२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

आधा अर्ब नाफा राखेर इन्धनको मूल्य समायोजन

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निकै गिरावट आएको भए पनि नेपाल आयल निगमले १५ दिनमै आधा अर्ब रुपैयाँ नाफा राखेर इन्धनको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट मूल्य घटेर आएपछि सोमबार मूल्य समायोजन गरेको भए पनि अन्तर्राष्ट्रिय बजारमा घटेको तुलनामा भाउ घटाएको छैन।

निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ, हवाई–इन्धनमा चार रुपैयाँ ५० पैसा मात्र मूल्य घटाएको छ। नयाँ मूल्यअनुसार काठमाडौंमा प्रतिलिटर पेट्रोल एक सय ६ रुपैयाँ, डिजेल र मट्टितेल ९५ रुपैयाँ छ।

निगम स्रोतका अनुसार मूल्य घटाउँदा पेट्रोलमा सात रुपैयाँ ४८ पैसा, डिजेलमा १० रुपैयाँ २५ पैसा, हवाई–इन्धनमा आठ रुपैयाँ ९९ पैसा नाफा छ। निगमले उच्च नाफा राखेकाले १५ दिनमा नै ५४ करोड रुपैयाँ नने प्रक्षेपण गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यको अनुपातमा नेपाली उपभोक्ताले फाइदा लिन पाउने गरी मूल्य समायोजन गर्नुपर्ने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन्। ‘निगम सरकारी स्वामित्वको निकाय भएकाले नाफामा मात्र ध्यान दिनुहुँदैन,’ ओझाले भने, ‘उपभोक्ताको हितलाई पनि ध्यानमा राखेर मूल्य घटाउनुपथ्र्यो।’ निगमले उपभोक्ताप्रति इमान्दारी देखाउँदै घटेको अनुपातमा घटाउनुपर्ने बताए। ‘भारतसँगको मूल्यसँग भने तुलना गर्नुपर्छ,’ उनले भने, ‘इमान्दार रूपमा घटेको मूल्यको अनुपातमा मूल्य समायोजन गर्नुपर्छ।’

अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यको अनुपातमा मूल्य समायोजन गनुपर्छ – पुरुषोत्तम ओझा, पूर्ववाणिज्य सचिव

यस्तो बेलामा निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ मा भएको व्यवस्थालाई बहाना बनाउने गरेको छ, जसले गर्दा धेरै मूल्य घटेर आउँदा पनि त्यसको फाइदा उपभोक्ताले पाएका छैनन्। कार्यविधिमा मूल्य समायोजन गर्दा दुई प्रतिशतमात्र मूल्य घटबढ गर्ने सुत्र बताइएको छ। कार्यविधिलाई आधार मान्नुपर्ने भएकाले डिजेल, पेट्रोल र मट्टितेलमा अहिलेको भन्दा धेरै मूल्य घटाउन नमिल्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले दाबी गरे। ‘मूल्य समायोजन फर्मूलाअनुसार दुई प्रतिशतभन्दा बढी घटबढ गर्न मिल्दैन,’ गोइतले भने, ‘कानुनलाई अनुसरण गरेर मूल्य समायोजन गरेका छौं।’ खरिद मूल्य धेरै बढेर आए पनि निगमले दुई प्रतिशतभन्दा धेरै बढाउन नपाउने उनको जिकिर छ। ‘कहिले करोडौं घाटा हुन्छ कहिले नाफा,’ उनले भने, ‘मूल्य समायोजनको सिद्धान्तअनुसार नै निर्धारण गरेका छौं।’

नयाँ निर्धारण गरिएको मूल्यअनुसार काठमाडौंमा भन्दा पोखरा, दाङ, झापा, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भैरहवा, नेपालगन्ज, धनगढीमा इन्धनको मूल्य सस्तो रहेको छ। पोखरा र दाङमा पेट्रोलको मूल्य एक सय पाँच रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलको ९४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। त्यसैगरी, झापामा पेट्रोल लिटरमा एक सय चार रुपैयाँ ५० पैसा, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भैरहवा, नेपालगन्ज, धनगढीमा पेट्रोल लिटरको एक सय चार रुपैयाँ ५० पैसा निर्धारण गरेको छ। निगमले ढुवानी लागतको आधारमा ठाउँअनुसार मूल्य निर्धारण गर्छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ। ग्यासमा भने प्रतिसिलिन्डर २५ रुपैयाँ २२ पैसा घाटा रहेको निगमको भनाइ छ।

निगमले भन्सार शुल्क , सडक मर्मत कर, पूर्वाधार कर, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर, मूल्य स्थिरीकरण कोष, ढुवानी भाडा, प्रशासनिक खर्च, बीमा, प्राविधिक नोक्सानीको रकम जोडेर मूल्य निर्धारण गर्ने गर्छ। सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार शीर्षकमा लाग्ने कर पाँच रुपैयाँबाट बढाएर प्रतिलिटर १० रुपैयाँ पु-याएको थियो।

निगम सकारी स्वामित्वको कम्पनी भए पनि धेरै नाफा राखेर उपभोक्तालाई सधैं महँगोमा इन्धन बिक्री गरेको आरोप लाग्दै आएको छ। निगमले धेरै नफा राख्दा गत वर्ष आठ अर्ब रुपैयाँ नाफा कमाएको थियोे। चालु आर्थिक वर्षको आठ महिनामा करिब साढे ६ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ।

आइओसीले निगमलाई प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिख (१५–१५) दिनमा मूल्य सूची पठाउँछ। त्यसका आधारमा निगमले मूल्य निर्धारण गर्छ। भारतलगायत मुलुकमा सुनमा जस्तै पेट्रोलियम पदार्थको मूल्य दैनिक निर्धारण हुने भए पनि निगम र आइओसीबीच भएको सम्झौताअनुसार १५–१५ दिनमा मूल्य तय गरेर निगमलाई पठाउने भएकाले नेपालमा त्यहीअनुसार मूल्य समायोजन हुँदै आएको छ।

इन्धन सहज हुने
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यहाँ पनि मूल्य घट्ने अनुमानमा पेट्रोल पम्पले तेल खरिद नगर्दा सोमबार केही पेट्रोल पम्प बन्द भए भने केहीमा लाइन लागे। मंगलबारबाट पेट्रोलियम पदार्थको बिक्री सहज हुने निगमले जनाएको छ। मागको आधारमा आयात भएकाले धेरै तेल भर्न आवश्यक नरहेको निगमले जनाएको छ। पर्याप्त पेट्रोल, डिजेल आयात भएकाले हल्लाका पछि नलाग्न निगमका प्रवक्ता गोइतले आग्रह गरे। ‘स्टक राख्नुपर्ने अवस्था छैन,’ गोइतले भने, ‘निगमले मागेजति डिजेल, पेट्रोल बजारमा पठाएको छ।’

प्रकाशित: ४ चैत्र २०७६ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App