७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिंचाई पोखरीले राहत

सुनिलस्मृति गाउँपालिकाको गजुलमा निर्मित तितेपोखरा सिंचाई पोखरी । तस्बिर : दिनेश/नागरिक

हिउँदको समयमा पानी अभावका कारण सुख्खा रहने करिब २ सय ४३ रोपनी जमिनमा सिंचाई हुने गरी पहाडी साना किसानका लागि अनुकुलन आयोजना अन्तर्गत आशा परियोजनाले पोखरी बनाइदिएपछि गजुलबासी दंग छन्। सिंचाई अभावका कारण हिउँदभर सुख्खा रहने सुनिलस्मृति गाउँपालिका वडा नं. ६, गजुलकोट गाउँमा अब भने बाह्रै महिना सिंचाई हुने भएको छ । पोखरी बनेपछि स्थानीयले राहतको महसुस गरेका छन् ।

बढ्दो औद्योगिकरण, वन विनास, अव्यस्थित सहरीकरण तथा प्रविधिको बढ्दो प्रयोगले वातावरणमा प्रभाव परेकाले पानीका मुहान सुक्ने र सिंचाई अभावमा जमिन बाझो रहने समस्या अब गजुलबासीले भोग्नु नपर्ने भएको हो । ‘पहिला सामान्य रुपमा दुख अनि धेरै मेहनत गरेर खेति गरिन्थ्यो । घरमा मुस्किलले खान पुग्ने तराकारी खेती गर्ने गर्दथ्यौ ।’ स्थानीय रेस्मी सुवेदीले भनिन् ‘अब व्यवसायीक खेति गर्ने सोच बनाएका छौ ।’

पोखरीमा करिब ४५ मिनेट टाढाको मुलबाट पानी ल्याएर स्टोर गर्ने योजनाका साथ काम अगाडी बढाईएको थियो । उपभोक्ता समितिको सकृयतामा सम्पन्न निर्माण प्राविधिक स्टीमेट भन्दा बढि भएको स्थानीय धनबिक्रम सेनले बताए । उनका अनुसार आशा आयोजनाबाट १३ लाख ७० हजार र श्रमदानबाट, ३ लाख ९६ हजार र वडा कार्यालयका २ लाख रकम खर्च गरिएको छ । 

स्थानीय कुवापानी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा निर्माण गरिएको तितेपोखरा सिंचाई पोखरी निर्माण आयोजनाले गजुलका ८१ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष चित्रजङ सेनले बताए । ‘सिंचाई पोखरी निर्माणले कृषकमा धेरै आशा जगाएको छ । सिंचाई पोखरीले हिउँदमा धेरै कृषकलाई लाभान्वित बनाउने छ ।’

वडाअध्यक्ष अर्जुन सुवेदीका अनुसार आशा परियोजनासँग वडा कार्यालय र जनश्रमदान गरी स्थानीयले पनि सहकार्य गरेका छन् । उनले भने ‘स्थानीय सरकार र स्थानीयबासीको समेत योगदान भएकाले यसको प्रयोग र संरक्षणमा पनि सबैको चासो उत्तिकै हुने विश्वास छ ।’ परियोजनाले सुख्खा याममा पानीको उचित प्रयोग गरी सिंचित गर्ने र खाद्य तथा नगदे बाली उत्पादन बढाउने उद्देश्यका साथ सिंचाई पोखरी निर्माण गरेको हो ।  

आशा परियोजनाले गजुलमै अर्को भनारे पोखरी सिंचाई पोखरी पनि निर्माण गरेको छ । पोखरी निर्माणले २५ घरधुरी लाभान्वित हुने स्थानीय हरिबहादुर थापाले बताए । बाह्रै महिना सिंचाई हुने भएपछि तरकारी उत्पादनमा बृद्धि गर्ने कृषकको योजना छ । सडक, विद्युत पुगेपनि पर्याप्त सिंचाईका लागि पानी नहुँदा तरकारी तथा अन्य बस्तु आयात गर्नुपरेको र अब त्यसका कमी आउने स्थानीय बताउँछन् ।

प्रकाशित: १२ असार २०७७ १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App