७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कोरोनाविरुद्ध लड्न निजी क्षेत्रबाट थप सहयोग

काठमाडौं – कोरोना महामारी विरुद्धको लडाइँमा निजी क्षेत्रबाट सहयोग आउने क्रम जारी छ। महालक्ष्मी विकास बैंकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ। बैंकले संघीय सरकारलाई १२ लाख, प्रत्येक प्रदेश सरकारलाई चार लाखका दरले र विभिन्न स्थानीय क्षेत्रमा १० लाख सहयोग गर्ने जनाएको छ। 

त्यसैगरी, प्रतिष्ठित व्यापारिक एवं औद्योगिक घराना चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउन्डेसनले सरकारलाई एक हजार थान ‘पिसिआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ। स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरेको संस्थाले जनाएको छ। नेपालका लागि होन्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले कोरोना महामारीविरुद्ध लड्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक स्थानमा किटनाशक औषधि छर्न सात लाख रुपैयाँ बराबरको १० थान होन्डा अटोमेटिक ब्याकप्याक स्पे्रयर सहयोग गरेको छ। कम्पनी अध्यक्ष सौरभ ज्योतिले मन्त्रालयका अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

त्यसैगरी, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले अरु ६ वटै प्रदेशलाई ५–५ लाख रुपैयाँका दरले हस्तान्तरण गरिसकेको छ। बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले पाँच लाख रुपैयाँको चेक मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। गोल्छा समूह अन्तर्गतको हुलास स्टिल इन्डस्ट्रिजले सरकारले सिमरामा स्थापना गरेको अस्थायी क्वारेन्टाइनका लागि ४० वटा बेड प्रदान गरेको छ। कम्पनीले स्थानीयलाई खाद्यान्न र दैनिक जीवनमा आवश्यक पर्ने अन्य सामग्री पनि सहयोग गर्दै आएको विज्ञप्तिमार्फत जनाएको छ। यता, जोन्टा क्लब अफ काडमाडौंले दैनिक ज्यालादारी मजदुरलाई चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती लगायतका खाद्यान्न वितरण गरिरहेको जनाएको छ। हालसम्म जोन्टाले काठमाडौंका विभिन्न स्थानमा रहेका दैनिक ज्यालादारी मजदुरलाई एक हजार खाद्यान्न प्याकेज वितरण गरिसकेको जनाएको छ। 

प्रकाशित: २६ चैत्र २०७६ १८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App