८ वैशाख २०८१ शनिबार
अर्थ

‘व्यवसाय पुनर्स्थापनामा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याइने’

नेपाल राष्ट्र बैंकले कोभिडका कारण थला परेका व्यवसायको पुनर्स्थापनामा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने भएको छ ।  कोभिड संक्रमणका कारण मारमा परेका व्यवसायलाई निरन्तरता दिन सक्ने गरी नीतिहरु ल्याउन  राष्ट्र बैंकले तयारी गरेको हो । 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडका कारण कसैले पनि व्यवसाय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी नीतिहरु बन्ने बताए ।

उनले भने, ‘हाम्रो उद्देश्य यति हो कि कोभिडका कारणले कोही कसैले मर्न नपरोस् ।  कुनै उद्यम व्यवसाय स्वास्थ्यको हिसाबले थला नपरोस् । भोलि रिकभर हुन सकोस्, अहिले अप्ठेरो परे पनि भोलि ऊ पुनस्र्थापित हुन सकोस र आफ्नो व्यवसायलाई निरन्तरता दिन सकोस् भन्ने हिसाबले हाम्रा नीतिहरु बन्नेछन् ।’

अहिले अति प्रभावित, मध्यम प्रभावित  र कम प्रभावित व्यवसायको विश्लेषण भइरहेको उल्लेख गर्दै उनले भने, ‘मौद्रिक नीतिका पनि आफ्नै सीमा छन् । सबै कुरा यसैले निराकरण गर्न सक्दैन । यसले गर्न सक्ने मौद्रिक नीति अथवा यसभित्रको वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिले जुन हदसम्मको उपचार दिन सक्छ, त्यो उपचारमा हामी त्यहाँभित्र आफ्नै किसिमका प्राथमिकीकरण गरेर उपचार खोज्छौं ।’

सरकारले आगामी आर्थिक वर्ष सात प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरे पनि कोरोनाको अनिश्चितता नहट्दासम्म कुनै पनि कुराको टुंगो नहुने उनको भनाइ छ  । कोरोना संक्रमणको जोखिम शून्यमा पुगेपछि बजार सञ्चालनमा आए मात्रै सरकारले लिएका लक्ष्य प्राप्त हुने उनले दाबी गरे ।

उनले भने, ‘अहिले आफैंमा पनि बजारमा प्रश्स्त तरलता छ । बैंकिङ संस्थासम्म लिक्विड इन्सट्रुमेन्टहरु पनि त्यतिकै छ । भोलि रिफाइनान्सलगँयतबाट पनि ठूलो रकम सपोर्ट गर्दै छौं,  छोटो समयलाई भए पनि त्यसले पनि ठूलो सहयोग गर्नेछ ।  कोभिड बेलैमा गइदियो भने त्यति ठूलो कुरा पर्दैन जस्तो मलाई लाग्छ ।’

बजार चलायमान भएपछि बैंकिङ सिस्टमले पनि प्रश्स्त तरलता दिने र त्यसपछि व्यावसायि क्रियाकलापहरु बढ्दै जाने उनको भनाइ छ ।

प्रकाशित: १० असार २०७७ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App