coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ट्रंक लाइन विवाद, उद्योगीद्वारा आन्दोलनको चेतावनी

बुटवल - बुटवल–भैरहवा करिडोरका उद्योगलाई ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको भन्दै विद्युत् प्राधिकरणले छुट महसुल बुझाउन ३५ दिने सूचना जारी गरेपछि रुपन्देहीका उद्योगीहरू आन्दोलनमा उत्रने भएका छन्। करिडोरका उद्योगीले माग्दै नमागेको ट्रंक लाइनको महसुल कुनै हालतमा तिर्न नसक्ने भन्दै जबरजस्ती गरिए उद्योग कलकारखाना बन्द गरेर सडकमा निस्कने चेतावनी दिएका हुन्।

बुटवल–भैरहवा औद्योगिक करिडोरका २१ वटा उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले  २०७५ को वैशाखदेखि २०७६ कात्तिकसम्मको ट्रंक लाइनबापतको छुट रकम बुझाउन फागुन ८ गते ३५ दिने सूचना पठाएको छ। प्राधिकरणले करिडोरका उद्योगबाट साविककै समयमा औद्योगिक महसुल भने बुझिसकेको भए पनि सो अवधिमा ती उद्योगलाई ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको दाबी गर्दै साविकको भन्दा ६६ प्रतिशत बढी महसुल बुझाउन अल्टिमेटम दिएको हो। तर, करिडोरका उद्योगीले भने आफूहरूले ट्रंक लाइन माग्दै नमागेको र यस सम्बन्धमा प्राधिकारणसँग कुनै माग वा सम्भौता पनि नगरिएको भन्दै थप रकम बुझाउन नसक्ने बताएका छन्।

करिडोरका उद्योगीले बिहीबार रूपन्देहीको मंगलापुरमा पत्रकार सम्मेलन गर्दै उद्योगले खपत गरेको विद्युत् महसुल प्राधिकरणको नियमअनुरूप सबै उद्योगले साविककै समयमा बुझाइसकेको र थप रकम कुनै हालतमा बुझाउन नसक्ने बताएका हुन्। करिडोरका उद्योगी चन्द्रमान श्रेष्ठले प्राधिकरणसँग ट्रंक लाइन लिने कुनै माग वा सम्भौता नगरिएको बताए।

‘हामीले माग्दै नमागेको ट्रंक लाइन कहिले जोडियो, किन जोडियो ?  ट्रंक लाइनमार्फत विद्युत् दिइएको भए त्यतिबेला हामीलाई किन जानकारी गराइएन् ?। किन त्यतिबेला ट्रंक लाइनबापतको महसुल मागिएन ?’ तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहकारसमेत रहेका श्रेष्ठले प्रश्न गरे।

करिडोरका अर्का उद्योगी नवराज श्रेष्ठले विगत ४० वर्षदेखि साधारण लाइनबाटै निर्बाध रूपमा सञ्चालन भइरहेका करिडोरका उद्योगीमाथि प्राधिकरणले ट्रंक लाइनको बहानामा ज्यादती गरेको बताए। बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले जिम्मेवार निकायले आफ्नो काम सही ढंगले नगर्दा त्यसको मार करिडोरका उद्योगी परेको भन्दै एकपटक तिरिसकेको महसुल फेरि दोहो¥याएर तिर्न नसक्ने बताए। सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले ट्रंक लाइनका नाममा प्राधिकरणले उद्योगी व्यवसायीलाई आतंकित पारेको बताए।

प्राधिकरणका कर्मचारीले गरेका गल्ती कमजोरीको सोधभर्ना उद्योगीले गर्न नसक्ने भन्दै उनले अहिले पनि करिडोरका उद्योगका लागि ट्रंक लाइन आवश्यक नै नभएको बताए। पञ्चकन्या उद्योगका महाप्रबन्धक देवेन्द्र शाहुले प्राधिकरणले ट्रंकलाइनमार्फत विद्युत् आपूर्ति भएको भनिएको समयमा करिडोरका उद्योगले अनियमित विद्युत् आपूर्ति तथा ट्रिपिङकै कारण झन्डै साढे तीन करोडभन्दा बढीको क्षति बेर्होनुपरेको दाबी गरे।

रूपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले नियमित विद्युत् आपूर्ति नभएको समयलाई पनि प्राधिकरणले ट्रंक लाइनमार्फत वितरण गरिएको भनेर थप रकम माग्नु जायज नभएको बताए। प्राधिकरणले ट्रंक लाइन माग गरेका केही ठूला उद्योगीको घानमा करिडोरमा उद्योगीलाई पनि पारेको भन्दै छुट बिलिङको नाममा अडिटिङ भइसकेको अवस्थामा उद्योगीले थप रकम बुझाउन नसक्ने बताए।

यशोधा फुड्सका मधुसुधन घिमिरेले छुट बिलिङको नाममा प्राधिकरणले करिडोरका उद्योगहरूलाई धरासायी बनाउन खोजेको बताए। करिडोरका उद्योगीले प्राधिकरणले छुट बिलिङका नाममा पठाएको थप रकम कुनै हालतमा तिर्न नसक्ने र अहिले पनि  सो करिडोरमा ट्रंक लाइनको आवश्यकता नभएकाले साधारण लाइनमार्फत नै विद्युत् आपूर्ति गर्नुपर्ने माग गरेका छन्। आफूहरूको माग सम्बोधन नभए उद्योग नै बन्द गरेर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उद्योगीले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रकाशित: १६ फाल्गुन २०७६ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App