२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

भैरहवा भन्सारमा आयात–निर्यात घट्यो

भैरहवा – चालु आर्थिक वर्षको पहिलो सात महिनासम्म भैरहवा भन्सार कार्यालयबाट अयात–निर्यात घटेको छ। मुलुककै दोस्रो ठुलो र प्रदेश नं. ५ को  पहिलो भन्सार नाकाको रुपमा रहेको कार्यालयबाट यस आवको माघ सम्म देश बाहिर जाने र नेपाल आउने वस्तु तथा सेवा घटेको हो।

विगत केही महिना देखि भएको आर्थिक मन्दीका कारण समग्र अर्थतन्त्रका साथै भन्सारको आयात निर्यातमा समेत असर परेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष निर्यात कम हुँदा ब्यापार घाटा समेत बढेको हो। भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५/७६को माघ सम्म २ अर्ब ४० करोड ९९ लाख ८९ हजारको मालबस्तु भारत तथा तेस्रो मुलुक निकाशी भएको भए पनि सो परिमाण अहिले ३० करोड ३२ लाख ८६ हजारले घटेर २ अर्ब १० करोड ६७ लाख ३ हजार भएको छ।
 
कार्यालय सूचना अधिकारी तथा भन्सार अधिकृत पुण्य प्रसाद लम्सालका अनुसार माघ महिना सम्म नेपालबाट काँच, खोटो रेजिन, पिना, स्पाइप, भाडा, सेन्थेटिक यार्न (बोरा, झोला), अदुवा, जडीबुटी, चाउचाउ, चुनढुङगा, वियर, कोदो, फापर, कुचो लगायतका बस्तु निर्यातबाट ४४ लाख ६७ हजार राजश्व अशुली भएको छ।

भैरहवा नाकाबाट निर्यातसँगसगै आयात पनि घटेको छ। भैरहवा भन्सार कार्यालयलाई माघ महिना सम्म ६२ अर्ब ७० करोड ९१ लाख ६५ हजार राजश्व असुली गर्ने लक्ष्य भन्सार विभागले दिए पनि आयात घट्दा लक्ष्य भन्दा १० अर्ब २८ करोडले ८६ लाख कम अर्थात ५२ अर्ब ४२ करोड ५ लाख ४२ हजार राजश्वमात्र असुली गर्न सकेको छ।
 
गत वर्षको माघ महिना सम्म १ खर्ब ६६ अर्ब ८१ करोड २६ लाख ३५ हजार रुपैयाको मालबस्तु आयात भएपनि यस वर्ष यो परिमाण पनि १३ अर्ब १३ करोडले घटेको छ। यस वर्षको माघ सम्म भैरहवा भन्सार कार्यालयबाट १ खर्ब ५३ अर्ब ६८ करोड ११ लाख ९२ हजार रुपैयाको मालबस्तु आयात भएको छ, जुन गत वर्ष भन्दा ८.५ प्रतिशतले कम भएको हो।  

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमल कुमार भट्टराईका अनुसार मुख्य बस्तुहरू जसबाट बढी राजस्व संकलनको अपेक्षा थियो। सबैभन्दा बढी एमएस बिलेटको आयात कम हुदा १ अर्ब १३ करोड २४ लाख ४७ हजार रुपैया राजस्व एउटै बस्तुका कारण कम भएको छ। यस्तै ९७ करोड बढीको सिमेन्ट क्लिङकर, ६० करोडको हाइस्पीड डिजेल, १५ करोडको ग्यास, १० करोडको चामल, बस ट्रक, प्याज लगायतका ३० वटा बस्तुबाट ५ अर्ब ३२ करोड ८८ लाख ८१ हजार रूपैयाँ राजस्व कम असुली भएको  प्रमुख भन्सार अधिकृत भटराईले बताए।

कोरोना भाइरस देखा पर्नु अघि नै आयातमा कमी देखिएको थियो, अन्य कारण भन्दा पनि आर्थिक चहलपहलमा स्थिरता आएर आयातमा असर परेको प्रमुख भट्टराईले बताए। भारत हुदै चिनिया कच्चा पदार्थहरु पनि यही नाकाबाट आउने हुदा कोरोनाको असर केही हुन सक्छ।

भैरहवा भन्सार कार्यालयले आर्थिक बर्ष २०७६/०७७ मा पनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन। भन्सार बिभागले भैरहवा भन्सार कार्यालयका लागी आर्थिक बर्ष २०७६/७७का लागि १ खर्ब ६ अर्ब ८८ लाख ८६ हजार रुपैया राजस्व संकलनको लक्ष्य दिएको छ। गत वर्ष भन्दा १३ प्रतिशत लक्ष्य बढी छ।  माघ सम्ममा ६२ अर्ब ७० करोड ९१ लाख ६५ हजार राजश्व उठाउनु पर्नेमा चालु बर्षको ७ महिनामा (साउन देखि माघ सम्म) कुल लक्ष्यको ४९ प्रतिशत अर्थात ५२ अर्ब ४२ करोड ५ लाख ४२ हजार रूपैया  राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए। अहिले भएको असुली गत वर्षको असुली भन्दा करिब १० प्रतिशतले बढी हो।

सात महिनामा मोटर साईकल, माइक्रोबस, डबल क्याब पिक अप जिप, एचआर सिट, मिनिबस, पत्थर कोईला, ग्लेज टाईल, चकलेट, प्लास्टिकका नलीपाईप, पोलिथिन दाना, सिसि बोतल काचको, अटोरिक्सा टेम्पो, सुती कपडा, ग्यास सिलिन्डर, दन्तमन्जन, बस ट्रकको टायर लगायतका बस्तुहरूको आयात गत बर्षको तुलनामा बृद्धि भएको सूचना अधिकारी लम्सालले बताए। 

कार्यालयको अनुसार मुख्य गरेर आर्थिक मन्दीका कारण आयातमा कमी  आएको छ। यसका साथै खुला सिमाना, न्यून बिजकीकरण, छोटी भन्सारहरु मूल भन्सारको रुपमा परिणत हुदा केही असर परेको छ। भैरहवा भन्सार कार्यालयलाई आर्थिक बर्ष २०७५/७६को तुलनामा २०७६/७७मा १३ प्रतिशत बढी लक्ष्य दिईएको छ। 
 

प्रकाशित: २० फाल्गुन २०७६ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App