७ वैशाख २०८१ शुक्रबार
अर्थ

कालीगण्डकीमा पक्की पुल बन्दै

गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ। पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको घिरिङ गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधीन पुल निर्माण बन्दाबन्दीले केही समय स्थगन भएको थियो।  पुलमा काम गर्ने नेपालगञ्ज र बर्दियाका मजदूरलाई घर पठाएर निर्माणको काम केही समय रोकिएको थियो।  

कोरोना भाइरसका कारण भारत तथा विभिन्न मुलुक, स्थानबाट गाउँ फर्केका युवाले नदीमा पुल निर्माणलाई निरन्तरता दिएर आर्थिक उपार्जन गर्न मौका पाएका छन्।  अहिले तनहुँको भागमा पिल्लर हाल्ने काम भइरहेको छ। यसमा  यहाँका ५५ युवालाई परिचालन गरिएको छ। बन्दाबन्दीपछि गाउँ आएका हरिविक्रम दरै पुल निर्माणमा सहभागी हुने अवसर पाउँदा खुशी भएको बताउछन्।

हाल यहाँ दैनिक १६ घण्टा काम गरिएको छ। निर्माणमा संलग्न  युवालाई दैनिक दुई कार्यावधि बनाई आठआठ घण्टामा विभाजन गरेर एक कार्यावधिमा आठ सय रुपैयाँ ज्याला दिने गरी काममा लगाइएको पुल निर्माण समितिका सचिव दानबहादुर मल्लले जानकारी दिए। हालसम्म पुल निर्माणको काम १८ प्रतिशत  सम्पन्न भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर टेकनाथ शर्माको भनाइ छ।  

बन्दाबन्दी लम्बिँदै गएपछि  गृह मन्त्रालयबाट पुनः निर्माण सामग्री ढुवानीका लागि सवारी अनुमतिपत्र बनाएर स्थानीय युवा परिचालन गरी पुल निर्माणको काम धमाधम गरिएको उनी बताउछन्। नेपाल सरकारको २५ करोड रुपैयाँको लागतमा डेढ वर्ष अघिदेखि पुल निर्माण शुुरु गरिएको हो। दुई सय १७ मिटर लम्बाइ र ११ मिटरको चौडाइ रहेको पुल निर्माण बिल्डर्स शर्मा युनाइटेड रमन जेभी कन्ट्रक्सन प्रालिमार्फत तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।  

प्रकाशित: १७ जेष्ठ २०७७ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App