४ वैशाख २०८१ मंगलबार
अर्थ

रसुवागढी नाका खोल्न प्रक्रिया अघि बढ्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी खुलाउनका लागि वाणिज्य मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द गरिएको नाका खुलाउनका लागि वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत पहल थालेको हो ।  

सिन्धुपाल्चोक नाका सञ्चालनमा आइसकेकाले रसुवागढी नाका सञ्चालनमा पनि चिनियाँ पक्षले सहमति दिने मन्त्रालयकी उपसचिव पार्वती अर्यालले बताइन् । उनका अनुसार चिनियाँ पक्षलाई ६ दिनअघि पत्र पठाइएको छ । यसको जवाफ आइसकेको छैन ।

नाका खुलेमा पहिलो चरणमा चीनको केरुङमा अड्किएका सामग्री ल्याइने छ । ‘कसरी ल्याउने भन्ने विषयमा दुवै देशका सीमा प्रशासनले निर्णय गर्नेछन्’, उनले भनिन्, ‘यसको लागि दुईवटा विकल्प रहन्छ ।’ नेपाली सवारीलाई त्यहाँसम्म गएर सामग्री ल्याउन दिने वा चिनियाँ पक्षले मितेरी पुलसम्म सामग्री ल्याउने भन्ने विषयमा स्थानीय प्रशासनले निर्णय गर्नसक्ने उनको भनाइ छ ।

यहाँबाट चालक तथा सहचालक जाँदा परीक्षण गराएर जाने व्यवस्था मिलाइने छ । नाका सञ्चालन गर्नका लागि कुनै पनि समस्या नरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए । पहिलो चरणमा केरुङमा अड्किएका सामग्री ल्याइने भएपनि थप सामग्री ल्याउनका लागि पनि सुरुमा नै सहमति हुनुपर्ने छ ।  

गएको माघ १५ गतेदेखि रसुवागढी नाका बन्द छ । नाका बन्द भएपछि नाकामा व्यावसायिक गतिविधि भएको छैन । कार्यालयले फागुन मसान्तसम्ममा वार्षिक लक्ष्यको ८५ प्रतिशत राजस्व उठाएको थियो । माघमै नाका बन्द भएको भएपनि जाँचपास हुन बाँकी रहेका सामग्रीबाट थोरै राजस्व उठेको थियो ।  

आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म सडक अवरोध नभएको, परियोजनाको सामग्रीको आयात बढेको, प्रविधिमा आधारित भएर मूल्य तथा मूल्यांकनलाई व्यवस्थित बनाइएको, केही सामग्रीमा भन्सार महसुल बढेको कारण राजस्व संकलन बढेको थियो ।

पछिल्लो समय नेपाल तथा चीनतर्फको भन्सारले जाँचपासलाई सहज बनाएका छन् । बाहिरी जिल्लाका चालक तथा सहचालकलाई अस्थायी रूपमा पास उपलब्ध गराइएको छ । कार्यालयले ८ महिनामा ७ अर्ब ९८ करोड ५२ लाख ३३ हजार राजस्व उठाएको छ ।  

आर्थिक वर्ष २०७२÷७३ मा २ अर्ब ४ करोड ४६ लाख ८७ हजार ७ सय ४४, आर्थिक वर्ष २०७३÷७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आथिर्क वर्ष २०७४÷७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्यांक छ ।  

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुँदै आएको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।  

प्रकाशित: २३ जेष्ठ २०७७ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App