७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

अभाव भ्रामक हल्लामात्र : मन्त्रालय

काठमाडौं  – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा हल्ला भए जस्तो आपूर्ति र वितरणको अवस्था असहज नभएको बताएका छन्। बुधबार मन्त्रालयमा आयोजित ‘कोरोनाको प्रभाव : आपूर्ति व्यवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टले आफैं बजार पुगेर अनुगमन गर्दै आएको र अवस्था सामान्य रहेको बताए।

‘मन्त्रालयले नियमित बजार अनुगमनलाई तीव्रता दिएको छ र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको छ। राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिबद्धता गर्छु,’भट्टले आश्वस्त पार्दै भने, ‘पेट्रोल, डिजेल, ग्यास, खाद्यान्न, औषधी र अन्य कुनै वस्तुको अभाव छैन। राज्यले अभाव हुन दिन्न। विभागीय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ।’ उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले कोरोनाको कारण विश्व नै डराएको बेला यसको प्रभाव पर्नु स्वाभाविक भएको बताए। ‘विश्वमा योभन्दा ठूला महामारी र विपत्ति आएका छन् र टर्दै पनि गएका छन्,’ उनले भने,‘यो अवस्थामा हरेक सरकारले जस्तै हाम्रो सरकारले पनि आम नागरिकको कल्याणका लागि काम गर्दै आएको छ।’

उनले आपूर्ति सहजै रहेको अवस्थामा पनि गलत प्रचार गरेर नागरिकमा भ्रम सिर्जना गराउने काम भइरहेको बताए। सरकार मातहतका विभाग र सेवा प्रदायक निकायले कुनै पनि अत्यावश्यक सामग्रीको अभाव छैन भनेर बारम्बार भन्दाभन्दै पनि गलत प्रचार गरेर कालोबजारीलाई सघाउनु नाजायज भएको उनले बताए। ‘पेट्रोल,डिजेल पर्याप्त छ, मासिक सरदर २८ लाख सिलिन्डर आवश्यक पर्ने ग्यास, जुन दैनिक एक लाख आवश्यक पर्नेमा एक लाख २० हजार सिलिन्डरको प्रबन्ध हुँदै आएको छ,’ उनले भने,‘र त्यहीअनुसार सम्बन्धित निकायमा निर्देशन समेत दिँदै आएका छौं।’ उनले अनावश्यक भ्रम सिर्जना र दोषारोपण मात्र गरेर समस्याको समाधान नहुने बताए। ‘कमीकमजोरी सबै क्षेत्रमा हुनसक्छ, यो दोषारोपण नगरेर सुझाव, सल्लाह दिने बेला हो,’ राज्यमन्त्री दुगडले भने,‘संयम भएर काम गर्यौं भने सबै स्थिति सहज छ। अहिले सामान्य अवस्थामा भन्दा बढी सामानको जोहो गर्ने गरेको कारण अभाव जस्तो देखिएको हो।’

दुगडले सम्भावित अप्ठेरोलाई हेरेर थप सामानको जोहो गर्नु सामान्य मानवीय प्रवृत्ति भए पनि सरकारले त्यसको नियमित अनुगमन गरिरहेको बताए।‘सबै पेट्रोल पम्पमा पर्याप्त पेट्रोल छ, औषधीमा भारतले प्रतिबन्ध लगाए अभावको अवस्था छैन,’ उनले भने,‘सरकारले भारतसँग कुरा गरिरहेको छ।ऊ नेपाललाई विशेष व्यावस्था गरेरै भए पनि औषधी दिन तयार छ।’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आपूर्ति प्रणालीमा कहीँ पनि समस्या नरहेको बताए। उनले अत्यावश्यक सामग्रीको पर्याप्त मौज्दात रहेको र आपूर्ति र वितरणलाई सहज बनाउनसबै पक्षको सक्रियतामा काम भइरहेकोबताए।‘अहिले ग्यास, मास्क र पेट्रोल, डिजलको सवाल अलि बढी चर्को रुपमा उठेको छ,’ उनले भने,‘यही गुनासोलाई सम्बोधन गर्न अनुगमनको क्रम बढाएका छौं।’

उपभोक्ता अधिकारकर्मी रन्जन खनालले अनुगमन कार्य फितलो भएको बताए। उनले भने,‘अनुगमन प्रभावकारी छैन, त्यसमाथि सरकारी निकायबीचसमन्वय समेत छैन।’ अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले जनताले थुपार्न खोज्दा अभाव देखिएको भनेर सरकार पन्छन खोजेको बताए। ‘सरकारले बजार हस्ताक्षेप गर्नुपर्ने हो तर उल्टो अभाव छैन भनेर ढाँटिरहेको छ,’ उनले भने,‘सरकार जिम्मेवार बनेन। अहिले जनतामा राज्यप्रतिको विश्वास घटेको छ।’

प्रकाशित: ६ चैत्र २०७६ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App