coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

थप उद्धार उडान गर्न अनुमति

कोभिड–१९ महामारीले विदेशमा अलपत्र परेका नेपालीलाई घर फर्काएनस्वदेशी विमान कम्पनीहरुले थप उडान अनुमति पाएका छन्। सरकारले गत जेठ २८ देखि सुरु गर्ने गरी नेपाल एयरलाइन्सलाई २४, हिमालय एयरलाइन्सलाई १९ र विदेशी विमान कम्पनीलाई २४ उडानको अनुमति दिएको थियो। ती उडानबाट विदेशमा रहेका सबै नेपाली फर्कन नपाएपछि उनीहरुलाई ल्याउन थप उडान अनुमति दिइएको हो। यसअघि ११ देखि २५ जुनसम्म उडान भर्ने गरी वायुसेवा कम्पनीहरुले तालिका सार्वजनिक गरेका थिए।

नेपाल एयरलाइन्सले थप सात उडानको अनुमति पाएको छ। निजी क्षेत्रको स्वदेशी विमान कम्पनीले हिमालयले पाँच उडानको अनुमति पाएको छ। शुक्रबारसम्म नेपाल एयरलाइन्सले २३ र हिमालयले २० उडान भरेको जनाएका छन्।  

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार जेठ ३२ मा सुरु गरिएको उद्धार उडानमार्फत शुक्रबारसम्म नौ हजार ६ सय ७५ नेपाली स्वदेश फर्केका छन्। स्वदेशी र विदेशी कम्पनीका गरी एक सय २३ उडानमार्फत विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याएको क्यान प्रवक्ता राजेन्द्रकुमार क्षेत्रीले बताए। स्वदेश फर्केकामध्ये ८० प्रतिशत स्वदेशी र २० प्रतिशत विदेशी विमानमा आएका हुन्।

उड्डयन सम्बद्ध निकायसँग विदेशी विमानले कति नेपाली बोके भन्ने यकिन तथ्यांक नरहे पनि नेपाल वायुसेवा निगमले उद्धार उडानमार्फत तीन हजार आठ सय ४७ नेपालीलाई स्वदेश ल्याएको जनाएको छ। निगमसँग २–२ वटा वाइडबडी र न्यारोबडी जहाज छन्।  

विभिन्न २१ देशबाट उद्धार कार्य जारी रहँदा उडान तालिकामा प्राथमिकता पाएको नेपाल एयरलाइन्ससँग चारवटा विमान रहे पनि उल्लेख्य उडान भर्न नसक्नुमा उडान तालिका रद्द हुनु मुख्य कारण रहेको निगम स्रोतको दाबी छ।  

निगमले गर्ने भनेका सुरुका उडानमा सरकारले महँगो भाडा तोक्नु र विदेशस्थित नियोगहरुले सरकारले तोकेभन्दा सस्तो भाडामा नेपाल पठाउन खोजेपछि भाडा समायोजनमै निगम अल्मलिएको स्रोतको भनाइ छ।  

ती उडान रद्द भएर हिमालयले उडान भर्ने मौका पाएको आरोप निगमलाई लागेको छ। तर निगम प्रवक्ता अर्चना खड्का निगमका उद्धार उडानहरु रद्द नभएको दाबी गर्छिन्। ‘उडान तालिका मात्रै परिवर्तन भएको हो,’ उनले भनिन्, ‘पहिले सार्वजनिक गरिएको उडानहरु साबिककै समयमा हुन नसके पनि तालिका परिवर्तन गरेर उडान भएका छन्।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार उद्धार उडानमार्फत नेपाल प्रवेश गर्नेको संख्या आठ हजार नाघेको जनाइएको छ। लकडाउनयता मात्रै दुई सयभन्दा बढी उडान भएको र नेपालबाट १५ हजार मानिस बाहिरिएको विमानस्थलस्थित अध्यागमन प्रमुख सागर आचार्यले जानकारी दिए।

अन्तर्राष्ट्रिय उडान असार ३२ र आन्तरिक असार २१ सम्म बन्द रहे पनि आन्तरिकतर्फको उडान खुल्ने सक्ने नियामक निकायका अधिकारीले बताएका छन्।

सरकारले लकडाउन खुकुलो गरेसँगै सार्वजनिक सवारीसमेत चल्न थालेको र विमानस्थलले उडानका लागि आन्तरिक तयारी पूरा गरिसकेकाले स्वास्थ्य निर्देशिका अनुसार मापदण्ड पालना गर्दै उडानको तयारी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।  

स्रोतका अनुसार सरकारले आधिकारिक निर्देशन दिएलगत्तै उडानका लागि विमान कम्पनीहरु सामाजिक दुरी कायम राख्दै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड बनाएर तयारी अवस्थामा छन्।

लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न थालेपछि मापदण्ड बनाएर आन्तरिक उडान खोल्ने तयारी भएको स्रोतको दाबी छ। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत पर्यटन मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वायुसेवा सञ्चालक संघको समन्वयमा मापदण्ड तयार पारेको छ।

प्रकाशित: १४ असार २०७७ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App