१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

वित्तीय ३४ र भौतिक १० प्रतिशत मात्र

सडक विभागको ११ महिने प्रगति

कोभिड १९ रोकथाम तथा नियन्त्रणको उद्देश्यले गरिएको लकडाउनले सडक विभाग मातहतका आयोजनाको निर्माण कार्य व्यापक मात्रामा खुम्चिएको छ । सरकारले चालु आर्थिक वर्षमा सडक विभाग मातहतका आयोजनाका लागि एक खर्ब २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । वर्षको ११ महिना पूरा हुँदा विभागले कुल बजेटको ३४.६ प्रतिशत (४४ अर्ब रुपैयाँ) मात्रै खर्च गर्न सकेको छ । यो विवरण जेठ ३० गतेसम्मको हो ।

विभाग मातहतका आयोजनाको भौतिक प्रगति ४० प्रतिशतमा सीमित छ । विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले तेस्रो चौमासिक सुरु हुनेबित्तिकै लकडाउन सुरु भएकाले निर्माण क्षेत्र प्रभावित भएको र लक्ष्य अनुसारको वित्तीय तथा भौतिक प्रगति हात पार्न नसकेको स्वीकारे । ‘तेस्रो तीन महिना अत्यधिक मात्रामा काम हुने समय हो । त्यही बेलाको लकडाउनले विकास निर्माणको धेरै काम प्रभावित बन्यो,’ उनले भने ।

लकडाउनका कारण काम रोकिएकाले अपेक्षित लक्ष्य हात पार्न नसकेको उनले बताए । विभागले चालु आर्थिक वर्षमा १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । उक्त बजेट खर्च नहुने अवस्था आएको उनले बताए । संघीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सात सय ५० किलोमिटर सडक कालोपत्रे गरेको छ । पोहोर यसै अवधिमा नौ सय ८८ किलोमिटर कालोपत्रे गरेको थियो । सडक विभागले लकडाउन अवधिमा मातहतका सबै आयोजनामा करिब एक सय ७० किलोमिटर सडक कालोपत्रे भएको थियो । सोही अवधिमा ३८ वटा पुल निर्माण सम्पन्न भएको छ ।

एक सय ७० पुल तयार

सरकारले चालु आर्थिक वर्षमा तीन सय पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेकोमा ११ महिनासम्ममा एक सय ७० को निर्माण सम्पन्न भएको छ । सडक विभागले लकडाउन अवधिमा ३८ वटा पुल निर्माण सम्पन्न भएको जनाएको छ । निर्माण सम्पन्न हुने चरणमा रहेका ३८ वटा बहुवर्षे आयोजनाका पुल निर्माण सम्पन्न भएका हुन । गत आर्थिक वर्षमा भने दुई सय ३० वटा पुल निर्माण भएका थिए ।

प्रकाशित: १ असार २०७७ ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App