२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो सुकुटे महोत्सव

सिन्धुपाल्चोक - भोटेकोसी र सुनकोसी नदीका निश्चित क्षेत्रलाई र्‍याफ्टिङ जोनको रुपमा विकास गर्न नदीजन्य उत्खनन्लाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिँदै १० बुँदे घोषणापत्र जारी गरेर प्रथम सुकुटे महोत्सव मंगलबार सकिएको छ। सुकुटे घोषणापत्रमा सिन्धुपाल्चोकको पर्यटन प्रवद्र्धनमा सघाउने अल्पकालीन र दीर्घकालीन उपायहरु सुझाइएको छ। साहसिक खेल र्‍याफ्टिङका लागि विश्वमै सातौँ उत्कृष्ट गन्तव्यमा पर्ने सुनकोसी रहेको सुकुटे करिडोरलाई पर्यटकीय हब बनाउन घोषणापत्रले जोड दिएको छ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सुकुटे घोषणापत्र सार्वजनिक गरेका हुन्।

चार दिन चलेको महोत्सवमा पर्यटन, संस्कृति, नदी संरक्षणलगायत चार विषयमा सरोकारवालाबीच बृहत छलफल चलाइएको थियो। विषय विज्ञले प्रस्तुत गरेको कार्यपत्रमाथिको छलफलबाट आएका निष्कर्षलाई समेटर घोषणापत्र जारी गरिएको महोत्सव प्रचार समितिका संयोजक राजेन्द्र शर्माले बताए। महोत्सव गरिएको सुकुटेले छुने चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी र सुनकोसी गाउँपालिका तथा आयोजक सिन्धु पर्यटन व्यवसायी संघले घोषणामा हस्ताक्षर गर्दै कार्यान्वयनको सामूहिक प्रतिबद्धता जनाएका छन्। ‘सुकुटेमा रहेका होटल तथा रिसोर्ट आसपासका क्षेत्रमा होम–स्टे, फार्म–स्टे र अर्गानिक भिलेजको अवधारणालाई प्रोत्साहन गरिनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘होटल, रिसोर्ट तथा पर्यटनगँग सम्बन्धित व्यवसायलाई दिगो सञ्चालनका लागि नीति निर्माण गरी स्थानीय तहमार्फत नियमन गरिनेछ।’ नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियानसहित जैविक विविधता र पर्यावरण संरक्षणमा जोड दिइएको छ।

यहाँ रहेका रिसोर्ट लगायत साना–ठूला होटलले स्थानीय कृषिजन्य उत्पादनमा सघाउने, बजारीकरण गर्ने र उत्पादन उपभोग गरी किसानलाई उचित मूल्य दिनुपर्ने सुझाव घोषणापत्रले दिएको छ। स्थानीय माझी समुदायलाई केन्द्रमा राखेर अन्य जातजातीसमेतको पहिचान गरी स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै होटल तथा रिसोर्टका मेनुमा उनीहरुका परिकारलाई समावेश गर्ने नीति घोषणापत्रले लिएको छ। व्यवसायीको लगानी सुरक्षित गर्न लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिवद्धता घोषणपत्रमा जनाइएको छ। ‘सुकुटे जलविहारको सुन्दर हव भएकाले यसलाई आधार मानेर सिन्धुपाल्चोकका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्याकेज तयार गरी प्रचार प्रसार गरिनेछ,’ घोषणापत्रमा उल्लेख छ, ‘सांस्कृतिक क्यालेण्डर तयार गर्दै स्थानीय संस्कृतिमा रमाउने गरी पर्यटकलाई आकर्षित गर्ने नीति योजना र कार्यक्रम बनाइनेछ।’

झन्डै १५ हजार आन्तरिक तथा बाह्य पर्यटकले महोत्सवमा सहभागिता जनाएको आयोजकको दाबी छ। सञ्चालकहरुका अनुसार यो क्षेत्रका रिसोर्ट महोत्सव अवधिभर खचाखच पर्यटकले भरिएको थिए। सुकुटे क्षेत्रमा दुई हजार पाँच सय पाहुनालाई आवाशीय सुविधा दिने र्‍याफ्टिङ सेवासहितका रिसोर्ट संख्या मात्रै १० वटा छ। यो अवधिमा एक हजार पाँच सयले र्‍याफ्टिङ र ५० ले प्याराग्लाइडिङ गरेको आयोजकको तथ्यांक छ। गत वर्ष कदमवासको लामाचौरमा परीक्षण गरिएको प्याराग्लाइडिङको व्यवसायिक उडान महोत्सवकै अवसरमा थालिएको हो। महोत्सवकै अवसर पारेर सुनकोसी नदीमा पहिलो पटक ‘जेटबोट’ समेत सञ्चालनमा ल्याइएको छ। व्यवसायीले महोत्सव अवधिभर प्याराग्लाइडिङ, र्‍याफ्टिङ, जेटबोट लगायत रिसोर्टले दिने सबै सुविधामा ३० प्रतिशत छुट दिएका थिए। कुविण्डेको लसी, बलेफीको सेकुवा, सुनकोसीका असला माछा, हेलम्बुको ट्राउट माछा, लघु उद्यमीको लप्सी क्याण्डी, हस्तकला लगायत स्थानीय सामग्रीले महोत्सवमा राम्रो बजार पाएका थिए। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शनिबार महोत्सवको उद्घाटन गरेका थिए।

प्रकाशित: २१ फाल्गुन २०७६ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App