१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उत्पादन भएको चीज बिक्री भएन: १३ वर्षपछि डिडिसी पठाउन सुरु

नेपालको पहिलो चीज उत्पादन केन्द्रले गत वर्ष उत्पादन भएको चीज बिक्री नभएपछि खच्चडमा बोकाएर दुग्ध विकास संस्थान (डिडिसी) मा लैजाने कार्य अघि बढाएको छ। विगत १३ वर्षदेखि केन्द्रले उत्पादन भएको चीज स्थानीय स्तरमा नै बिक्री गर्दै आएको थियो। त्यो भन्दा पहिले डिडिसीमा नै लगिन्थ्यो।

नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको यस क्षेत्रमा वार्षिक हजारौं पर्यटक पुग्ने भएकाले चीज बिक्रीमा समस्या थिएन। केन्द्रले उत्पादन गरेको चीज मध्ये धेरैजसो पर्यटकले लैजाने गरेका थिए। यो केन्द्रको उत्पादन क्षमता प्रतिवर्ष ६ हजार केजी रहेको छ।  

केन्द्रका अनुसार गत वर्ष ५ हजार केजी चीज उत्पादन भएकोमा २ हजार ७ केजी चीज बिक्री भएको छैन। केन्द्र प्रमुख ग्याल्बो तामाङले गत वर्ष उत्पादन भएको चीज बिक्री नभएपछि संस्थानमा पठाउनका लागि खच्चडमार्फत स्याफ्रु लैजान सुरु गरिएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण पर्यटकको आगमन शुन्य भएपछि चीज स्टक बसेको हो। लाङटाङ सडक सञ्जालसँग नजोडिएको कारण त्यहाँ सामग्री लैजान खच्चड तथा हेलिकप्टरको प्रयोग हुँदै आएको छ।

केन्द्रले यो वर्षको लागि चीज उत्पादन सुरु गरिसकेको छ। यसअघि बैशाख १ गतेबाट चीज उत्पादन गर्दै आएको भएपनि यसपटक लकडाउनका कारण ढिलो गरी उत्पादन सुरु गरेको हो।

अहिले केन्द्रमा दैनिक ८० लिटरसम्म दुध संकलन हुने गरेको छ। उनका अनुसार अहिले ८ केजीसम्म चीज उत्पादन भइरहेको छ। केन्द्रमा अहिले कृषकले दुध ल्याइरहेका छन्। पछि केन्द्रले टाढाटाढासम्म पुगेर दुध संकलन गर्छ।  

जिल्लाको अन्य पाँच वटा उत्पादन केन्द्रले भने दुग्ध विकास संस्थानमा नै लैजाने गरेका छन्। जिल्लामा गत वर्ष चारवटा उत्पादन केन्द्रले ३९ हजार ६ सय ८० किलो याक चीज उत्पादन गरेका थिए।  

गएको वर्ष गोसाइँकुण्ड चीज उत्पादन केन्द्र चन्दनबारीले ११ हजार किलो याक चीज र ३ हजार ९ सय किलो मखन, पाङलेखर्क चीज उत्पादन केन्द्रले ११ हजार ३ सय ८० किलो याक चीज र ३ हजार ९ सय किलो मखन र गत्लाङले १३ हजार ३ सय किलो याक चीज र ३ हजार ७ सय किलो मखन उत्पादन गरेका थिए।  

दुग्ध विकास संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादन भएको चीज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत हुने र बाँकी संस्थानमा नै लैजाने गरिएको छ। जिल्लाको चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्ने क्षमता रहेको छ।  

चिसो समयमा दुध कम उत्पादन हुने र नजम्ने समस्या कारण ६ महिना उत्पादन बन्द हुने गरेको उनले बताए। गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र  लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ। जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ।

प्रकाशित: १८ जेष्ठ २०७७ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App