१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

पोल्ट्री उद्योगमा दैनिक २५ करोड नोक्सानी

लकडाउनका कारण पोल्ट्री उद्योगमा मात्रै दैनिक २५ करोड हाराहारीमा नोक्सानी भइरहेको दाबी यससँंग सम्वन्धित उद्योगीले गरेका छन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि यस उद्योग थलिएको उनीहरूको भनाइ छ ।

उनीहरूका अनुसार चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ । धेरै दाना उद्योग बन्द भएका छन् । उनीहरूका अनुसार सबैभन्दा बढी ब्रोइलर कुखुरामा दैनिक झन्डै १६ करोडभन्दा बढीको नोक्सानी छ । त्यसपछि ह्याचरी चल्लामा चार करोड, अन्डामा चार करोड र दानालगायत अन्य उत्पादनमा करोडभन्दा बढीको दैनिक नोक्सानी भएको छ ।

ह्याचरी उद्योग संघका महासचिव डा. बलराम किसीले अहिले अन्डा पार्ने कुखुरा र चल्ला उत्पादन गर्ने कुखुरालाई निकै कम दाना दिएर प्राण मात्रै धानिएको बताए । उनका अनुसार अरू बेला दैनिक एक सय २० ग्राम दाना खुवाउने कुखुरालाई अहिले ३० ग्राम मात्रै दिइएको छ । किसानले कुखुरा र अण्डा बेच्न सकेका छैनन् । ‘खोर खाली नभएपछि नयाँ चल्ला हाल्ने कुरै आएन,’ उनले भने, ‘चल्ला बिक्री रोकिएपछि चल्ला गाड्दै आएका छौं ।’

उद्योगीका अनुसार पोल्ट्रीको राजधानी चितवनमा मात्र हरेक साता १५ लाख चल्ला निस्कने गर्छन् । नेपालभर लेयस, ब्रोइलर, गिरिराजका गरी ४२ लाख चल्ला हप्तामा निस्कने गरेको तथ्यांक छ । अहिले किसानहरूले ह्याचरीबाट चल्ला निकाल्दै गाँड्दै गर्नुपरेको अवस्था रहेको जनाइएको छ ।  

नेपालभर तीन सय २४ ह्याचरी रहेको बताइएको छ । एक सातामा ५० लाख ह्याचिङ अन्डा तयार हुने तथ्यांक छ । यो अन्डा ह्याचिङमा नराखी बजार पठाउन मिल्दैन । नेपालभर एक सय पाँचवटा दाना उद्योग छन् । उनीहरूले भने उत्पादित दाना बजारसम्म लैजान समस्या हुँदै आएको गुनासो गरेका छन् । लकडाउनले कुखुरा तथा अन्डा बिक्री तथा वितरणमा पनि असर परेको जनाइएको छ । बजार क्षेत्र र ग्रामीण भेगका केहीबाहेक अधिकांश फ्रेस हाउस बन्द छन् । सामान्य अवस्थामा नेपालभर झन्डै १० लाख केजी मासु दैनिक खपत हुने गरेको तर अहिले मासु र अन्डाको खपत निकै घटेको बताइएको छ ।

कुखुरापालक व्यवसायी संघ भक्तपुरका अध्यक्ष तुल्सीराम धुख्वाले बजार अभाव नै मुख्य समस्या भएको जनाए । यसकारण सरकारले बजार व्यवस्थापनको काम गरिदिनुपर्ने खाँंचो उनले औंल्याए । कोरोनाको महामारीको बेला कुखुराको मासु खानुहुँंदैन भन्ने गलत सन्देशलाई चिर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए । साथसाथै व्यवसायीमा परेको मर्कालाई बुझेर सरकारले ब्याज मिनाहा, किस्ता ढिलाइमा सुविधालगायत सहुलियत दिनुपर्ने खाँंचो उनले औंल्याए । बंैकको चापाचापले आफूहरू ठूलो मर्कामा परेको दुःख उनले व्यक्त गरे ।  

अहिले अन्डा उत्पादन निकै कम परिमाणमा मात्रै बजारमा गइरहेको बताइन्छ । होटललगायत धेरै अन्डा सप्लाई हुने ठाउँहरू बन्द हुँदा बजार पाउनमा समस्या भइरहेको छ ।  

प्रकाशित: ९ जेष्ठ २०७७ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App