८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशमा धानखेती, बाँझो जमिन हुन थाल्यो हराभरा

पोखरा क्षेत्रका विभिन्न फाँटमा धान रोप्दै किसान । तस्बिरः उमेश पुन/नागरिक

पोखरा महानगरपालिका–१६ ठूलीबेसी फाँटका प्र्रकाश भट्टराईको तीन रोपनी जग्गा पाँच वर्षदेखि बाँझो थियो ।  उनको परिवारले अन्य काम–पेसाका कारण खेती गर्न नपाउने र अरुलाई ‘आफैं गर आफैं खाऊ’ भन्दा पनि मान्छे नपाउने अवस्था थियो । अहिले भने उनको खेत रोपिने भएको छ ।  

भट्टराई भन्छन्, ‘यहाँ जेठोबुढो धान फल्छ । यो धान खानेलाई इज्जतदार मानिन्छ । यसपालि एउटा दलित परिवार खेत माग्नै आयो । गर–खाऊ भनेर गरिखान दिएको छु । मान्छेले खान पाउने भए, खेतको पनि उपयोग हुने भो ।’

कोरोना महामारी र लकडाउनका कारण विश्वव्यापी रूपमा रोजगार, व्यापार–व्यवसाय प्रभावित भएको छ । हामीकहाँ भने यसपालि अधिकांश मानिस कृषिमा फर्किएको देखिन्छ । त्यसो त, यो महामारीका बेला मात्रै होइन, पछिल्ला वर्ष गण्डकी प्रदेशमा खेती गर्ने जमिन थपिएको अर्थात् बाँझो जमिनमा खेती हुन थालेको सरकारी तथ्यांकले देखाउँछ ।

गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकले पनि लामो समयदेखि बाँझिएको खेतीयोग्य जमिनमा अहिले कृषिकर्म हुँदै जाँदा धान लगायत बालीको उत्पादन बढ्दै गएको देखाएको छ । मौसमले साथ दिएको र सिँचाइ लगायत सुविधा थपिँदा कृषि उत्पादन बढेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०७४/७५ मा गण्डकी प्रदेशमा एक लाख १५ हजार सात सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो, जहाँ चार लाख १८ हजार सात सय ३३ मेट्रिक टन, अर्थात्, प्रतिहेक्टर ३.६ मेट्रिकटनका दरले धान फलेको थियो । त्यो क्षेत्रफल आर्थिक वर्षमा २०७५/७६ मा बढेर एक लाख २२ हजार सात सय ४४ हेक्टर पुग्यो । जग्गा थपिँदा त्यो वर्ष चार लाख ३१ हजार ५२ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा उत्पादकत्व केही घटेर प्रतिहेक्टर ३.५ मेट्रिक टन धान फलेको थियो ।

आर्थिक वर्ष ०७६/७७ मा अघिल्लो वर्षको तुलनामा चार हजार ६ सय ६४ हेक्टर क्षेत्रफल थपियो, अर्थात् एक लाख २७ हजार चार सय आठ हेक्टर जमिनमा खेती हुन थाल्यो । उत्पादन पनि अघिल्लो वर्षभन्दा बढेर चार लाख ५९ हजार आठ सय ७३ मेट्रिक टन पुगेको थियो । उत्पादकत्व पनि बढेर प्रतिहेक्टर ३.६ मेट्रिकटन पुग्यो ।  

मन्त्रालयको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका बाली विकास अधिकृत अमृत रेग्मी प्रदेशमा पछिल्लो समय धानखेतीका लागि क्षेत्रफल, धान उत्पादन र उत्पादकत्वमा वृद्धि हुँदै गइरहेको बताउँछन् । ‘खेतीयोग्य जमिन थपिएको हो । पहिला खेती नभएर बाँझिएको जग्गामा अहिले धमाधम धानखेती हुन थालेको छ,’ रेग्मीले भने, ‘युवा जनशक्ति नहुँदा र खडेरी पर्दा पनि खेत बाँझो हुन्थ्यो, पछिल्लो समय धान रोप्ने बेला नियमित वर्षा भएकाले उत्पादन बढेको छ ।’  

उनका अनुसार प्रदेश सरकारले बाँझिएका गरा–कान्ला, बारीलाई चक्लाबन्दी गराएर खेतीयोग्य बनाएको छ । चक्लाबन्दीले पनि उत्पादन बढाउन सघाएको उनले बताए । चक्लाबन्दीले धान उत्पादनमा प्रोत्साहन मिलेको उनकोे भनाइ छ । त्यसबाहेक सिँचाइका योजना पनि थपिएका छन् । अलपत्र परेका सिँचाइका आयोजना अगाडि बढेकाले पनि कृषि उत्पादन बढाउन सघाएको उनी बताउँछन्।

‘कोरोनाको मारमा परे पनि जनशक्ति गाउँगाउँमा पुगेकाले आगामी वर्ष झनै उत्पादन बढ्ने देखिन्छ,’ उनी भन्छन्, ‘अहिले विदेश गएका युवा फर्कंदै छन् । अर्कोतिर सहरको जनशक्ति गाउँ फर्केको छ । गाउँमा बाँझिएको जग्गामा अहिले धमाधम खेती गरिएको छ ।’

कृषि उत्पादन बढाउन आगामी वर्ष अझै धेरै जग्गा चक्लाबन्दी गर्ने योजना प्रदेश सरकारको छ । ‘चक्लाबन्दी बनाएको फाँटमा खेती गर्दा लागत कम, तर उत्पादन बढ्छ,’ रेग्मीले भने, ‘डाँडापाखामा खेती गर्दा बढी लागत पथ्र्यो । तर, अब कम लागतमा चक्लाबन्दी गरिएको जग्गामा खेती गर्न थालिएको छ ।’

