८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोभिड–१९ प्रभावित व्यवसायीलाई करमा सहुलियत दिइने

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम मार्फत कोभिड–१९ को कारणले प्रभावित भएका महानगरभित्रका संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति अघि सारेको छ।  मेयर शाक्यले सातौ नगरसभाको अधिवेशनमा विहीबार आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै  उद्योगी तथा व्यवसायीलाई प्रवद्र्धन गर्ने खालको नीति अंगिकार गर्ने भएको छ।  

‘स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसंग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको ब्यबस्था मिलाइनेछ,’ मेयर शाक्यले भने, ‘आर्थिक समृद्धिमा पर्यटन’ भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रबद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, सम्बद्र्धन र बिस्तारमा जोड दिने नीति लिइनेछ।’  

काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा बिस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ। करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने महानगरपालिकाको नीति छ।

कर तथा गैरकर राजस्व अनुगमन कार्यलाई कडाइका साथ लागु गर्न विशेष अनुगमन टोली गठन गरी परिचालन गर्ने, काठमाडौँ महानगरपालिकाका सम्पूर्ण करदाताहरुको तथ्याङ्क संकलन गरी अभिलेख अध्याबधिक गर्ने, शहरको सौन्दर्य र सुरक्षामा आँच आउने गरी विज्ञापन सामाग्रीहरु राख्ने कार्यलाई पूर्णतः निषेध गर्ने नीति पनि महानगरपालिकाले लिएको छ।  

महानगरले आगामी आवको नीति तथा कार्यक्रममा आ.व.२०७७/०७८ लाई करदाताहरुको अभिलेखन वर्ष घोषणा गरी बैज्ञानिक र एकिकृत करदाता अभिलेख तयार गर्न आवश्यकतानुसार व्यवस्थापनमा स्नातक÷स्नातकोत्तर अध्ययनरत जनशक्ति परिचालन गर्ने, कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने जस्ता नीति पनि महानगरपालिकाले लिएको छ।  महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारीप्रबद्र्धन, आवागमन ब्यबस्थापन लगायतमा विशेष केन्द्रित गरेर सार्वजनिक गरेको छ।

काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरेको छ।  

‘कोभिड–१९ का कारण विगत तीन महिनादेखि मुलुक बन्दाबन्दीको अवस्थामा रहेकोमा हाल क्रमिक रुपमा सामान्यतर्फ उन्मुख भैरहेको महशुस भए पनि परिस्थिति कुनै पनि बेला विषम हुन सक्ने देखिन्छ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘यस महामारीबाट पूर्ण उन्मुक्ति कहिले हुन्छ भन्न सकिने स्थिति छैन।’  

यद्यपि, बन्दाबन्दीले महानगरवासीमा पारेको असरलाई न्यूनीकरण गरी छिटो भन्दा छिटो जनजीवनलाई पूर्ववत् अवस्थामा ल्याउन हामी प्रयासरत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।  

सुविधा सम्पन्न कम्तिमा ५० सैयाको अस्पताल

काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा आफ्नै सुविधा सम्पन्न कम्तिमा ५० सैयाको अस्पताल स्थापना गर्न आवश्यक पूर्वाधार व्यवस्था गर्ने भएको छ। महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका संभाव्य सामुदायिक अस्पतालहरुलाई महानगरपालिकाको अस्पतालको रुपमा सञ्चालन गर्ने योजना समावेश गरेको छ।  

महानगरपालिकाको चारै दिशाहरुमा अग्नि नियन्त्रण एकाईको स्थापना गरिने नीति अनुरुप यस आर्थिक बर्षमा कोटेश्वर, कलंकी र महाराजगञ्जमा अग्नि नियन्त्रण एकाईको स्थापना गर्ने लक्ष्य लिएको छ। वसन्तपुरस्थित जुद्धबारुण यन्त्र भवन जीर्ण भएकोले सग्रहालय सहितको भवन पुनर्निर्माण गर्ने, काठमाडौ उपत्यकाको जोखिम संवेदनशील भू–उपयोग योजना पुनरावलोकन गर्ने जस्ता कुरालाई पनि प्राथमिकतामा राखेको छ।  

प्रकाशित: ४ असार २०७७ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App