काठमाडाैँ - चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले अपेक्षित गति लिन सकेको छैन। माथिल्लो र तल्लो ठाडो सुरुङको ठेकेदार कम्पनी भारतीय टेक्सम्याको कम्पनी र अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोको अस्वाभाविक ढिलासुस्तीकै कारण आयोजनाले अपेक्षित गति लिन नसकेको हो।
आगामी चैतको दोस्रो साताभित्रै आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने घोषणा गर्दै आएका थिए। तर घोषणाअनुसार चैतमा ७६ मेगावाटको बिजुली उत्पादन हुने कुनै छाँटकाँट नदेखिएपछि उनी बिहीबार आयोजना स्थल पुगेर यसअघि आफैंले घोषणा गरेको कार्यतालिका फेर्न बाध्य भएका हुन्। घिसिङले बिहीबार ठेकेदार कम्पनीसँगको छलफल कार्यक्रममा पहिलो युनिटबाट आगामी मे १५ (जेठ)भित्रै विद्युत् उत्पादन गर्ने कार्ययोजनाअनुसार काम गर्न निर्देशन दिएका छन्। आयोजनाको मुख्य कामअन्तर्गत माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानमा ढिलासुस्ती हुँदा लक्ष्यअनुसार काम हुन नसकेको हो।
प्रबन्ध निर्देशक घिसिङले आगामी जेठभित्रै कम्तीमा एउटा युनिटबाट बिजुली उत्पादन गर्ने कार्यतालिकासहित काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्।
भारतीय टेक्सम्याको कम्पनीको ढिलासुस्तीकै कारण काम अघि बढाउन नसकेपछि तल्लो ठाडो सुरुङ (लट तीन)को पाइप जडानको ठेक्का अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो। एन्ड्रिजले तल्लो पेनस्टकमा अपेक्षाकृत काम गरे पनि माथिल्लो सुरुङको निर्माण गर्ने जिम्मेवारी पाएको टेक्सम्याको गति भने अत्यन्तै सुस्त छ। प्रबन्ध निर्देशक घिसिङले आगामी जेठभित्रै कम्तीमा एउटा युनिटबाट बिजुली उत्पादन गर्ने कार्यतालिकासहित काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्। ‘जुनसुकै अवस्थामा पनि चालु आर्थिक वर्षभित्रै पहिलो युनिटबाट बिजुली उत्पादन गर्नुहोस्,’ उनले भने, ‘प्रतिबद्धताअनुसार कार्यसम्पादन गर्नुहोस्। आवश्यक पर्ने जस्तोसुकै समन्वय गर्न हामी तयार छौं।’
घिसिङले बिहीबार आयोजनाको स्थलगत निरीक्षण गर्दै ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीसँग छलफल गरेका थिए। आयोजनाको निर्माण आव ०७३/७४ भित्रै सम्पन्न गर्ने लक्ष्य भए पनि भूकम्प र नाकाबन्दी कारण तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुन सकेको थिएन। आव ०६७/६८ मा सुरु गर्दा आयोजना ३५ अर्ब (ब्याजबाहेक) रूपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। तर, तोकिएको समयभित्र निर्माण सम्पन्न नहुँदा लागत प्रारम्भिक अनुमानको दोब्बर नाघ्ने देखिएको छ। आयोजना सम्पन्न हुँदा ७४ अर्ब (ब्याजसहित) भन्दा धेरै लाग्ने पछिल्लो अनुमान छ। भूकम्प र नाकाबन्दीले आयोजना प्रभावित भएसँगै पहिलोपटक ०७५/७६ को पुसभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समयतालिका तय गरिएको थियो। सो म्यादमा पनि काम सम्पन्न हुन नसकेपछि फेरि आव ०७६/७७ को असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको हो।
माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आयोजनाको सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको बताए। ‘मुख्य सुरुङमा जान गेट राख्ने तयारी भइरहेको छ,’ उनले भने, ‘विद्युत् गृहका सम्पूर्ण उपकरण जडान भई तयारी अवस्थामा राखिएका छन्।’ त्यस्तै, प्रसारण लाइनका लागि आवश्यक पर्ने एक सय २७ वटा टावर निर्माण गरिएको र ४७ किलोमिटर तार तान्ने काम सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीलाई माथिल्लो र तल्लो ठाडो सुरुङ निर्माण गर्न हरेक महिना झक्झकाउँदै आएका छन्।
प्रकाशित: १९ फाल्गुन २०७६ ०४:२५ सोमबार