कृषिविज्ञ बेनीबहादुर बस्नेत पछिल्लो समय धान उत्पादन बढ्न थालेको र आगामी वर्ष अझै बढ्ने आँकलन गर्छन् । उनका अनुसार, उत्पादन बढ्नुमा धान रोप्ने समयमा नियमित वर्षा हुनु मुख्य कारण हो । ‘पछिल्लो समय टारी खेत पनि रोपिन थालेको छ । यसले धान उत्पादन बढाएको छ,’ बस्नेतले भने, ‘केही वर्ष अघिसम्म टारीखेतमा धानै रोपिँदैनथ्यो । पछिल्लो समय पर्याप्त वर्षा हुँदा धान रोप्न सहज भएको छ ।’

यो वर्ष झनै बाँझो जग्गा कतै बाँकी नरहने उनले बताए । ‘यो वर्ष अधियाँ रोप्न खोज्नेको हानथाप छ । पोहोरसम्म कसलाई जग्गा दिने होला भन्ने तनाव हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले कोरोनाका कारण पनि खेतीमा आकर्षण बढेको छ ।’  

पछिल्लो समय मनसुनी र प्रि–मनसुनी वर्षा नियमित हुँदा धान रोप्न सहज भएको उनले बताए । कुनै बेला पानीकै अभावमा टारीखेत बाँझिएकामा अहिले धान रोप्न थालिएको छ । ‘गत वर्ष धानको उत्पादन देशव्यापी बढेको छ । त्योभन्दा अघि खडेरी हुन्थ्यो,’ कृषिविज्ञ बस्नेत भन्छन्, ‘धान रोप्न नपाएर बिउ सुक्ने र रोपेको धान पनि सुक्ने अवस्था आउँथ्यो । पछिल्ला केही वर्षदेखि भने यो समस्या कम भएकाले उत्पादनमा सघाउ पुगेको छ ।’  

त्यसबाहेक संघदेखि स्थानीय सरकारसम्मले कृषिमा प्राथमिकता दिँदा उत्पादन बढाउन सघाएको बस्नेतको भनाइ छ । उनका अनुसार, सरकारले कृषिमा ठूलो बजेट छुट्ट्याएको र त्यसले कृषकलाई कृषि कर्ममा आकर्षण थपेको छ । कोरोना फैलिँदा आगामी वर्षको उत्पादन २० प्रतिशतसम्म थपिने उनको आकलन छ । ‘आगामी वर्ष उत्पादन बढ्छ । तर, त्यसलाई बजार अभाव हुने देखिएको छ । सहरमा बसेर खाने मान्छे अहिले गाउँमा छन्,’ उनले भने, ‘गाउँमा भएका सबैजसो कृषिमा जुटेका छन् । त्यसले पनि उत्पादन बढ्ने निश्चित छ ।’  

बिउबिजन, मलको गुणस्तर र मौसम सही भएमा २० प्रतिशत उत्पादन आगामी वर्ष थपिने उनले बताए । गाउँगाँउमा ट्र्याक्टरबाट खेती गर्न थालिँदा पनि उत्पादन बढाउन सघाएको छ ।  

महानगरमा मात्र ११ हजार दुई सय हेक्टर

आर्थिक क्षेत्रमा सधैंजसो आलोचना हुने विषय हो– जग्गा प्लटिङ । खेतीयोग्य जग्गा धमाधम प्लटिङ हुँदा धान लगायत उत्पादनमा असर परेको भनी सबैतिर आलोचना हुने गर्छ ।  

पोखरा महानगरपालिकाभित्र प्लटिङको समस्या नभएको होइन, तर यहाँ धान र अन्य तरकारीखेती भइरहेकै छ ।  

महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार, ११ हजार दुई सय हेक्टर क्षेत्रफलमा करिब ३५ हजार मेट्रिकटन धान फल्ने गरेको छ । योपटक बेलैमा र नियमित वर्षा हुँदा धान रोप्न सहज भएको उनले बताए । पोखराका बिरौटा, फेवा, शिशुवा, ठूलीबेसी लगायत धान फल्ने फाँट हुन् । यहाँको करिब ४० प्रतिशत खेतमा अझै पनि जेठोबुढो भनेर परिचित धानखेती हुने गरेको छ । ‘सहरी क्षेत्रमा मात्र उर्वर जग्गामा घर बनेका हुन् । ग्रामीण क्षेत्रमा त अझैै पनि खेती नै हुन्छ,’ कडरियाले भने ।

वर्षाले रोपाइँ नियमित

नियमितजसो भइरहेको वर्षाले गण्डकी प्रदेशमा अहिलेसम्म करिब १५ प्रतिशत धान रोपिसकिएको प्रदेशको कृषि मन्त्रालयले बताएको छ । पोखरा महानगरपालिकाभित्र भने करिब ४० प्रतिशत रोपाइँ सकिएको महानगरले बताएको छ । ‘प्रि–मनसुन र मनसुनमा यहाँ नियमित वर्षा भयो । त्यसले गर्दा सहज भएको हो,’ महानगरको कृषि महाशाखा प्रमुख कडरियाले भने, ‘यो वर्ष धान रोप्न पानीको अभाव छैन । बेलैमा रोपेर सकिनेछ ।’

प्रकाशित: २३ असार २०७७ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App