७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

चिनियाँ पक्षले सामग्री मितेरी पुलसम्मै ल्याइदिने

रसुवागढी नाका एक हप्ताभित्र सञ्चालनमा ल्याउने सहमति

रसुवागढी नाका । तस्बिर : हिमनाथ/नागरिक

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका एक हप्ताभित्र सञ्चालनमा आउने सहमति भएको छ । बुधबार बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति गरेको हो ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुुण्यबिक्रम खड्काले एक हप्ताभित्र नाका सञ्चालनका आउने सहमति भएको जानकारी दिए । नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने छन् । सुरुमा ट्रायलका लागि चिनियाँ चार वटा ट्रकले सामग्री लिएर मितेरी पुल आउने छ ।  

सहमति अनुसार नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण उपलब्ध गराउनुपर्ने छ । विवरण उपलब्ध गराएपछि चिनियाँ पक्षले पाङसिङमा रहेका सामग्री यता ल्याउन सुरु गर्ने छ ।  

मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिने छ । मितेरी पुलबाट पारी जान पाइने छैन भने प्यासेन्जर निषेधित क्षेत्र बनाइने छ ।  

कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ । सुरुमा स्थानीयले कोरोना भाइरस भित्रन सक्ने त्रासमा नाका नखोल्ने अडान लिएको कारण नाका सञ्चालनमा आउन सकेको थिएन ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ । गएको फागुन अन्तिमसम्म केरुङमा बसिरहेका तथा केरुङको व्यवसाय सञ्चालन गर्ने व्यक्ति जाने तथा आउने गरेका थिए । 

प्रकाशित: १० असार २०७७ ११:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App