७ वैशाख २०८१ शुक्रबार
अर्थ

पहिला नाक खुम्च्याउँथे, अहिले हुरुक्कै

बनेपा - २०७२ सालमा काभ्रे जिल्लामै फरक खालको उद्योग सञ्चालन गर्ने घर सल्लाहबाट बनेपा–१३, साँगाका शुकदेव जोशीले वातावरणमैत्री र दैनिकजसो खपत हुने मेडिकल मास्क, डिस्पोजेबल क्याप र सपिङ ब्याग उत्पादन गर्ने योजना बनाए। त्यही वर्षको अन्त्यमा चीनबाट मेसिनरी सामग्री झिकाएर क्लिन सिटी प्रालिका ‘सिसिपिएल’ ब्रान्डमा विभिन्न उत्पादनहरू निकाल्न पनि थाले।

तर त्यतिखेर नेपालमा मेडिकल मास्क र डिस्पोजेबल क्यापहरू उत्पादनकर्ताभन्दा पनि आयातकर्ताको दबदबा थियो। जोशीले उत्पादन त गर्न थाले, तर नेपालमै बनेको भनेपछि कोही किन्न मान्दैनन् थिए। उनी भन्छन्, ‘स्वदेशी उत्पादन भनेपछि उपभोक्ताले नै नरूचाउने अवस्था थियो। कम्पनीले सोझै बिक्री नगर्ने नीति भएकाले काठमाडौंमा दुईवटा सोल डिस्ट्रिब्युटर र उनीहरूका मुलुकभर रहेका एक सयभन्दा बढी डिस्ट्रिब्युटरमार्फत सर्जिकल डिस्पोजेबल ‘इयर लुप फेस्क’ मास्क बिक्री गर्न थाल्यौं। तर, उपभोक्ताले नै नकिनिदिएपछि उधारोमात्रै फसेन, जताततै मास्क पनि थुप्रियो,’ क्लिन सिटी प्रालिका अध्यक्षसमेत रहेका जोशीले भने।

डिस्ट्रिब्युटरसँग पाँच सय कार्टुनभन्दा बढी सर्जिलक डिस्पोजेबल मास्क ‘स्टक’ रहेकाले फोनसमेत नउठाइदिने अवस्थालाई उनले चित्रण गर्दै भने, ‘हामीहरूको उत्पादन मास्कको कच्चा सामग्रीमा तयारी मास्कको भन्दा बढी भन्सार महसुल लाग्ने गरेको छ। आयातित मास्कभन्दा केही महँगो हुने भएकाले बिक्रेताको समेत रोजाईमा नपरेको अवस्था थियो,’ जोशीले भने।

यतिखेर उद्योगमा बन्ने गरेको सर्जिकल डिस्पोजेबल ‘इयर लुप फेस’ मास्क बनाउनका लागि पाँचथरिका कच्चा सामग्री आवश्यक पर्ने उनको भनाइ छ। ‘नाकमा लगाइने लुप (नोज लुप), कानमा लगाइने लुप (इयर लुप), थ्री प्लाई (फिल्टर पेपर), इलास्टिक र कपडा चाहिन्छ। आयातित मास्क १५ प्रतिशतमा भन्सार महसुल तिरेर छुट्छ। तर मास्क बनाउने यीनै पाँचथरिका कच्चा पदार्थको आयातमा ३५ प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ,’ जोशीले थपे।

आफन्त, नातेदारसहितको पारिवारिक संलग्नतामा उद्योग सुरू गर्दा मेसिनरीका लागि मात्रै अढाई करोड रुपैयाँ उनले लगानी गरेका थिए। उद्योगबाट मेडिकल मास्क, डिस्पोजेबल क्याप र सपिङ ब्याग उत्पादन हुने भए पनि ब्यागबाहेक अन्य उत्पादन तत्कालीन समयमा उपभोक्ताको रोजाईमा पर्दैन थियो।

जोशी थप्छन्, ‘चार वर्ष भयो, कम्पनी ‘ब्रेक इभनमा’ जानुपर्नेमा उल्टै वार्षिक डेढ करोड रुपैयाँसम्म सञ्चालन घाटा हुँदै आइरहेको छ। बैंकसँग सञ्चालन पुँजीका लागि लिएको ऋणमासमेत बैंकले थप ब्याज लिइरह्यो। उद्योग नै बन्द गर्ने मनिस्थितिमा पुग्नै आँटेका थियौं,’ उनले थपे।

यसैबीच, डिसेम्बर ३१ तारिखमा चीनको हुपेइ प्रान्तको वुहान सहरमा नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलियो। चीनभरि फैलँदासमेत नेपालमा मास्कको खासै माग थिएन। जब भारतमा समेत देखिन थालेपछि मास्कको माग ह्वात्तै बढ्यो। हिजो ब्रान्डेड र आयातित मास्क खोज्ने उपभोक्तासमेत अहिले नेपाली भए पनि हुने भन्दै खोज्न आउने गरेको जोशीको भनाइ छ। ‘हाम्रो उत्पादन सिसिपिएल सर्जिकल डिस्पोजेबल मास्कलाई अधिकतम खुद्रा मूल्य १० रुपैयाँभन्दा बढी लिन नपाउने गरी सोल डिस्ट्रिब्युटरमार्फत खुद्रा बिक्रेतालाई समेत जानकारी गराउँदै आएका छौं,’ उनले थपे।

