११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

तितेपातीको तेललाई बजार अभाव

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका उद्योगीले उत्पादन गरेको तितेपातीको तेललाई बजार अभाव भएको छ। औपचारिक रुपमा २०७५ भदौ ३ गतेदेखि सञ्चालनमा ल्याइएको तितेपाती प्रशोधन उद्योगमा उत्पादित सुगन्धित तेलले बजार नपाउँदा भण्डारमै थन्किएको छ।

उचित बजार अभावमा हाल सय केजीभन्दा बढी तितेपातीको तेल थन्काएर राखिएको उद्योग सञ्चालक संमृद्धिपथ एग्रो कम्पनी प्रालिका अध्यक्ष अग्नीप्रसाद राईले बताए। ‘गत वर्ष १० हजारदेखि १२ हजारका दरले करिब ५० केजी तेल बिक्री गरियो,’ अध्यक्ष राईले भने, ‘यस वर्ष त बिक्री भएकै छैन। तेललाई बजारको अभाव छ। सय केजीभन्दा बढी तेल थन्काएर राखिएको छ।’

गाउँका डाँडापाखामा जताततै पाइने र त्यसै खेर गइरहेका बनस्पती तितेपातीको सदुपयोग गर्दै आर्थिक समृृद्धि प्राप्तिका लागि पाथेकाका नौ स्थानीयले ३५ लाख लगानी गरेर तापखोलास्थित त्रिवेणीमा तितेपाती प्रशोधन उद्योग सुरु गरेका हुन्।

विशेषगरी डाँडापाखा, खोल्सा–खोल्सीदेखि बाँझो जग्गामा प्रशस्त मात्रामा पाइने तितेपाती संकलन एवं प्रशोधन गरेर उत्पादन गरिएको तेल जडीबुटीका रुपमा उपयोग हुने गरेको छ। खेर गइरहेका तितेपातीबाट मूल्यवान तेल उत्पादन गर्न सकिने सम्भावना भए पनि बजार अभावमा उद्योगी निराश बनेका छन्। काठमाडौंमा पु¥याउँदा तितेपातीको तेल बिक्री हुने भए पनि सस्तोमा खोज्ने गरिएको अध्यक्ष राईले बताए।

तितेपाती संकलन गरेर उद्योगका उपकरणमा आगो लगाएर वाष्पीकरण विधीबाट पकाएर तेल निकाल्ने गरिन्छ। उद्योग सञ्चालकका अनुसार तेल निकाल्नका लागि एक पटकमा करिब सात–आठ सय केजी तितेपाती पकाउनु पर्ने हुन्छ। एक पटकमा सात–आठ सय केजी तितेपाती पकाउँदा ६ सयदेखि बढीमा एक हजार एमएल तेल निस्कने गरेको उद्योग सञ्चालक बताउँछन्। करिब सात घण्टासम्म निरन्तर आगो लगाएर पकाउनुपर्ने हुनाले बिहान ५ बजेदेखि राती ११ बजेसम्म काम गर्दा दुई घान तितेपाती मात्र पकाउन सकिन्छ। प्रजाती अनुसार कतिपय तितेपातीबाट कम र कतिपय तितेपातीको बोटबाट बढी तेल निस्कने उद्योगीको अनुभव छ। तेल उत्पादनमा प्रयोग हुन थालेपछि पाथेकामा बेकाममा खेर गइरहेका प्राकृतिक श्रोत तितेपातीको भने सदुपयोग भएको छ।

पहाडी क्षेत्रका अधिकांश ठाउँमा तितेपातीको घारी हुन्छ। डाँडापाखा, खोल्सा–खोल्सीदेखि बाँझो जग्गासमेत तितेपातीले ढाकेको हुन्छ। खेतबारीमा समेत उम्रिने तितेपाती कतिपय किसानका लागि टाउँको दुखाइको विषय बन्ने गरेको छ। अन्य काममा खासै प्रयोग नहुने भएकाले तितेपाती जहाँतही हुर्कने गरेको छ। तर, पाथेकाका स्थानीयले तिनै तितेपातीबाट औषधिकारुपमा प्रयोग हुने महंगो मूल्याको तेल उत्पादन सुरु गरेका हुन्। यसअघि पाथेकाको नाखाममा मछिनोको तेल प्रशोधन उद्योग स्थापना गरिएको थियो। त्यही मछिनो उद्योग सञ्चालन गर्नेक्रममा तितेपातीबाट पनि तेल निकाल्ने सोच अघि बढेको अध्यक्ष राईले बताए।

हरेक साल उत्तिकै मात्रामा उम्रिरहने भएकाले तितेपातीको तेल उत्पादन उद्योगको सम्भावना प्रचुर रहेको छ। तितेपाती हुने सिजन भदौ र असोजमा मात्र उद्योग चल्ने भएकाले अन्य समयमा मछिनो प्रशोधन गरेर तेल निकाल्ने गरिएको छ।

प्रकाशित: २० फाल्गुन २०७६ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App