२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

स्वास्थ्य उपकरण खरिदका लागि पश्चिमाञ्चल अस्पताललाई छ करोड

कास्की - पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री खरिदका लागि सरकारले बजेट पठाएको छ। प्रदेशमा कोरोना भाइरस उपचारका लागि ‘डेडिकेटेड’ अस्पतालका रूपमा तोकिएको सो अस्पताललाई स्वास्थ्य सामग्री किन्नका लागि सरकारबाट दुई दिनअघि मात्र छ करोड रुपैयाँ बजेट प्राप्त भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले बताए।

पश्चिमाञ्चल अस्पताललाई कोभिड–१९ का लागि ‘लेबल एक’ र ‘लेबल दुई’ दुवैको अस्पताल तोकिएको थियो। कोभिडका बिरामीको उपचार व्यवस्था मिलाउनका लागि आवश्यक पूर्वाधार, उपकरण तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि ढिला गरी बजेट प्राप्त भएकाले अहिले स्वास्थ्य सामग्री बजारमा पाउने अवस्था भने नरहेको उनको भनाइ छ। कोरोना उपचारका लागि अस्पतालमा हाल १० श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको छ। त्यसैगरी सघन उपचारकक्ष (आइसीयू)लाई कोभिड उपचारमैत्री बनाउनका लागि बोलपत्र आह्वान भएर आशय प्रकाशनको तयारीमा रहेको र ११ श्ययाको आइसीयूकक्ष तयार गरिने उनले जानकारी दिए।

आफ्नै स्रोतबाट आइसोलेसन वार्ड तथा कोभिडमैत्री वार्डहरु बनाएका छौँ, अस्पतालका निर्देशक आचार्यले भने। कोभिडका बिरामी आएको खण्डमा उपचार व्यवस्थापनका लागि तयारी भइरहेको बताउँदै उनले त्यस्ता बिरामी आएको खण्डमा अस्पतालका अन्य सबै प्रकारका सेवाहरु प्रभावित हुने उल्लेख गरे। लेबल एक कोभिड अस्पतालले सामान्य ‘केस’ व्यवस्थापन आफैँ गर्नुपर्छ। त्यस्तै बाहिरबाट आएका र अस्पतालमा पहिचान भएका बिरामीलाई प्रोटोकलअनुसार आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने उल्लेख गरिएको छ। लेबल दुई कोभिड अस्पतालले मध्यम, जटिल र अति जटिल केस व्यवस्थापन गर्नुपर्ने हुन्छ। बाहिरबाट आएका र अस्पतालमै पहिचान भएका मध्यम र जटिल साथै अतिजटिल बिरामीलाई ‘आइसीयू केयर’ भएका तोकिएका कोभिड अस्पतालले उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख छ।

हाल पश्चिमाञ्चल अस्पतालअन्तर्गतको प्रयोगशालामा रहेका मेसिनबाट गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणको अवस्था जाँचका लागि दैनिक पिसीआर परीक्षण गर्ने गरिएको छ। सो अस्पतालमा वर्षमा तीन लाख हाराहारी तथा दैनिक एक हजार हाराहारीमा बहिरङ्ग विभाग (ओपिडी)का बिरामी सेवा लिन आउने गरेकामा जारी लकडाउनपछि ओपिडी सेवा बन्द भएकाले आकस्मिक सेवाका बिरामी बढेको अस्पतालले जनाएको छ। गत चैत १४ गते कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पश्चिमाञ्चल अस्पताललाई डेडिकेटेड अस्पताल तोेकेको थियो। रासस

प्रकाशित: २७ वैशाख २०७७ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App