१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ब्याज मिनाहा र न्यून व्याजदरमा ऋण उपलब्ध गराउन होटल व्यवसायीको माग

होटल व्यवसायी संघ सुर्खेतले कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेको भन्दै यो अवधिको बैंकको ब्याज मिनाहा र न्यून व्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बिहीबार विज्ञप्तिमार्फत संघले व्यवसायीहरूले घर भाडा र बैंकको व्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको बताएको छ ।

‘सुर्खेत जिल्लामा मात्रै १२ सय ५० भन्दाबढी होटलहरू छन्, यसमा करिव छ हजारबढी जनशक्तिले रोजगारी पाइरहेको अवस्था छ,’ संघका अध्यक्ष गोरख रावतले भने, ‘बन्दाबन्दी (लकडाउन)का कारण होटल व्यवसाय बन्द हुँदा रोजगारी मात्रै गुमेको छैन्, अबौंको नोक्सानी भएको छ ।’

संघले होटल व्यवसायीहरू सबैभन्दा बढी घरभाडाको मारमा परेकाले लकडाउन अवधिभरको घरभाडा पूर्ण रुपमा र संक्रमणकाल रहुन्जेलसम्मका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न सरोकारवालाहरूसँग आग्रह गरेको छ । ‘उक्त छुटका लागि घरधनीहरूलाईसमेत राहत पुग्ने गरी विशेष कोषमार्फत सम्बोधन गर्न हामी माग गछौं,’ अध्यक्ष रावतले भने, ‘अहिलेकै अवस्थामा हामीहरू घर भाडा तिर्न सक्ने अवस्थामा छैनौं ।’

होटल व्यवसाय अरु व्यवसाय जस्तो लकडाउन खुल्नासाथ पहिलेको अवस्थामा नै सुचारु भई सामान्य अवस्थामा आउने संभावना नभएकाले संक्रमण अवधिभर बिजुली पानीको महशुल कम्तिमा एक वर्षका लागि छुट र टेलिफोन, इन्टरनेटलगायतका महशुलमा विशेष सहुलियतको व्यवस्था गर्न माग गरिएको छ । संघले एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिन पनि माग गरेको छ ।  

‘होटल व्यवसायमा संलग्न व्यवसायीहरूले बैंक र वित्तीय संस्थाहरूबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने मुख्य श्रोत यहीँ व्यवसाय मात्र हो,’ महासचिव जनकबहादुर सिंहले भने, ‘जुनसुकै शीर्षकमा लिएको भए पनि उक्त ऋण तिर्ने समयावधि कम्तिमा दुई वर्ष थप गरी उक्त अवधिभरको ब्याजमा सहुलियत दर कायम गराई साँवामा गाभिदिने व्यवस्था गर्न सरकारसँग माग गर्दछौं ।’ उनले अहिलेसम्म कुनै पनि किसिमको व्यवसायिक सुविधा नपाएकाले तत्कालका लागि चालु व्यवसायलाई नै धितोको रुपमा मूल्याङ्कन गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन पनि माग गरे ।

प्रकाशित: ११ असार २०७७ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App