२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

तरकारी सस्तिँदा किसान मर्कामा

बारीमा टमाटरका बोटको हेरचाह गर्दै किसान चेतराम चौधरी । तस्बिरः पुष्पराज/नागरिक

कैलाली- गत वर्ष यही मौसममा धनगढी उपमहानगरपालिका–१७, पथ्थरीका किसान चेतराम चौधरीलाई तरकारी बेच्न भ्याइनभ्याई थियो । बारीमा लटरम्म फलेका टमाटर, खुर्सानी, काँक्रा, तरभुजले उनले सोचे भन्दा राम्रो मूल्य पाएको थियो । गत वर्षको राम्रो आम्दानी देखेका उनी यसपालि पनि तरकारीमा हौसिए, र अघिल्लो वर्षभन्दा बढी बढाएर १२ कठ्ठा जमिनमा तरकारी लगाए । यसपालि तरकारीले पनि राम्रै फसल दियो, तर सपना भने कोरोना प्रभावले चकनाचुर पारिदियो ।

गत वर्ष बारीबाटै ५० रुपैयाँ प्रति केजीमा टमाटर बेचेको सम्झँदै उनले भने,‘यसपालि भने कोरोनाका कारण भएको लक डाउनले बारीमै १५ रुपैयाँ केजीमा पनि टमाटर बेचिन छोड्यो ।’ अघिल्लो वर्षको तुलनामा तरकारी खेती बढाएका उनी अहिले चिन्तित छन् । ‘राम्रै होला भनेर यसपालि बढी तरकारी लगाएँ, रामै्र फसल पनि दिएको छ,’ उनले भने,‘तर मूल्य भने जति घटाउँदा पनि कसैले किनिदिँदैनन् ।’ धनगढी बजारबाट उनको गाउँ पुग्न करिब ९ किलोमिटर छ । ९ किलोमिटरको बाटो तय गरेर तरकारी खरिद गर्न व्यवसायी गाउँमा पुग्न नसक्ने भएका कारण पनि तरकारी बोटमै कुहिने अवस्थामा पुगेको बताउँदै उनले भने,‘लक डाउन केही खुकुलो भइदिएको भए बारीको तरकारी सबै बेचिइसक्थ्यो ।’ प्रहरीको कडा चेकजाँचका कारण उनको बारीसम्म पुग्ने व्यवसायी आउनै मान्दैनन् ।

‘धेरै व्यवसायीलाई सस्तोमै तरकारी लैजान भने,’ उनले भने,‘प्रहरीको कडा चेकजाँचका कारण म कहाँ तकारी लिन व्यवसायी आउनै मान्दैनन् ।’ गत वर्ष उनले काँक्रा २५ देखि ३० रुपैयाँ प्रति केजीमा बेचेका थिए भने यसपालि भने १५ रुपैयाँ मूल्य गर्दा पनि नबेचिएको उनले बताए । अघिल्लो वर्ष खुर्सानी ८० रुपैयाँ केजीमा बारीबाटै बेचिएको बताउँदै उनले भने,‘यसपालि खुर्सानी पनि बारीमै ५० रुपैयाँ केजी मूल्य तोकेको छु, खै कोही आउँदैनन् किन्न ?’

लालराम चौधरीले पनि यसपालि काँक्रा र खुर्सानी खेती गरेका छन् । काँक्राले अघिल्लो वर्ष राम्रो बजार पाएको भन्दै हौसिएका उनी यसपालि भने निरास बनाएको भन्दै चिन्ता गर्न थालेका छन् । ‘अघिल्लो वर्ष राम्रै आम्दानी दिएको थियो,’ उनले भने,‘तर, यसपालि भने बजार नै पाइएको छैन, के गर्ने होला ।’ काँक्रा बारीमै पहेँलो हुन थालेको बताउँदै उनले भने,‘पहेलो काँक्रा बिक्री नहुने भएकाले गाई, गोरुलाई खुवाउन थालेको छु ।’

सस्तो मूल्यमा बेच्न खोज्दा पनि कसैले पनि खरिद गरिदिन नमानेको बताउँदै उनले भने,‘लक डाउनका कारण व्यवसायी बारीसम्म पुग्न नसक्दा सबैभन्दा बढी मारमा हामी किसान नै परेका छौँ ।’ गाउँमा अधिकांश किसानले व्यवसायिक तरकारी खेती गरेको बताउँदै उनले भने,‘हामीले व्यवसायिक तरकारी खेती गर्‍यौँ, तर यसपालि भने व्यवसायिक तरकारी खेतीले डुबायो ।’

चेतराम र लालराम मात्रै हैनन् अहिले यहाँका व्यवासायिक किसान अहिले बजार नपाउँदा चिन्तित छन् ।

व्यवसायिक रुपमा तरकारी खेती गरेका किसानले समयमा तरकारी बेच्न नपाउँदा बारीमै कुहिने अवस्थामा पुगेको बताउँदै अगुवा किसान रमेश भाटले भने,‘लक डाउनका कारण सबै किसानको अवस्था उस्तै छ ।’ सरकारले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका किसानलाई मध्यनजर गर्दै उनीहरुलाई तरकारी बेचबिखनका लागि सहज वातावरण बनाइदिन आग्रह गरिरहेको बताए । ‘हामीले व्यवसायिक किसानको समस्यालाई मध्यनजर गर्दै प्रशासन तथा सम्बन्धित स्थानीय तहका कृषि केन्द्र र जनप्रतिनिधिलाई सहज वातावरण बनाइदिन आग्रह गरेका छौँ,’ अगुवा किसान भाटले भने,‘तरकारीका थोक बिक्रेतालाई किसानको बारीसम्म पुग्ने वातावरण मिलाउन तर थोक बिक्रेतालाई खुद्रा बिक्रेतासम्म पनि पहुँच बनाउन सकिए, किसानले बारीमै तरकारी कुहेको देख्न पाउँदैन थे ।’

आफूले व्यवसायिक किसानका समस्यालाई समाधान गर्नका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर तरकारी किसानलाई सहज रुपमा गाउँघर र टोलसम्म बिक्री गर्ने वातावरण मिलाउन आग्रह गरेको बताउँदै सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशीले भने,‘त्यसका बाबजुद पनि हामीले किसानलाई सहजरुपमा बिक्री गर्नका लागि प्रशासनबाट पासको व्यवस्था पनि गर्न आग्रह गरेका छौँ ।’ किसानले पनि सामाजिक दूरी कायम गर्दै आफ्ना उत्पादनलाई बिक्री गर्न पनि आफूहरुले सहजीकरण गरिरहेको उनले बताए ।

 

प्रकाशित: २७ वैशाख २०७७ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App