८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

बजार खोल्ने कि बन्द गर्ने ?

ललितपुर र काठमाडौं महानगरपालिकाले व्यवसायीहरूलाई दिनभरी पसल खोल्न र विस्तारै व्यवसाय अघि बढाउन आग्रह गर्दै आइरहेको छ । तर जनप्रतिनिधिलाई सोधेर उच्च सावधान अपनाएर सटर खोल्न सुरु गरेका पनि प्रहरीले भने संक्रमण बढेको भन्दै जारी लकडाउनलाई कडा गर्ने नीति लिनथालेको छ । व्यापारिक केन्द्र न्युरोडमा प्रहरी र व्यवसायीबीच यही कारणलार्ई लिएर मंगलबार झडप नै भयो । व्यवसायीहरूले सावधानी अपनाएर व्यवसाय सुरु गर्ने बताए पनि प्रहरीले बन्द गराउँदै आएको छ ।  

प्रहरीले पसलहरू बन्द गराउन थालेपछि स्थानीय व्यापारी र प्रहरीबीच घम्साघम्सी भएको थियो । ‘यतिका समय भइसक्यो, कति दिन बन्द गर्नु, एउटै सटरको भाडा लाखसम्म पर्छ,’ न्युरोडका लुगा व्यापारी उत्तम कार्कीले भने, ‘यस्तो अवस्थामा पनि प्रहरी आएर धम्क्याउँछ ।’ उनले साढे दुई महिनासम्म पसल बन्द गरेर बस्दा व्यवसाय चौपट भएको र भाडा तिर्न नसक्ने स्थितिमा पुगेको बताए ।  

सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका अर्का व्यापारी सुन्दरमान बज्राचार्यले उच्च सावधानी अपनाएर व्यवसाय सुरु गर्न खोज्दा पनि प्रहरीले अवरोध गरेको बताए । ‘भित्र बस्दाबस्दै व्यवसाय चौपट भयो, अहिले सटर खोले पनि त्यति व्यापार हुने अवस्था छैन, तर प्रहरी प्रशासनले अनावश्यक कडाइ गरेको छ,’ उनले भने ।  

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीले माथिल्लो कार्यालयबाट निर्देशन आएपछि कडाइ गरिएको जानकारी दिए । ‘निर्देशन आएपछि हामीले बन्द गराएका हौं, संक्रमण बढेको छ, यस्तो बेलामा सहज रूपमा पसल खोल्नु राम्रो होइन,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले हामीलाई यही निर्देशन दिएको छ ।’  

तर प्रहरीले यसो गर्न नहुने ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन बताउँछन् । उनले सरकारले महामारीको बेला निजी क्षेत्रलाई निरुत्साहित पारेको आरोप लगाए । उनले निजी क्षेत्रले सरकारको आय–व्यायमा ठूलो मद्दत गरिरहेको बेला सरकारले लकडाउन गरेर निजी क्षेत्रलाई झन् अप्ठेरोमा पारेको आरोप लगाए । ‘अरू देशहरूले व्यवसाय अघि बढाइसके, हाम्रो सरकार लकडाउन भन्दै बसिरहेको छ,’ उनले भने, ‘यस्तो गरी कसरी चल्छ, यसले राज्यलाई नै असर पारेको छ ।’ उनका अनुसार लकडाउनपछि ठूला तथा मझौला उद्योग ठप्प छन् । तर सरकारले कर तिर्न भन्दै तोकता गरेपछि व्यवसायीलाई झन् मर्का परेको छ ।  

एक साताअघि महानगरको कार्यपालिका बैठकले पनि यहाँका गतिविधिलाई विस्तारै चलायनमान बनाउनुपर्ने सुझाव रक्षामन्त्रीसमक्ष पेस गरेको थियो । मेयर विद्यासुन्दर शाक्यले नाकाहरूमा कडाइ गरेर भित्री गतिविधिलाई विस्तारै चलायनमान बनाउनुपर्ने बताए । ‘व्यापार–व्यवसायमा धेरै नै नोक्सानी भइसकेको छ, अब विस्तारै जनजीविका सहज बनाउनुपर्छ भनेर हामीले सरोकारवाला निकायसँग छलफल गरेका छौं,’ उनले भने ।  

ललितपुर महानगरपालिकाले पनि सावधानी अपनाएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै आएको छ । व्यापारीहरूले पसल खोेल्न थालेपछि महानगरले कुनै विरोध गरेको छैन । लामो समय व्यवसाय बन्द गरेर छट्पटाइरहेका व्यापारीहरूलाई महानगरले व्यवसाय अघि बढाउन भनेको छ । मेयर चिरिबाबु महर्जनले अब विस्तारै व्यवसाय र आम्दानीको स्रोेतलाई अघि बढाउनुपर्ने बताए । उनले भने, ‘भित्र बस्दा सबैलाई गाह्रो भएको छ, सबैभन्दा बढी मर्का व्यापारीहरूलाई छ, त्यसकारण यसलाई अब दुरी कायम राखेर सञ्चालन गर्नुपर्छ ।’

