२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सेयर बजारले गुमायो साढे पाँच विन्दु

काठमाडौं - तीव्र उतारचढावबीच साताको अन्तिम दिन बिहीबार पनि पुँजीबजार सूचक नेप्सेले ओरालो यात्रालाई निरन्तरता दिएको छ। बुधबार ६८.५ विन्दुले झरेको बजारमा तीव्र गतिको गिरावट भने रोकिएको छ। बिहीबार कारोबार अवधिभर घरि हरियो, घरि रातो बनेको नेप्से बजार बन्द हुँदा ५.५ विन्दुले घटेर १४३५.७ विनदुमा आइपुगेको छ। १४४१.२ मा खुलेको बजारले यस दिन ११६४.७८ को उच्च विन्दु र १४०७.५५ को न्यून विन्दु बनाएको छ।

नेप्सेले यस दिन दैनिक चार्टमा तल र माथि लामालामा धर्सा भएको डोजी प्रकृतिको महिनबत्ती बनाएको छ। यसले बजारमा क्रेता र विक्रेताबीच चर्को रस्साकस्सी रहेको संकेत गर्छ। साथै बजारको आगामी दिशाबारे लगानीकर्ताबीच अन्योल रहेको समेत यस्तो महिनबत्तीले संकेत गर्छ। यस दिन नेप्से ०.३८ प्रतिशतले ओरालो लाग्दा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स  पनि ०.३७ प्रतिशत (१.१५ विन्दु) ले ओरालो लागेको छ। कारोबार भएका १२ वटा समूहमध्ये पाँचवटाको सूचक हरियो बनको छ भने बाँकी सातवटा ओरालो लागेका छन्।

सबैभन्दा बढी ओरालो लाग्नेमा होटल्स समूह देखिएको छ। यो समूहको सूचक १.४५ प्रतिशतले खस्किएको छ। विन्दुगत आधारमा हेर्दा भने उत्पादनमूलक समूहमा बढी गिरावट देखिएको छ। यो समूहको सूचक ३८.९५ विन्दुले खस्किएको छ। यस्तै होटल्स २५.९८, निर्जीवन बिमा २५.६२, व्यापार १७.७२, बैंकिङ १४.२४ र म्युचुअल फन्ड ०.१४ विन्दुले रातो छन्। घट्दो बजारमा पनि यस दिन जीवन बिमा समूह ७७.८५, लघुवित्त समूह ४८.०३, विकास बैंक २१.२७, वित्त ७.८१ र अन्य दुई विन्दुले उकालो लागेका छन्। यसअघिका दुई दिन लगातार उच्च विन्दुले गिरावट आएको लघुवित्त समूहमा बिहीबार भने सुधार देखिएको छ।

कारोबार रकम गिर्दो क्रममा
केही दिनयता कारोबार रकम गिर्दो क्रममा छ। बिहीबार दुई अर्ब ४५ करोड ७० लाख ९३ हजार चार सय ६३ रुपैयाँको सेयर किनबेच भएको छ। यो अघिल्लो दिनको तुलनामा १५.५ प्रतिशतले कम हो। बुधबार दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६ सय तीन रुपैयाँको सेयर कारोबार भएको थियो। त्यसअघि मंगलबार ती अर्ब ८५ करोड १६ लाख २२ हजार नौ सय ९६ रुपैयाँको कारोबार भएको थियो। त्यसअघि आइतबार झन्डै चार अर्ब ८५ करोडको कारोबार हुँदा सर्वाधिक दैनिक कारोबारको कीर्तिमान बनेको थियो।

अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकमका साथै कारोबार संख्या र किनबेच भएको सेयर कित्तामा पनि ह्रास आएको छ। बुधबार २९ हजार दुई सय ३१ कारोबारबाट एक सय ७४ कम्पनीको ६७ लाख ७१ हजार एकसय ४१ कित्ता सेयर किनबेच भएकोमा बिहीबार २२ हजार पाँच सय ३१ कारोबारबाट एक सय ७९ कम्पनीका ५९ लाख ४० हजार पाँच सय ३३ कित्ता सेयर खरिदबिक्री भएका छन्।

नेपाल लाइफको अग्रता कायमै
कारोबार रकमका आधारमा यस दिन पनि नेपाल लाइफ इन्सुरेन्स नै अग्र स्थानमा छ। केही दिनयता लगातार पहिलो स्थानमा रहँदै आएको यस कम्पनीको बिहीबार ३७ करोड ८७ लाख १९ हजार आठ सय ६६ रुपैयाँको सेयर किनबेच भएको छ। दोस्रो स्थानमा रहेको एनएमबी बैंकको १२ करोड ६५ लाख ९२ हजार २२ रुपैयाँको कारोबार भएको छ। कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक, मञ्जुश्री फाइनान्स र नबिल बैंक क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। हिमालयन डिस्टिलरी, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, शिवम सिमेन्ट र मुक्तिनाथ विकास बैंक पनि उच्च कारोबार हुने १० कम्पनीभित्र पर्न सफल भएका छन्।

तीन कम्पनीमा सर्किट ब्रेक
तीव्र उतारचढाव देखिएको यस दिनको सेयर बजारमा तीनवटा कम्पनीमा सर्किट ब्रेक लागेको छ। तीमध्ये एउटामा पोजेटिभ र दुईवटामा नेगेटिभ सर्किट ब्रेक लागेको हो। मञ्जुश्री फाइनान्सको सेयर मूल्य १० प्रतिशत बढेपछि पोजेटिभ सर्किट लागेको छ भने नेपाल हाइड्रो डेभलपर्स कम्पनीको ९.७ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.३ प्रतिशतले सेयर मूल्य घटेर नेगेटिभ सर्किट लाग्यो। यस दिन राधी हाइड्रोपावर, बोटलर्स नेपाल तराई र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य सात प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यस्तै मिथिला घलुवित्त र युनियन हाइड्रोपावरको ६ प्रतिशतभन्दा बढीले खस्केको छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App