२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतबाट आउने सवारीसाधनको तथ्यांक राख्न सुझाव

काठमाडौं – नेपालको खुला सिमानाका कारण देश भित्रिने भारतीय सवारी साधनको कुनै तथ्यांक नराखिँदा समस्या निम्तिन सक्ने भन्दै विज्ञहरूले चिन्ता गरेका छन्। तथ्यांक नराखिँदा सवारी साधनमा नेपाल आएर आपराधिक क्रियाकलाप गरेर फर्कंदासमेत पत्तो नहुने समस्या देखिएकाले नियमन गर्न सुझाएका छन्। सरकारका पूर्वसचिव, विभिन्न निकायका प्रमुख सम्बद्ध २५ भन्दा बढी समूहको आयोजनामा ‘नेपालमा विदेशी साधनको आगमन’ विषयमा सोमबार काठमाडौंमा भएको छलफलमा भारतबाट जथाभावी सवारीसाधन भित्रिनाले अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।

भारतबाट सवारी साधनमार्फत नेपाल भित्रिनेहरू कहाँ जान्छन्, कति दिन बस्ने, कुन नाकाबाट फिर्ता हुन्छन् भन्ने कुनै तथ्यांक नभएको र यसले भविष्यमा ठूलो समस्या हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुखआयुक्त सूर्यनाथ उपाध्यायले बताए।

‘कति आए, कहाँ गए कुनै अनुगमन छैन। आउने बेलामा ठाउँठाउँमा तथ्यांक राखिनुपर्छ,’ उनले भने, ‘नेपालबाट भारत जाने सवारीसाधनले कति यात्रु लगेको छ कुनै अनुगमन छैन। सुरक्षाको दृष्टिकोणबाट हेर्नुपर्छ।’

‘नेपाल आउने हरेक विदेशीको परिचय के हो ? रेकर्ड तत्कालदेखि राख्न जरुरी छ,’ पूर्व सचिवसमेत रहेका उपाध्यायले भने, ‘खुला सीमालाई विस्तारै व्यवस्थित गर्नुपर्छ।’ सुरक्षाका दृष्टिकोणले पनि सरकारको ध्यानाकर्षण हुनुपर्ने उनले बताए। ‘हामीले निकासी र पैठारी दृष्टिले मात्र हेरियो। यो केटाकेटी काम हो। यसले देशको सुरक्षामा गम्भीर अवस्था आउन सक्छ,’ उनले भने।

नेपालबाट भारत सवारीसाधन लैजानु पर्दा दूताबासबाट स्वीकृति लिनुपर्ने र भारतबाट नेपाल आउँदा भने भन्सारबाटै स्विकृति दिने व्यवस्था परिवर्तन हुनुपर्ने सरकारलाई सुझाव दिएका छन्। भारतले जस्तै नेपालले पनि दूताबासबाटै स्वीकृति लिएर सवारी अनुमति लिन पाउने व्यवस्था गर्न सुझाव दिएका हुन्।

तराईलगायत पहाडमासमेत भारतीय सवारीको चाप बढ्दा आपराधिक गतिविधि बढ्ने, राजश्वमा क्षति पुग्ने, गलत क्रियाकलाप बढ्ने देखिएकाले नियमन गर्नुपर्ने पूर्वसहसचिव ऋषिराम लामिछानेले बताए। लामिछानेले एक कार्यपत्र प्रस्तुत गर्दै नेपाल एकतर्फी रूपमा कमजोर देखिएको बताए। निजी सवारीसाधनको प्रोटोकल नभएकाले तुरुन्त तयार गर्नुपर्ने उनले बताए।

भन्सार विभागका पूर्व महानिर्देशक माधवप्रसाद घिमिरेले निजी यातायात, कार्गोको अभिलेख हुनुपर्ने बताए। त्यसैगरी पूर्वसभासद् श्याम श्रेष्ठले आफू सिक्किम जाँदा कहाँ बस्ने, कतिदिन बस्ने, कुन ठाउँ घुम्ने र परिचय खुल्ने दिएर बल्ल अनुमति लिई गएको अनुभव सुनाए। नेपालमा खुला सिमानाका कारण र राज्यले रेडर्क राख्न नचाहेका कारण समस्या भएको बताए।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोविन्द थापाले नेपालले प्रचलित प्रणालीका कारण नराखिएको बताए। चुनावभरि, विवाहमा पनि तराईतिर भारतीय गाडी बाक्लो देखिने बताए। शासकीय संस्कृतिका कारण बिना रोकतोक सवारीसाधन भित्रिनाले अन्य समस्या आउने बताए।

नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले सरकारमा इच्छाशक्ति नभएको बताए। उनले भारतबाट भित्रिने सवारीसाधनलाई सजिलै अनुगमन गर्न सकिने भएकाले तुरुन्त सुरु गर्न सरकारलाई सुझाव दिए। सशस्त्र प्रहरी बलका पूर्वएआइजी रवीराज थापाले नेपालको सीमानामा नियन्त्रण गर्नुपर्ने बताए। ‘पहिलेभन्दा नेपालको सीमा कमजोर भएको छ,’ उनले भने। नेपाल भित्रिने हरेक व्यक्तिको तथ्यांक राख्नुपर्ने उनले बताए।

त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले सरकारले जति पनि सन्धि सम्झौता एकल रूपमा गर्ने गरेको टिप्पणी गरे। ‘सन्धिमा सिग्नेचर मेनिया जस्तो छ। सन्धी सम्झौता गर्नु अभिसुरक्षा परिषद्सँग छलफल गर्नुपर्छ,’ उनले भने। गाडीमा को आयो, त्यही गाडीमा फक्र्यौ कि फर्केन। कहाँ बस्यो के ग¥यो कुनै अनुगमन नहुने उनले बताए।

प्राध्यापक कृष्ण पोखरेल, धुव्र भट्टराई, शरदचन्द्र पौडेललगायतले खुला सीमा नियमन गर्दै भारतको बाटो हुँदै सवारीसाधन लिएर आउने हरेक विदेशीको रेकर्ड राख्न सरकारलाई सुझाव दिए।

प्रकाशित: २० फाल्गुन २०७६ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App