९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

ब्रोइलर कुखुराको भाउ ओरालो लाग्यो

बनेपा – चैतको पहिलो सातामै ब्रोइलर कुखुराको भाउ दुईपटक घटेको छ। चैत २ गते प्रतिकिलो २० रुपैयाँ भाउ घटेर दुई सय १० कायम रहेको भाउ तीन दिन पनि टिक्न सकेन।

काठमाडौं उपत्यकाका कोल्ड स्टोरहरुले बुधबारदेखि ब्रोइलर कुखुराको खरिद मूल्यमा प्रतिकिलो पुनः २० रुपैयाँ घटाएका छन्। अब किसानले कोल्ड स्टोरबाट जिउँदो ब्रोइलरको एक सय ९० रुपैयाँ मूल्य पाउने भएका छन्। माघको दोस्रो साता प्रतिकिलो दुई सय ७० रुपैयाँसम्म पुगेको ब्रोइलरको भाउ त्यसपछि लगातार घट्दो क्रममा छ। यस वर्ष असोज र कात्तिक महिनाबाहेक वैशाखदेखि फागुन मसान्तसम्म आठ महिना भने किसानले तयारी ब्रोइलर किलोको दुई सयदेखि दुई सय ७० रुपैयाँसम्म भाउ पाइरहेका थिए। ब्रोइलरको धेरै नै भाउ घट्नुमा बाहिरी जिल्लाबाट आउने कुखुरा प्रमुख कारक भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीको भनाइ छ।

उनी भन्छन्, ‘पूर्वी तराईबाट काठमाडौं र आसपासका जिल्लामा तयार भएका ब्रोइलरभन्दा किलोमा ३० रुपैयाँसम्म घटी मोलमा कुखुरा आउन थालेपछि कुन चाहीं कोल्ड स्टोर बढी मूल्यको किन्न खोज्छ र,’ उनले थपे। कोल्ड स्टोरहरुले तयारी कुखुराको किनबेचमात्रै गर्ने भएको हुँदा कुखुरापालक किसानको भलाइका लागि ह्याचरी, दाना उद्योग र औषधि सप्लायर्सले लागत घटाउने योजना ल्याउनुपर्ने बिसीको तर्क छ। उता, नेपाल पोल्ट्री महासंघबाट बिपी राजमार्गको मंगलटारमा नाकामा खटिएका संयोजक यज्ञप्रसाद पन्त भन्छन्, ‘किसानले पालेका ब्रोइलरभन्दा पनि सप्लायर्सले दिनहुँ गाडीका गाडी कुखुरा ल्याइरहेका छन्। हामीलाई त्यो कुखुरा भारतीय सीमाबाट भित्र्याएको आशंका छ।

तर, नेपालका भेटेरीनरी डाक्टरले जारी गरेको भेटेरीनरी प्रमाणपत्रसहित सप्लायर्सले ढुवानी गर्ने भएकाले हामीले रोक्न सक्ने अवस्था भएन,’ उनले थपे। मंगलटार नाकामा स्थानीय प्रशासन, महासंघ र किसान सम्मिलित प्रतिनिधिले ११ दिनसम्म कुखुरा ओसारपसारमा प्रयोग हुने भेटेरिनरी प्रमाणपत्र र ब्रोइलर कुखुराको अनुगमन गरेका थिए। सो क्रममा दैनिक २० देखि ४५ गाडीसम्म कुखुरा ढुवानी भएको थियो।

प्रकाशित: ९ चैत्र २०७६ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App