यद्यपि सरकारले घोषणा गरेको लकडाउन जेठ ३२ गतेसम्म जारी छ । उक्त निर्णयबाट सरकारपछि नहटे पनि पछिल्ला दिनमा पसल, बजार खुल्नुको साथै सवारीसाधन प्रशस्त चलेका छन् भने आवतजावत पनि तीव्र बनेको छ । यसले संक्रमणको जोखिमलाई बढाइरहेको छ ।  

‘भित्र बसे सुन्दैन, बाहिर आए लाठी’  

लकडाउन र महामारीका कारण सर्वसाधारण खुलस्त भएर सडकमा निस्कन नसकिरहेको बेला सरकार झन् गैरजिम्मेवार भएको भन्दै मंगलबार काठमाडौंमा चर्को नारासहित विरोध प्रदर्शन भयो । सयौंको संख्यामा उपस्थित भएका सर्वसाधारण र अभियन्ताहरूले माइतीघर मण्डला र प्रधानमन्त्री निवास बालुवाटार घेरे ।

भित्र बसेर बोल्दा सरकारले नटेरेको भन्दै उनीहरू चर्को स्वरमा नारा लगाउँदै सडकमा निस्किएका थिए । कोरोना महामारीको बेला सरकारलाई घच्घच्याउन सडकमा उत्रिएका उनीहरूले अर्थपूर्ण र पेचिलो अक्षर लेखिएका पम्प्लेट बोकेका थिए ।

‘सरकारको सरोकार, कार्पेट कि पिसिआर ?, १०० पिसिआर लागु गर, कर केका लागि ?, नो आरडिटी’ जस्ता वाक्य पम्प्लेटमा लेखिएको थियो । उनीहरूले महामारीको बेला सरकार निदाएको भन्दै चर्को आवाजले व्युँझाउन नारा–जुलुस गरेको अभिव्यक्ति दिए । ‘यस्तो बेला सरकारको भूमिका शून्य छ, राज्यका संरचनाले गरेका काम–कारबाही उदासीन छन्, जनजीवन सहज बनाएर जनतालाई सुख दिनुपर्ने दायित्व बोकेको सरकार फाइदामै लत्पतिएको छ,’ सामाजिक अभियन्ता नरेन्द्र चुँदालीले भने ।  

विरोेध प्रदर्शनमा सामाजिक अभियन्ता, दलित संघ, नेपाल विद्याथी संघ, व्यवसायी, अधिकारकर्मी, युवा समूहलगायतको उपस्थिति थियो । सरकारी निकायलाई घच्घच्याउन सडकमा उपस्थित भएका सर्वसाधारणमाथि प्रहरीले पानीका फोहोर मात्रै बर्साएन, लाठी नै प्रहार गर्यो । लकडाउन थप्दै सरकारले एकपछि अर्को गलत निर्णय गरेकाले प्रदर्शनमा उत्रिएको निवेश कार्कीले बताए ।

उनले सरकारले महामारीको बेला राज्यलाई नै घाटा हुने र आम सर्वसाधारणको दिनचर्यालाई अप्ठेरोमा पार्ने निर्णय गरेपछि सडकमा निस्कन बाध्य भएको बताए । ‘लकडाउनको बेला सरकारले निर्देशनमात्रै दिने कार्य गरेको छ, यस्तो बेला पनि जनतालाई करको भारी बोकाको छ, यो सरकार जनताको लागि होइन,’ प्रदर्शनमा उत्रिएका निवेश कार्कीले भने ।

उनीजस्ता अभियन्ता र व्यवसायीले माइतीघर घेरेका थिए । कोरोना महामारीको बेला राष्ट्रपति कार्यालयका लागि मँहगो कार्पेट किन्न टेन्डर आव्हान गरेकोप्रति उनीहरूले चर्को विरोध गरेका थिए ।  

विरोध र प्रदर्शन नियन्त्रणमा लिन परिसर र सिहदरबार वृत्तका डिएसपीसहितको प्रहरी टोली माइतीघरमा तैनाथ थियो । निषेधित क्षेत्रमा प्रदर्शन हुन थालेपछि पानीको फोहरा र लाठी प्रहार गरिएको परिसरका डिएसपी राजकुमार केसीले बताए । उनले प्रदर्शनका क्रममा उग्र भएका ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

‘यो बेला लकडाउन उल्लंघन पनि गरिएको छ, निषेधित आज्ञा तोड्न खोजेका छन्, अनावश्यक उच्शृंखलता देखाउन खोजेपछि हामीले तितरबितर पारेका हौं,’ उनले भने । नियन्त्रणमा लिएका ४१ जनालाई प्रहरीले बेलुका छाडेको थियो ।

प्रकाशित: २८ जेष्ठ २०७७ ०१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App