८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

गाउँपालिकाले बनायो राजस्व सुधार कार्य योजना

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले राजस्व सुधार कार्य योजना तयार पारेको छ। कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउँदै आन्तरिक श्रोत मजवुत बनाउनका लागि गाउँपालिकाले तीन महिना लगाएर राजस्व सुधार कार्य योजना तयार पारेको हो।

राजस्व संकलन गर्न सकिने सम्भावित क्षेत्रको पहिचान गर्दै स्थानीय सरकारलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने प्रयास स्वरुप हेल्भेटास नेपालको प्राविधिक सहयोगमा राजस्व सुधार कार्य योजना तयार पारिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए।

हरेक स्थानीय तहले प्रक्षेपण गरे अनुसार राजस्व संकलन गर्न नसकिरहेको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले गत मंसिर १७ र १८ गते राजस्व सुधार सम्बन्धि कार्य योजना तर्जुमा गोष्ठी गरेर काम थालेको थियो। जनताबाट संकलन हुने राजस्वको दायरा बढाउँदै कर संकलन गर्ने र पारदर्शी ढंगले पुनः जनताकै सम्बृद्धिका लागि खर्च गर्ने वैज्ञानिक खाका कोर्नेक्रममा राजस्व सुधार कार्य योजना बनाइएको गाउँपालिका अध्यक्ष राईले बताए।

भूमि कर, घरजग्गा वहाल घर, गिट्टी वालुवा, व्यवसाय कर, नक्सा पास दस्तुर, व्यक्तिगत घटना दर्ता, बहाल शुल्क, मूल्यांकन सेवा शुल्क, पसल तथा कृषि समूह दर्ता, ‘घ’ वर्गको निर्माण ईजाजत, वडामार्फत सिफारिस तथा प्रमाणित, बसाइसराई लगत कट्टा, हल भाडा, साउण्डसिस्टम, जेसिभि भाडा लगायतका शिर्षकमा राजस्व संकलन गर्नेगरी करको दायरा फराकिलो बनाउने कार्य योजनामा उल्लेख छ।

‘संविधानबाटै स्वयत्त अधिकार पाएको स्थानीय सरकार आर्थिकरुपमा संघीय सरकार र प्रदेश सरकारसँगै निर्भर रहनुपर्ने अवस्था छ। सधैं यो अवस्था रह्यो भने स्थानीय सरकारको भविष्यमाथि प्रश्न उठ्न सक्छ,’ अध्यक्ष राईले भने, ‘त्यस कारण स्थानीय सरकार आर्थिकरुपमा आफै बलियो बन्नु पर्छ। यसका लागि हामी कर बढाउँदैनौं तर करको दायरा फराकिलो बनाउने लक्ष्य लिएका छौँ। यसले संघीयतालाई नै बलियो बनाउन सहयोग पुग्ने छ।’

नागरिकलाई राजस्व बुझाउनका लागि प्रोत्साहित गर्ने र आगामी दिनमा राजस्व संकलनको मात्रालाई वृद्धि गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ। आर्थिक वर्ष २०७५/०७६ मा ८ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले करिब २५ लाख राजस्व संकलन गरेको जनाएको छ। ‘केमा कर लगाउने, केमा नलगाउने, करको दायरालाई कसरी फराकिलो बनाउने, नागरिकबाट कसरी कर लिने र कसरी सेवा प्रवाह गर्ने भन्ने विषय राजस्व सुधार कार्य योजनामा समेटेका छौँ,’ राईले भने, ‘अब हरेक स्थानीय तह आन्तरिक श्रोत साधनमार्फत बलियो हुन आवश्यक छ। आन्तरिक श्रोत र साधनको पहिचान गरी आफू बलियो हुनका लागि योजना बनाउन आवश्यक छ।’

खोटाङका दुई नगरपालिका र आठ गाउँपालिकाको राजस्व संकलन निराशाजनक छ। अधिकांश स्थानीय तहले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेका छैनन्। आन्तरिक राजस्व संकलन पक्ष कमजोर हुँदा हरेक स्थानीय सरकार आर्थिकरुपमा आत्मनिर्भर बन्नमा पछि परेको देखिएको छ।

प्रकाशित: १८ फाल्गुन २०७६ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App