coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सबैभन्दा बढी रेमिट्यान्स कतारबाट

काठमाडाैँ - चालु आर्थिक वर्षमा सबैभन्दा बढी विपे्रषण (रेमिट्यान्स) कतारबाट भित्रिएको छ। खाडि मुलुक कतारमा कार्यरत नेपाली कामदारले चालु आवको पहिलो चार महिनामा अन्य मुलुकको तुलनामा बढी रकम पठाएका हुन्।

नेपाल राष्ट्र बैंकले चालु आवको कात्तिक महिनासम्म नेपाली कामदार कार्यरत १३ मुलुकले पठाएको रेमिट्यान्सको तथ्यांक सार्वजनिक गरेको छ। उक्त अवधिमा सबैभन्दा बढी विप्रेषण कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको हो। सबैभन्दा कम अस्ट्रेलियाबाट एक अर्ब ३४ करोड रुपैयाँ आएको छ। तथ्यांकअनुसार चालु आवको चार महिनामा विश्वभरबाट करिब तीन सय चार अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जाने लहरसँगै विप्रेषणको योगदान विगत १० वर्षको अवधिमा कुल गार्हस्थ उत्पादनको औसत अनुपात करिब २५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए।

‘चालु आवको चार महिनाको अवधिमा वैदेशिक रोजगारीका गएका कामदारको ७५.३ प्रतिशत हिस्सा खाडी मुलुकमा कार्यरत छन्,’ उनले भने, ‘यी मुलुकबाट कूल विप्रेषणको करिब ५०.३ प्रतिशत रकम आउने गरेको छ। तर, कोरोना भाइरसका कारण केही खाडी मुलुकमा नेपाली कामदारलाई रोक लगाएकाले यी मुलुकबाट प्राप्त हुने विप्रेषण रकम आगामी दिनमा घटन गर्ई मुलुकको अर्थतन्त्रमा असर पर्छ।’ प्रवक्ता भट्टका अनुसार चालु आवको चार महिनामा कूल विप्रेषण रकममध्ये कतारबाट करिब १७.७ प्रतिशत, संयुक्त अरब इमिरेट्सबाट १३.४ प्रतिशत, साउदी अरेबियावाट १२.५ प्रतिशत र नेपाली कामदारको आकर्षक गन्तव्य मलेसियाबाट ९.७ प्रतिशत रहेको छ।

राष्ट्र बैंकका अनुसार बहराइन, कुवेतलगायत अन्य मुलुकबाट कूल विप्रेषणको करिब चार प्रतिशत हिस्सा रहेको छ। गत वर्ष लामो समयसम्म मलेसियामा नेपाली कामदार जान नसकेका कारण अन्य देशको तुलनामा कामदारको संख्या अधिक भए पनि विप्रेषण रकम घटेको प्रवक्ता भट्टले बताए। कोरोना भाइरसको त्रासका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या करिब ७५ प्रतिशतले कमी आएकाले मुलुकको अर्थतन्त्रमा ठूलो असर गर्ने सम्बन्धित व्यवसायीले बताएका छन्। कोरोना भाइरसका कारण नेपाली कामदारको आकर्षक गन्तव्य कतारले नेपाललगायत १४ मुलुकका कामदारलाई रोक लगाइसकेको छ।

मुलुकमा भित्रिने विप्रेषण रकममध्ये अधिकांश रकम घरायसी उपभोग, ऋण तिर्न र सम्पत्ति खरिदका लागि खर्च हुने गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपाल जीवनस्तर सर्वेक्षण ०६७÷६८ अनुसार विदेशबाट रुपैयाँ प्राप्त गर्ने परिवारको कूल आम्दानीको ३१ प्रतिशत हिस्सा विप्रेषण रहेको छ। विदेशबाट प्राप्त रकममध्ये ठूलो रकम घरायसी उपभोगमा खर्च हुने गरेको छ। घरायसी उपभोगमा कुल विप्रेषणको ७८.९ प्रतिशत रकम खर्च हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैगरी, ७.१ प्रतिशत ऋण तिर्न, ३.५ प्रतिशत शिक्षा, ४.५ प्रतिशत घरायसी सम्पत्ति खरिद र ०.६ प्रतिशत बचत हुने गरेको छ।

प्रकाशित: ३ चैत्र २०७६ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App