७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिमेन्ट नभएर बाँधस्थल बाहेकको काम रोकियो

रसुवागढी जलविद्युत् आयोजना

लकडाउनका कारण सिमेन्ट आपूर्ति नहुँदा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ ।  

नगरी नहुनेबाहेक अन्य काम रोकिएको आयोजना प्रमुख छवि गैरेले बताए ।  ‘बर्खाअगाडि नै बाँधस्थलको काम सक्नुपर्ने भएकाले जसोतसो यसको काम गरिरहेको हो,’ उनले भने, ‘सिमेन्ट ल्याउन सकिएन भने पूरै काम रोकिन्छ । आयोजनाको बाँध क्षेत्र तथा सर्ज साफ्ट क्षेत्रको निर्माण कार्यमा पहिलेदेखि नै समस्या छ ।  

सन् २०१९ जुन २० मा आएको सुक्खा पहिरोले रोकिएको कामले डिसेम्बर १८ देखि निरन्तरता पाएको थियो । यसको काम पनि बर्खाअघि नै नसके आयोजनामा बाढीले क्षति पुर्याउने देखिन्छ ।

आयोजनामा कामदार अभाव नभए पनि सामान छैन । साइटमा अहिले करिब पाँच सय नेपाली र एक सय ६० चिनियाँ कामदार छन् । आयोजनामा डिजेल तथा डण्डीको अभाव छैन । सिमेन्टको आपूर्ति नियमित हुन नसके काम रोकिने उनले बताए ।  

आयोजनाका अनुसार ६ सय ६० मिटर टेलरेसमध्ये ७० मिटर खन्न बाँकी छ । यो क्षेत्रमा भौगोलिक अवस्था कमजोर भएका कारण निर्माणमा समस्या रहेको आयोजनाले जनाएको छ । बर्खाअगाडि नै सकाउनुपर्ने यसको काम कमजोर भौगोलिक अवस्था भएका कारण सुस्त गतिमा भइरहेको छ ।  

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ७५ प्रतिशत काम सकिएको छ । सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) ले सुरुङ निर्माण गरेको हो ।  

मुख्य सुरुङको पहिलो अडिट सुरुङबाट तल तथा दोस्रोबाट माथितिरको १८ सय ८२ मिटर खण्ड गत वर्षको वैशाख ६ गते पूरा भएको थियो । भूकम्प, नाकाबन्दी र बाढीपहिरोले आयोजनाको काममा अवरोध पुर्याउँदै आएको छ । १११ मेगावट क्षमताको यो आयोजनाको निर्माण २०७० माघमा सुरु भएको हो ।  

आयोजनाबाट वार्षिक ६१३.८७ गिगावाट विद्युत् उत्पादन हुन्छ । उत्पादन गर्न थालेपछि दैनिक सवा करोड आम्दानी हुनेछ । २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमै नसकिएको हो ।  

भूकम्पपछिको समयमा साइटको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए । यो आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ छ ।  

आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी छ । 

प्रकाशित: १८ जेष्ठ २०७७ १६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App