परिवारकै चारजना र बाह्य कर्मचारी गरी १५ जनाले प्रत्यक्ष रोजगारी पाएको उद्योगले अहिले सबैभन्दा बढी माग रहेको सर्जिकल मास्क पाँच हजारदेखि १० हजार गोटासम्म प्रतिदिन उत्पादन गर्ने क्षमता राख्छ। मास्कका लागि जडान भएका दुईमध्ये एउटा मेसिन बिग्रेर एउटाले मात्रै काम गरिरहेकाले पूरा क्षमतामा उत्पादन हुन नसकेको जोशीको भनाइ छ। उनी भन्छन्, ‘असोजमा पछिल्लो पटक मास्क बनाउने कच्चा सामग्री आयात गरेका थियौं। त्यसमध्ये कुनै कच्चा सामग्रीको स्टक सकिनै लागेको छ। कुनै बढी बाँकी छ। अब मुस्किलले ८–१० दिन उद्योग चल्छ होला। त्यसपछि कच्चा सामग्री अभावले बन्द हुन पनि सक्छ। त्यही भएर नेपालमा भएका अरू मास्क उद्योगसँग हाम्रोमा सकिन लागेको कच्चा सामग्री बाँकी छ कि भनि खोजखबर गर्दै रहेका छौं,’ जोशीले थपे।

चीनलाई कोभिड–१९ ले आक्रान्त पारिरहेको सुरूवाती दिनमा जोशीले १० हजार थान सर्जिकल डिस्पोजेबल मास्क चिनियाँ राजदूतमार्फत उता सहयोग गरेका थिए। उनी भन्छन्, ‘१० हजार थान मास्क चीनका लागि केही होइन। तर, २०७२ को विनासकारी भूकम्पका बेला चीनले नेपाललाई गरेको सहयोगको गुण तिरेकामात्रै हौं,’ उनले भने।

पछिल्लो समय जोशीका नियमित ग्राहक रहेका दुईवटा सोल डिस्ट्रिब्युटर, धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल, नर्भिक अस्पताललगायत काठमाडौंका अस्पतालमा कार्यरत जनशक्तिका लागि मास्क कसरी निरन्तर सप्लाई गर्ने भन्नेमा उद्योग परिवार चिन्तित छ। यसैबीच जिल्ला प्रशासन कार्यालय काभ्रे र बनेपा नगरपालिकाले स्वास्थ्य कार्यालय, क्लिनिक, ल्याब, प्राथमिक स्वास्थ्य केन्द्र र हेल्थ पोस्टमा कार्यरत स्वास्थ्यकर्मीका लागि केही मास्क मौज्दात राख्न जोशीलाई अनुरोध गरेको छ।

उनी थप्छन्, ‘हामीले नियमित सप्लाई गरिरहेका अस्पताल तथा कम्पनीबाहेक बढी चहलपहल हुने काभ्रेका स्थानीय तहमा प्रत्येक दिन तीनदेखि पाँच हजारसम्म मास्क उपलब्ध गराउने योजना बनाएको छौं। कम्पनी आफैंले बिक्री नगर्ने भएकाले जिल्ला÷/गरस्तरीय उद्योग वाणिज्य संघ या अन्य कुनै परोपकारी संस्थाले पहल गरिदिए हुन्थ्यो भन्नेमा छौं,’ जोशीले भने।

यतिखेर उद्योगकै अर्को उत्पादन ‘डिस्पोजेबल क्याप’ १५ लाख थान मौज्दात रहेको छ।  यतिखेर क्यापको खासै माग छैन। सपिङ ब्यागका अर्डर आए पनि सबै जनशक्ति सर्जिकल मास्क उत्पादनमै व्यस्त हुन थालेका छन्। उद्योग वरपरका बासिन्दाको घर–घरमा आवश्यकताअनुसार मास्क वितरण गरिसकेका छन्। यस्तै, स्कुल तथा अन्य संघसंस्थाको अनुरोधमासमेत मास्क उपलब्ध गराइरहेका छन्। उनी भन्छन्, ‘एउटा मास्क नपाएर उपभोक्ता तड्पिनु नपर्ने अवस्था नआओस भन्ने हाम्रो चाहना भनेको हो। यस्तै, हामीसँग फेक्ट्री मूल्यमा लगेर कालोबजारी नहोस् भन्ने पनि हो। कच्चा सामग्री ल्याउन सकेमा हामी दिनरात उद्योग चलाएर भए पनि आवश्यकता अनुसार सर्जिकल डिस्पोजेबल मास्क उत्पादन गर्ने क्षमतामा छौं,’ जोशीले भने।

प्रकाशित: २७ फाल्गुन २०७६ ०४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App