५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

काँक्रा टिप्दै, मिल्काउँदै किसान

गण्डकी गाउँपालिकाको भुम्लिचोकमा किसानले उत्पादन गरेको काँक्रो।  तस्बिर : नरहरि/नागरिक

गोरखा - घरको पिँढीमा, करेसाको छेउमा, बारीमा, बाटोमा चारैतिर देख्दै लोभलाग्दो काँक्रो मिल्किएको छ। आँखाले देखुन्जेल बारीमा लटरम्म फलेको छ।सडकछेउमा त्यस्तै मिल्किएको। केही ठाउँमा त गाईगोरुलाई खुवाइएको थियो। गत वर्ष यो सिजनमा बजारमा काँक्रो लगेर बिक्री गर्दा फुर्सद नपाउने किसान अहिले गहभरी आँसु बनाएर लटरम्म फलेको काँक्रो टिप्दै मिल्काउँदै छन्। खेत मासेर तरकारी खेती थालियो, अहिले यसरी फाल्नुपरेको छ,’ अँध्यारो अनुहार लगाएर गण्डकी गाउँपालिका ६ खानीखोलाकी धनमाया श्रेष्ठले भनिन्, ‘गत वर्ष काँक्रो बेचेर पाँच लाख लिएको थिएँ, अहिले ५० हजार पनि लिन सकिन।’ 

उनको बारीमा काँक्रो बिक्री गर्ने मध्यसिजन भएको छ। बिक्री नभएपछि अहिले टिप्दै मिल्काउने, बारी खालि गर्ने तयारीमा छिन्। ‘तने बोडी लगाउने सिजन सुरु हुन लाग्यो। बोडी बेच्ने बेला पनि काँक्रोको हालत भयो र बिक्री गर्न सकिएन भने भोकै मरिन्छ,’ धनमायाले भनिन्, ‘तरकारी छाडेर मकै लगाउने घर सल्लाह भएको छ।’ काँक्रो झिकेर खालि जग्गामा स्थानीयले तरकारी खेती गर्छन्। एक–दुईजना होइन, गण्डकी गाउँपालिकाको भुम्लिचोक, तङ्लिचोक, घ्याल्चोक, बुटार लगायत ठाउँमा किसानले व्यावसायिक खेती गर्छन्। पृथ्वी राजमार्गनजिकै रहेकाले त्यहाँका किसानको मुख्य बजार  राजधानी हो। अहिले लकडाउनको कारण सवारी साधन चलेका छैनन्। किसानको बारीमा तयार भएको तरकारी र काँक्रो सडेको छ। तीन हजार पाँच सय बिरुवा लगाएका लिलामान श्रेष्ठले गत वर्ष ६ लाख लिएका थिए।

अहिले उनलाई एक लाख लिन मुस्किल छ। लकडाउन हुनुअघि काँक्रो बिक्री सुरु हुँदा प्रतिकिलो एक सय २५ रुपैयाँ लिएका अर्का किसान हिमबहादुर गुरुङले बिहीबार १२ रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको सुनाए। ‘लगानी र ढुवानी खर्च पनि नउठ्ने स्थिति छ,’ उनले भने, ‘गाउँमा अहिलेसम्म १२ रुपैयाँमा काँक्रो बिक्री गरेको कसैलाई थाहा थिएन।’ किसानले टनेल बनाएर, थाँक्रो हालेर, भिटामिन छर्किएर निकै मेहनतले थोपा सिँचाइ, पाइप सिँचाइ गरेर काँक्रो फलाएका छन्। भैरवी कृषि सहकारी संकलन केन्द्रका केरबहादुर श्रेष्ठले भने, ‘एक–दुईजनाले होइन, सबैजसोले अहिले दैनिक ५० हजार लिने सिजन हो। एकजनाले २०–३० टनसम्म काँक्रो बिक्री गर्थे। अहिले गाडी नचल्दा बिक्री शून्य भो।’ उनका अनुसार बजारमा माग पनि घटेको छ। १२ रुपैयाँदेखि २० रुपैयाँ प्रतिकिलो होलसेल मूल्यमा थोरै बिक्री भएको छ।

टनेल बनाएर, थाँक्रो हालेर, भिटामिन छर्किएर निकै मेहनतले थोपा सिँचाइ, पाइप सिँचाइ गरेर काँक्रो फलाएका किसान सबैजसोले पोहोर यो बेला दैनिक ५० हजार रुपैयाँको काँक्रो बिक्री गर्थे। 
 

‘सस्तोमा बिक्री गर्दा पनि ४० रुपैयाँ घटेको थाहा थिएन,’ केरबहादुरले भने। गोरखाबाट चितवनको फिस्लिङसम्म झानुपर्ने र त्यहाँ बिक्री गर्न जाँदा भीडभाड भएको भन्दै स्थानीय र प्रहरीले समेत अवरोध गरेपछि झनै समस्या भएको गुनासो किसानको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले ५० टन काँक्रो उत्पादन भएको बताए। एक टन भन्टा, पाँच सय टन बन्दा, पाँच सय टन काउली, दुई क्विन्टल गोलभेंडा र ११ हजारवटा अण्डा गाउँपालिकाभित्रका किसानले दैनिक उत्पादन गरिरहेका छन्। ‘कृषि उत्पादनले अहिले बजार पाएको छैन। लकडाउनको असरले किसान मारमा परेका छन्। लगानी मात्रै भए पनि उठाउने गरी बिक्री गर्ने वातावरण मिलाउने प्रयत्न गरिरहेका छौं। सकेका छैनौं,’ उनले भने।  बन्दा प्रतिकिलो २०, काउली २५, गोलभेंडा ५५, भन्टा १० रुपैयाँ होलसेल मूल्यमा पनि बिक्री नभएको उनले बताए। 

हरेक दिन किसानले टेलिफोन गरेर बिक्री गर्ने चाँजोपाँजो मिलाइदिन हारगुहार गर्ने गरेका गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए। ‘यहाँका जनता तरकारी बिक्री गरेर खाद्यान्न किनेर खाने गर्छन्,’ उनले भने, ‘यो अवस्था रहिरहने हो भने किसानको लगानी सबै खेर जाने भयो। उनीहरु सबैलाई बिहान–बेलुकी खाने प्रबन्ध गर्नुपर्ने अवस्था आउँछ ।’ गाउँपालिकाभित्र तरकारीको उत्पादन धेरै भएको र बजार नहुँदा व्यवस्थापन गर्न नसकिएको उनले बताए। ‘छिमेकी गाउँपालिका, राजमार्गछेउका पालिकासँग सहकार्य गरेर किसानलाई लगानी भए पनि लिने अवस्थाको चाँजोपाँजो मिलाउने प्रयास गरेको छु,’ अध्यक्ष रानाले भने, ‘बजार पूरै ठप्प भएकाले माग शून्यप्रायः छ ।’ किसानलाई गाउँपालिकाले सहयोग गर्ने योजना ल्याउने उनले बताए। 

काँक्रो मात्र होइन, बिक्री गर्ने बेला भएको काउली काटेर किसानले सुकाएका छन्। प्रेमबहादुर श्रेष्ठ गण्डकी गाउँपालिका–६ का नमूना किसान हुन्। बजार लैजाने बेला भएको काउली बिक्री नहुने, भाउ नपाउने भएपछि उनले भैंसीलाई खुवाएका छन्। यो बाध्यता भुम्लिचोकका धेरै किसानलाई छ। तर गोरखाको बजारमा अहिले पनि निर्वाध भारतीय तरकारीका गाडी आइरहेका छन्। 

प्रकाशित: १ वैशाख २०७७ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App