२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रसुवाका होटल तथा पर्यटन व्यवसायीलाई मासिक ६ करोड ७८ लाख घाटा

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण होटल तथा पर्यटन व्यवसाय पूर्ण रूपमा ठप्प भएको छ । अन्य व्यवसाय जसोतसो चलिरहेको भएपनि होटल तथा पर्यटन व्यवसाय गएको चैत महिनादेखि नै बन्द छ ।  

यस जिल्लामा पुसको पहिलो हप्तादेखि नै पर्यटक आउने क्रम घट्दै गएको थियो । गएको चैत ११ गतेदेखि सरकारले देश लकडाउन गरेको घोषणा गरेपछि  जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आउन बन्द भयो । होटल तथा पर्यटन व्यवसाय बन्द भएपछि यहाँका होटल तथा पर्यटन व्यवसायीलाई मासिक ६ करोड ७८ लाख घाटा भएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाले गरेको सर्वेक्षणले देखाएको छ ।  

तथ्यांक अनुसार लाङटाङ क्षेत्रमा ५० वटा, स्याफ्रुबेंसीमा २५, टिमुरेमा १०, तामाङ सम्पदा मार्गमा ७०, गोसाइँकुण्ड पदमार्गमा २१, धुन्चेमा २०, कालिकास्थानमा ९, ठूलोस्याफ्रुमा ३० र सय वटा रेष्टुरेन्ट गरी जिल्लामा ३ सय ३५ वटा होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् ।  

लाङटाङ क्षेत्रका होटललाई प्रतिमहिना १ करोड २५ लाख, स्याफ्रुबेंसीका होटललाई ६२ लाख ५० हजार, टिमुरेका होटललाई ३० लाख, तामाङ सम्पदा मार्गका होटललाई १ करोड ४० लाख,  गोसाइँकुण्ड पदमार्गका होटललाई ५२ लाख ५० हजार, धुन्चे रहेका होटललाई ५० लाख, कालिकास्थानमा रहेका होटललाई १८ लाख, ठूलोस्याफ्रुका होटललाई ७५ लाख र अन्य रेष्टुरेन्टलाई १ करोड २५ लाख रुपयाँ घाटा भएको देखिएको छ ।  

संघका महासचिव निशान गजुरेलले व्यवसाय बन्द हुँदा कर्मचारी तथा सञ्चालक समेत गरी ८ सय १० जना बिरोजगार भएका बताए । जिल्लामा सञ्चालनमा रहेका होटलहरूले कर्मचारीलाई प्रतिमहिना १ करोड २१ लाख ५० हजार रुपयाँ दिँदै आएको देखिएको छ । जिल्लाका होटलले औसतमा १५ हजार रुपयाँ दिने र केही होटलमा सञ्चालक आफैं खटिने भएकाले यसमा सञ्चालकको विवरण समेत समेटिएको संघले जनाएको छ ।  

‘सरकारको भनाइ मानेर हामीले व्यवसाय बन्द ग-यौं, सरकारलाई सघायाँै तर होटल तथा पर्यटनलाई सम्बोधन गर्नका लागि बजेटमा कुनै कार्यक्रम आएको छैन’, उनले भने ‘लकडाउनसँगै हजारौं व्यवसायी र लाखौ मजदुरको रोजगारी गुम्ने पक्का छ ।’

निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि प्रत्येक वर्ष ७ हजारदेखि १९ हजारसम्म पर्यटक आउने गरेका छन् । निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् । साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् ।  

असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । 

प्रकाशित: ६ असार २०७७ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App