७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्याराग्लाइडिङमा ४० प्रतिशतसम्म छुट

पोखरा - कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटक आगमन खस्केपछि यहाँका प्याराग्लाइडिङ व्यवसायीले छुटका प्याकेज ल्याएका छन्। पोखरा भित्रिएका स्वदेशी र विदेशीलाई लक्ष्य गरी छुट प्याकेज ल्याएको प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए)ले बताएको छ।

एनएएले २५ प्रतिशत छुट घोषणा गरे पनि व्यवसायीले ४० प्रतिशतसम्म दिइरहेका छन्। एनएएका अध्यक्ष कृष्ण भण्डारीले आधा र एक घन्टाको उडानमा ग्राहकले २५ प्रतिशत छुट पाउने बताए। उनका अनुसार छुट नहुँदा आधा घन्टाको लागि विदेशीले आठ र स्वदेशीले सात हजार रुपैयाँ तिर्नुपर्छ। त्यसैगरी, एक घन्टाको लागि विदेशीले १० र स्वदेशीले आठ हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ। ‘पाहुना भित्रिने मूल सिजन भए पनि विदेशी पाहुना न्यून छन्। ती विदेशी र केही आन्तरिक पाहुनाका लागि छुट प्याकेज ल्याएका हौं,’ भण्डारीले भने, ‘अघिल्लो साता छुट प्याकेज सार्वजनिक गरेका हौं। आएका पाहुनालाई कम्तीमा प्याराग्लाइडिङमा उडाउन सकियो भने पनि केही राहत होला भनेर छुट दिएका हौं।’

पर्यटन सिजनमा सेप्टेम्बर–नोभेम्बर पहिलो र मार्च–मे दोस्रो मानिन्छ। विगतमा दोस्रो सिजनमा यहाँको पर्यटन क्षेत्र निकै नै चलायमान हुन्थ्यो। यसपटक भने कोरोना भाइरस संक्रमणका कारण पाहुनाविहीन छ। व्यवसायीले यो बेला लेकसाइडलाई सक्रिय बनाउन छुट घोषणा गरेको भण्डारीले बताए। उनका अनुसार छुट प्याकेज केही समय लम्बिनेछ। पर्यटन पूर्ववत अवस्था नआएसम्म छुटको प्याकेज जारी रहने भण्डारीले बताए।

प्रकाशित: २३ फाल्गुन २०७६ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App