७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

ज्येष्ठ नागरिकलाई मोबाइल

काठमाडाैँ - कैलारी गाउँपालिका वडा नं ७ कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई आज मोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको छ। लक्षित समुदायलाई सम्मान कार्यक्रमअन्तर्गत कार्यालयले वडाभरिकै ज्येष्ठ नागरिकलाई मोबाइल वितरण गरेको हो। कार्यालयले वडाका सबै एकल महिला र अपाङ्ता भएका व्यक्तिलाई पनि मोबाइल दिएको छ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र नेपाल टेलिकम धनगढीका प्रमुख सुरत मल्लले लक्षित समुदायका व्यक्तिलाई उक्त सामग्री प्रदान गरे। वडा कार्यालयले चालू आर्थिक वर्षमा सो कार्यक्रमलाई चार लाख ८५ हजार बजेट विनियोजन गरेको थियो। सोही बजेटले मोबाइल खरिद गरेर ३७६ जनालाई वितरण गरिएको हो भने २९ जनालाई अझै अपुग रहेको बताइएको छ।

गाउँपालिकाका अध्यक्ष चौधरीले चालू आवको नीतिगत निर्णयानुसार वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताए। उनले लक्षित वर्गको सामाजिक सुरक्षाभत्ता उनिहरुको बैंक खातामा जम्मा भइसकेको खबर अब मोबाइलमै आउने जानकारी दिए।

प्रविधिको जमानामा वडा कार्यालयले एउटा उदाहरणीय कार्य गरेको नेपाल टेलिकम धनगढीका प्रमुख मल्लले बताए। वडा नं ७ का अध्यक्ष कमलप्रसाद चौधरीले ज्येष्ठ नागरिकलाई आफ्नो समस्या, गुनासो स्थानीय सरकारसमक्ष राख्न सहज होस् भनेर मोबाइल र सीमकार्ड वितरण गरिएको जानकारी दिए। रासस

प्रकाशित: २३ फाल्गुन २०७६ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App