवा खण्ड बेहाल
शैलुङ–अरभाली इन्फ्रापावर जेभीले ०७०÷७१ सालमा सडक सुधार आयोजनाअन्तर्गत तीनवटा ठेक्का हात पारेको थियो । जेभीले भक्तपुर–नगरकोट खण्ड, बालाजु–रानीपौवा खण्ड र भरतपुर–रामपुर–मेघौली खण्डको ठेक्का पाएको हो । भरतपुर– रामपुर–मेघौली खण्ड निर्माण सम्पन्न गरे पनि बालाजु–रानीपौवा सडकको अवस्था बेहाल छ ।  

सडक सुधार तथा विकास आयोजना निर्देशनालयका प्रोजेक्ट कोअर्डिनेटर सुशीलबाबु ढकालले ठेकेदार कम्पनीको ढिलासुस्ती र लकडाउनका कारण सडक निर्माण कार्यले गति लिन नसकेको बताए । ‘यो खण्ड ठेकेदार कम्पनीको ढिलासुस्तीले अलपत्र परेको हो,’ उनले भने, ‘गत चैतदेखि लकडाउले काम प्रभावित भएको छ ।’  

योजनाले बालाजु–रानीपौवा खण्डको २० किलोमिटरमध्ये विवादित तीन किलोमिटरको दुरी कम गरे पनि अहिलेसम्म उक्त खण्ड कालोपत्रे हुन सकेको छैन । निर्देशनालय प्रमुख ढकालले बालाजु–रानीपौवा खण्डको प्रगति ५० प्रतिशत मात्रै पुगेको बताए । ‘निर्माण व्यवसायीको कार्यसम्पादन र साइटको समस्या दुवै कारण समयमै निर्माण सम्पन्न हुन नसकेको हो,’ उनले भने, ‘निर्देशनालयले पछिल्लो समय सडकको अवरोध हटाइसकेको छ ।’  

निर्देशनालयका प्रोजेक्ट कोअर्डिनेटर ढकालले बालाजु–रानीपौवाको ठेकेदार कम्पनी शैलुङ–आरभाली इन्फ्रापावर जेभीलाई दुई करोड ५० लाख हर्जना तिराउने निर्णय गरेको बताए । 

प्रकाशित: २४ असार २०७७ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App