इलाम- कोरोना भाइरस (कोभिड–१९)को त्रासले विश्वमा नेपाली तयारी चियाको माग शून्य भएको छ । बर्सेनि सवा ३ अर्ब रुपैयाँको तयारी चिया निकासी हुँदै आएकामा यो वर्ष कुनैपनि देशबाट माग नै नआएको उद्योगी–व्यवसायीले बताएका छन् ।
कोभिड–१९ ले जर्मनी, अमेरिका, चीन, रुस, भारतलगायतका देश आक्रान्त बनेपछि नेपाली तयारी चियामा प्रत्यक्ष प्रभाव परेको हो । यी देशका व्यापारीले चिया माग नगर्दा नेपालमा उत्पादित चियाको बजार अन्योल देखिएको छ । गतवर्षका चैत–वैशाखमा विशेषगरी जर्मनी, अमेरिका, चीन, जापान, फ्रान्स, नेदरल्यान्डलगायत मुलुकका व्यापारी चियाको गुणस्तर हेर्न इलामका कारखानामै आइपुग्थे । यो साल यही सिजनमा फस्ट फ्लस (पहिलो टिपाइ) सुरु हुँदा किसानले हरियो चिया टिप्न नै पाएनन् । पत्ती निकै हुर्किसकेपछि चिया टिपाइ त सुरु भएको छ तर तयारी चियाको माग भने कहींबाट नआउँदा अलमल्ल परेको व्यवसायीको गुनासो छ ।
कोभिड–१९ को असर चीनमा मात्रै सीमित रहुञ्जेल तेस्रो मुलुकका व्यापारीले इलामका बगान आएर चिया टिपाइ हेर्ने, स्वाद चाख्ने र नमुना लैजानेसम्मका योजना बनाएका थिए । तर, आउन लागेका व्यापारी पनि चीनबाट कोरोना प्रभाव अन्य देश सरेपछि हच्किएको उद्योगी उदय चापागाईंले बताए । ‘जर्मनीबाट चिया व्यापारीको टोली आउने तयारी थियो तर उनीहरूले बुकिङ क्यान्सिल गरे,’ चापागाईंले भने, ‘कोरोनाले उनीहरूको देशमा प्रभाव पार्न थालेपछि व्यापारी त आएनन् नै, यहाँको उत्पादनको बजारसमेत अनिश्चित भएको छ ।’
सूर्याेदय नगरपालिकास्थित सुन्दरपानीमा रहेको चापागाईंको गोर्खा टी स्टेटमा चियाको फस्ट फ्लस हुने बेला तेस्रो मुलुकका व्यापारीको ओइरो लाग्थ्यो । ‘यो वर्ष चिया टिपाइ र प्रशोधन त बरु ढिलोगरी सुरु भएको छ तर उत्पादन कता बेच्ने भन्ने चिन्ता छ,’ उनले भने, ‘उच्च गुणस्तरको चिया सबै नेपाल र भारतमा बिक्दैन, तेस्रो मुलुकमा चाहिने गुणस्तरमा उत्पादन भएको चियाले उतैको बजार पाउनुपर्नेमा यो साल अन्योल छ ।’ सधैं उद्योगमै आएर चियाको ‘अर्डर’ गर्ने व्यापारीले यो वर्ष फोन सम्पर्कसमेत नगरेको चापागाईं बताउँछन् । गोर्खामा बर्सेनि ७५ हजार किलो तयारी अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुन्छ । यसको ९५ प्रतिशत चाहिँ जर्मनीलगायत तेस्रो मुलुक निर्यात हुन्छ । उद्योगले २ सय ६० किसान र आफ्नै बगानको हरियो चिया प्रशोधन गरिरहेको छ ।
तेस्रो मुलुकका कतिपय व्यापारी नेपालमा उत्पादन भएको तयारी अर्थाेडक्स अर्गानिक चिया किन्न निरन्तर नै आउँछन् । यस्ता नियमित खरिदकर्तासमेत यो वर्ष सम्पर्कमै नरहेकाले तयारी चियाको व्यापार अनिश्चित बनेको उद्योगीको भनाइ छ । पाँचथरको कञ्चनजंघा टी स्टेटका प्रबन्धक निरानन्द आचार्य यो वर्ष नियमित खरिदकर्तासँग सम्पर्कै हुन नसकेको बताउँछन् । ‘अहिले युरोप, अमेरिकामा लकडाउन भएका कारण त्यहाँका व्यापारीका कार्यालय पनि बन्द छन्,’ उनी भन्छन्, ‘न उनीहरूसँग व्यक्तिगत सम्पर्क हुन सकेको छ, न उनीहरूले कुनै माध्यमबाट चियाको अर्डर नै गरेका छन् ।’ जर्मनी, जापान, अमेरिकालगायत देशमा विक्री हुनेगरेको यहाँको उत्पादन यो वर्ष कता बेच्ने भन्ने चिन्ता भएको आचार्य सुनाउँछन् । ‘नेपालमा भन्दा पनि कोरोनाले बढी असर पारेका देशको व्यापार कसरी हुन्छ, नेपालको तयारी चियाको बजार त्यसैमा निर्भर हुन्छ,’ आचार्य भन्छन्, ‘व्यापार जे भएपनि उद्योगले हरियोपत्ती प्रशोधन चाहिँ गर्नैपर्ने हुँदा लगानी भइरहन्छ ।’
