१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजार खुल्याे, व्यापार छैन

आइतबार दिउँसो काठमाडौं न्युरोडका पसलहरू खोलिएका थिए । एक कपडा व्यापारी ग्राहकको प्रतीक्षामा रहेछन् । उनी सडकतिर हेरिरहेका थिए । कुनै बटुवाले पसलतिर हेर्नेबित्तिकै उनी फुरुंग हुन्थे, बटुवाले पसल पार गरेपछि निराश हुन्थे ।  

उनलाई सोधियो, ‘व्यापार कस्तो छ ?’

‘सकियो, केही चलेको छैन,’ उनको अनुहार धमिलो भयो । उनले थपे, ‘फाट्टफुट्ट व्यापार हुन्छ । यसले न घरभाडा तिर्न पुग्छ न गुजारा चल्छ । सकियो यसपालि !’

उनले बन्दाबन्दीअघि पाँच जनालाई रोजगारी दिएका रहेछन् । त्यतिबेला उनको व्यापार निकै राम्रो थियो ।  

ग्राहक अत्यावश्यक भए मात्र सामान किन्न आउने गरेको उनले सुनाए । उनले विलासिताका सामान बिक्री हुनै छाडेको जानकारीसमेत दिए । उनले भने, ‘निकै खाँचो भयो भने मात्र किन्न आउँछन् । ग्राहक नै छैनन् ।’  

सार्वजनिक सवारी सञ्चालन नगरिएकाले व्यापार नभएको उनको दाबी छ । उनी सार्वजनिक सवारी सञ्चालनमा आएपछि केही राहत मिल्ने आसमा छन् । उनले भने, ‘व्यापार पुरानै गतिमा फर्किन वर्षौं लाग्छ तैपनि सार्वजनिक सवारी सञ्चालनमा आए व्यापार हुने थियो ।’

सरकारले व्यापार व्यवसायको पुरुत्थानका लागि प्रभावकारी योजना नल्याएकामा उनले दुःखमनाउ गर्दै भने, ‘सरकारबाट राहत पाइन्छ भन्ने आसै छैन । घरभेटीले पनि भाडा छुट नदिए व्यापार छाडेर भाग्ने बेला भयो ।’ 

यतिबेला अधिकांश व्यापारीको अवस्था यस्तै कहालीलाग्दो छ । उनीहरू घरभाडा र पारिवारिक खर्चले नराम्ररी थिचिएका छन् । उनीहरूको आशा सरकार र घरभेटीमाथि छ– सरकारले राहत प्याकेज ल्याओस्, घरभेटीले भाडामा केही छुट दिएर सहयोग गरून् ।

यो पनि पढ्नुहोस्

टेम्पो चालकका दु:ख :  हातमुख जोर्नै गाह्रो छ, किस्ता कसरी तिर्ने ?

प्रकाशित: १५ असार २०७७ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App