८ वैशाख २०८१ शनिबार
अर्थ

भेडेटारमा व्यावसायिक जिपलाइन सञ्चालन

जिपलाइनको मजा लिँदै धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी।

धरान - धरान–४ भेडेटारबाट साहसिक खेल पर्यटनअन्र्तगतको जिपलाइनको व्यावसायिक सुरुवात भएको छ। भेडेटार देवीथान जिपलाइनको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन्। करिब तीन करोड लागतमा सञ्चालनमा आएको जिपलाइनले पूर्वको पर्यटनलाई थप गति दिलाउने अपेक्षा यहाँका पर्यटन व्यवसायीले लिएका छन्। धनुकटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहागनरको सिमाना हो भेडेटार। यो जिपलाइन भने धरानतर्फको क्षेत्रबाट सञ्चालनमा आएको हो।  

यो जिपलाइन वल्र्डवाइड ग्रुप नेपाल प्रालिले सञ्चालनमा ल्याएको हो। भेडेटारबाट सुरु हुने जिपलाइन  धरान–४ कै देवीथान ल्यान्डिङ हुन्छ। यो जिपलाइनको दूरी ६ सय ५० मिटरको छ। साहसिक पर्यटकले करिब ४५ सेकेन्ड अनुभव लिन पाउने सञ्चालक मध्येका एक केदार थापाले जानकारी दिए। भेटेटार घुम्न आउने पर्यटकले नयाँ प्रोडक्ट खोजी गरिरहदा जिपलाइन सञ्चालनमा आएको भन्दै पर्यटन व्यवसायी एवं होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले खुशी व्यक्त गरे। ‘भेडेटार आउने पर्यटकले नयाँपन खोजिरहेका थिए, जिपलाइन सञ्चालनमा आयो हामी धेरै खुसी छाैँ ,’ उनले भने, ‘यस्ता डाँडाकाडा धेरै छन्, सानो लगानीले पनि ठूलो काम गर्छ।’

यो जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरी तीन प्रकारको रहेको छ। क्लासिकको १२ सय, सुपरम्यान (सुतेर)को १५ सय र कपलको १८ सयदेखि दुई हजार रुपैयाँसम्म पर्नेछ। क्लासिक एक्लै झुण्डिएर हुन्छ भने सुपरम्यान सुतेर हुन्छ। कपल जिपलाइनमा दुई जना आफ्नो साथीसँग अंगालो मारेर खेलिन्छ। शनिबार उद्घाटनका अवसरमा धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि सुपरम्यान जिपलाइन गरेकी थिइन्। पहिलो पटक जिपलाइन गर्दा सुरुमा केही डर अनुभव भए पनि पछि आनन्द भएको उनले सुनाइन्। ‘धरान, भेडेटारका लागि मात्र होइन, पूर्वको साहसिक पर्यटनका लागि यसले महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएकी छुँ,’ उनले भनिन्।

कम्पनीले जिपलाइन गर्ने साहसिक पर्यटकलाई कानुन बमोजिमको पाँच लाख रुपैयाँको बिमा पनि गरेको जनाएको छ। जिपलाइनमा प्रयोग गरिएका सामग्री अन्तर्राष्टियस्तरमा ख्यातीप्राप्त र सफल कम्पनीको भएकाले सुरक्षा चिन्ता नरहेको सञ्चालकको भनाइ छ। जिपलाइनमा कम्तीमा आठ वर्षदेखि माथि उमेर समूहलाई खेलाउने कम्पनीले जनाएको छ। विदेशमा पाँच वर्षका बच्चाले जिपलाइन गरेर रेकर्ड कायम गरेका छन्। धरानमा आफ्नो अभिभावकसँग आठ वर्षसम्मकालाई जिपलाइन गराइने सञ्चालकको भनाइ छ। यसअघि धुलिखेलमा ७५ वर्षका वृद्धले र ६८ वर्षकी वृद्धाले पनि जिपलाइनको मजा लिइसकेका छन्।

स्काइवाक र केबलकार प्रोजेक्ट छिटै
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भेडेटार क्षेत्रमा चाँडै स्काई वाक र केवलकारको पर्यटकीय प्रोजेक्ट पनि थपिने बताएका छन्। जिपलाइन उद्घाटन समारोह सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो खुलासा गरेका हुन्। ‘निजी क्षेत्रका लगानीकर्तालाई धन्यावाद दिन चाहँन्छु। विकास र समृद्धि सम्भव छ, हाम्रो पालामा नै सम्भव छ भन्ने पुष्टि भएको छ,’ मुख्यमन्त्री राईले भने, ‘हामी थुप्रै पूर्वाधार तयार गरेर लाखौं पर्यटकलाई आकर्षित गर्न चाहन्छौं, यो पहिलो प्रोडक्ट हो। अब छिट्टै स्काई वाक टावर बन्दैछ, केवलकारको प्रोजेक्ट पनि अघि बढ्दैछ।’

विकास र समृद्धिको लागि निजी क्षेत्रलाई लगानीको लागि उपयुक्त वातावरण तयार गरेर राष्ट्र निर्माणको अभियान सुरु भइसकेको मुख्यमन्त्री राईको भनाइ थियो। धरानको वडा नं ४ विकट भए पनि प्राकृतिक दृष्टिले असाध्यै उपयुक्त ठाउँ भएको र पर्यटकीय हिसाबले आकर्षक गन्तव्य बनाउने पनि उनले बताए। ‘विकट छ। बाटोघाटोको पहुँच कमजोर छ तर विकास र समृद्धिमा केन्द्रित भएर हामी समग्र विकास गछौं,’ उनले भने, ‘पर्यटकीय हिसाबले यी ठाउँलाई सुन्दर, आकर्षक गन्तव्य बनाउने हिसाबले योजनाका साथ लागिरहेका छौं। यी ठाउँको विकासको निम्ति, पर्यटन क्षेत्रको विकासका निम्ति सबैसँग हातेमालो गर्दै सहकार्य गरेर यस ठाउँलाई राम्रो मास्टर प्लान गरेर अगाडि बढाउनेछौं।’

प्रकाशित: २६ फाल्गुन २०७६ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App