१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अरुबेला भारतसम्मै पुग्ने तरकारी अहिले बजारमै बेच्न पाएनन्

बारीमै कुहिए तरकारी

<br>

अर्जुन थपलियाको परिवार जन्मभूमिको उर्वर माटोमै तरकारी खेती गरेको दशकौं भैसक्यो । तरकारी खेतीको प्राविधिक सीप जानेका थपलिया परिवारको तरकारी खेतीबाट तरक्की देखेर गाउँलेले जीवन धान्ने मुख्य पेसा तरकारी खेतीलाई नै बनाए ।

थपलियाको परिवार र उनीजस्तै अरू झन्डै दुई सय घरपरिवारको तरकारी खेतीप्रतिको लगाव र उर्वर माटोका कारण गोलबजार नगरापलिका –२ गुरुधाम गाउँलाई तरकारी गाउँ भनेर चम्कायो । तर गत चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीका(लकडाउन) कारण यहाँका तरकारीसमेत बारीमै बन्दी भएपछि किसानहरू मारमा परे । जबकि कोरोना महामारी फैलिन नदिन बन्दाबन्दीको निर्णय गर्दा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले किसानले उब्जाएका तरकारीलाई पनि अत्यावश्यक सूचीमा राख्दै निर्बाध बेच्न पाउने निर्णय गरेको थियो ।

बन्दाबन्दी सुरु भएको करिब एक महिनापछि बारीमा फलेको भान्टा, बोरी लिएर गोलबजार जाँदा प्रहरीले बेच्नै नदिई फर्काइदिए । समाजिक दूरी कायम गरेर पनि तरकारी बेच्न दिएन । बारीबाट तरकारी टिपेर बेच्न बजार जाने किसानमाथी प्रहरीले लाठी बजारे । प्रहरीको लाठी खानुभन्दा तरकारीलाई बारीमै छाडिदिए । ‘बारीमा प्याज, भान्डा, करेला, हरियो खुरसानी, बोरी कुहिएर असरल्ल छन्’ किसान अर्जुन थपलियाले भने, ‘करेला टिपेर खेतमै खाल्डो खनेर गाड्ने जाँगर पनि अब चल्दैन । उनले भने, ‘हामीले उब्जाएको तरकारी बेच्न जाँदा पुलिसले लाठी हानेर फर्काइदिएपछि बरु बारीमा कुहिए मल हुन्छ भनेर असरल्ल छाडिदियौ ।’

‘यो लकडाउन सुरु भएपछि मात्रै मेरो ५ लाख रुपैयाँ बराबरको तरकारी खेर गयो’ थपलियाले भने,‘ बेच्ने ठाउँ नपाएपछि यस गाउँका २ सय किनाको करिब १ करोड रुपैयाँ बराबरको तरकारी खेर गयो ।’

यस गाउँका किसनाले उब्जाएको तरकारी पूर्वको विराटनगर, जनकपुरदेखि भारतीय सहर जयनगरसम्म पुगथ्यो । व्यपारीहरु किसानको खेतमै गाडी लिएर तरकारी किन्न आउँथे । विक्रीकालागि झन्झट नभएपछि किसानहरु तरकारी खेतीमा जोडिँदै गएका थिए । यस गाउँबाट रोजगारीका लागि परदेश जाने लगभग कोही छैनन् । सबै तरकारी खेतीबाटै आत्मनिर्भर र स्वावलम्बी बनेका छन । आफ्नो पसिना बजारमा बेचेर आत्मनिर्भर यहाँका किसान अहिले सरकारसँग रुष्ठ छन ।

यहाँका किसन आफ्नो उत्पादन बजारसम्म पुर्याउन अवरोध बेहोर्दा सरकारसँग टाढिदै मौन विरोध सुरु गरेका छन । तरकारी बेचेरै जीविकोपार्जन गर्ने किसान आफ्नो पसिनाको मूल्यमाथि प्रकृतिको अवरोध त बरदास्त गरेकै थिए तर मानवीय अवरोध बरदास्त भएन । यसपालि उब्जाएको तरकारी बजार लैजान कोरोना महामारीसँगै मानवीय अवरोध कारक बन्यो । फलस्वरुप किसानको दैलोभित्र आर्थिक संकट र समाजभित्र खाद्य संकट भत्रिने निश्चित रहेको किसानहरु बताउँछन ।

‘हामी यहाँ तरकारी बेच्न नपाएर चिन्तामा छौं,’ स्थानीय किसान शुभनारायण यादवले भने, ‘पुलिसले कोरोना फैलाउन आको भनेर लखेट्छ, गाउँमा किन्न कोही आउन्नन् । ‘न किसानलाई व्यपारीसम्म पुग्न दिन्छ न व्यपारीलाई किसानसम्म’ उनले भने,‘हाम्रो उत्पादनलाई बन्धक बनाइदिँदा हामी विलखबन्दमा पर्यौ ।’

गुरुधामका ९५ प्रतिशत किसानको मुख्य पेसा तरकारी खेती नै हो । तर उत्पादन गरेको तरकारी बेच्न नपाएपछि त्यसैका लागि लिएको ऋणको व्याज चुक्ता कसरी गर्ने भनेर उनीहरु चिन्तित छन । ‘तरकारी बीउ, मल, किटनाशक औषधि, मजदुर खर्च सबै डुब्यो,’ यादवले भने, ‘लकडाउनले किसानलाई आर्थिक मारमा पारिदियो ।’

बारीमा उब्जाएको तरकारीको संकलन, भण्डारण, ढुवानी र बजारसम्म बिक्रीवितरणमा केन्द्रदेखि प्रदेश सरकारसम्मले रोकतोक नगर्न निर्देशन जारी गरे पनि लकडाउन कार्यान्वयनमा खटिएका स्थानीय प्रहरीले हाटबजारमा कृषि उपज पुर्‍याउन नदिएका कारण यहाँका किसान आपूर्णीय आर्थिक मार खेप्नु परेको गुनासो गर्छन् ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App