कञ्चनजंघाले गतवर्ष ७५ टन तयारी अर्गानिक अर्थाेडक्स चिया उत्पादन गरेको थियो । ‘हाम्रो उत्पादनको करिब ९० प्रतिशत तेस्रो मुलुक जान्छ,’ उनले भने, ‘फागुन तेस्रो साता हुने पहिलो टिपाइ यो वर्ष करिब १५ दिन ढिलो हुँदा ९२ लाख रुपैयाँभन्दा बढीको घाटा त भइसकेको छ, अब पनि चिया बेच्न पाइएन भने डुक्ने अवस्था आउँछ ।’ कञ्चनजंघामा १ सय १२ किसानले हरियोपत्ती प्रशोधनका लागि ल्याउँछन् । उद्योगमा ल्याउनेबाहेक पनि फिदिम आसपास ५ सयभन्दा बढी किसानको चिया अर्गानिक प्रमाणित भएको छ ।
पोहोर उत्पादन गरेको तयारी चिया नै बेच्न बाँकी रहेका बेला यो वर्ष पनि कतैबाट माग नआउनुले चियाको भविष्य नै देख्न नसकिएको कतिपय उद्योगी गुनासो गर्छन् । मुख्य बजारबाटै माग नआउँदा तेस्रो मुलुकमा चिया बेच्ने उद्योगी सबैभन्दा बढी समस्यामा परेका छन् । क्रस टियर कर्ल (सिटिसी) र अन्य कम गुणस्तरको चिया उत्पादनमा थोरै लगानीले पुग्ने भएपनि अर्गानिक अर्थाेडक्स चियामा उद्योगले बढी लगानी गरेका हुन्छन् । उच्च गुणस्तरको अर्गानिक अर्थाेडक्स चिया उत्पादन गरिरहेको जस्बिरे अर्गानिक चिया प्रशोधन उद्योगमा पोहोरकै १९ हजार किलो तयारी चिया बेच्न बाँकी छ । तर, यो वर्ष पनि कतैबाट चियाको माग नआएको उद्योग सञ्चालक सरद सुब्बा बताउँछन् । ‘पोहोर बेच्दाबेच्दै अलिकति चिया उब्रेको थियो, यो वर्ष त नयाँ चियाकै पो माग आएन,’ सुब्बा भन्छन्, ‘पोहोर यतिबेला कारखानातिरै आएर चिया अर्डर गर्ने व्यापारी यो वर्ष सम्पर्कमा छैनन् ।’
जस्बिरे उद्योगमा उत्पादित चियाको मुख्य बजार नेदरल्यान्ड हो । त्यसबाहेक चीन, डेनमार्क, फ्रान्स र अमेरिकामा यहाँको चिया हरेक वर्ष पुग्ने गरेको थियो । तयारी चियामा उच्च गुणस्तर कायम राख्न उद्योगले चियाको हरियो मुनामा हुने सुइरोमात्रैको मूल्य किसानलाई प्रतिकिलो १ हजार ५ सय रुपैयाँसम्म दिनेगरेको छ । ‘तयारी चियामा गुणस्तर कायम राख्न हरियो पत्तीमै पहिला ध्यान दिनुपर्छ,’ सुब्बाले भने, ‘यतिको मेहनतले धेरै लगानीमा उत्पादन गरेपनि तयारी चिया नबिक्दा चाहिँ लगानी डुब्ने सम्भावना धेरै हुन्छ ।’
बाहिरी देशबाट चियाको माग नआउँदा चियालाई मुख्य नै व्यवसाय बनाएका देशका १० हजार हाराहारी किसान समस्या पर्ने भएका छन् । केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशमै चिया खेती गर्ने सबैभन्दा बढी किसान इलाममा छन् भने झापामा बढी चिया उत्पादन हुन्छ । तर, इलाम, पाँचथर र धनकुटाका किसानले उत्पादन गरेको अर्थाेडक्स चिया तेस्रो मुलुकसम्म पुग्छ ।
नेपालमा उत्पादन हुने कुल चियाको ९० प्रतिशत बजार भारत रहेपनि यो वर्ष भारतबाट समेत चियाको माग आएको छैन । ‘यो वर्ष भारतबाटसमेत चियाको माग नआएका कारण उद्योगीदेखि किसानसम्मलाई समस्या छ,’ साखेजुङको हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिका सञ्चालक कमल मैनाली भन्छन्, ‘अर्गानिक चिया चाहिँ भारतमा बेच्दा लगानी नै उठ्दैन ।’ प्रालिले हरेक वर्ष १ लाख २० हजार किलो तयारी चिया उत्पादन गरिरहेको छ । उत्पादनको ७० प्रतिशतभन्दा बढी चिया तेस्रो मुलुक निकासी हुनेगरेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा नेपालबाट १ करोड ५० लाख ४३ हजार किलो तयारी चिया निर्यात भएको थियो ।
प्रकाशित: २९ चैत्र २०७६ १०:०७ शनिबार