४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चिनियाँ सामानको कृत्रिम अभाव, पर्यटन व्यवसाय प्रभावित

गल्लामण्डीस्थित पसलमा बेच्न राखिएको लसुन ।

भैरहवा- चीनमा देखिएको कोरोना भाइरसको असर रुपन्देहीको पर्यटनका साथै अन्य व्यवसायिक क्षेत्रमा पनि देखिएको छ। मंसिरबाट भाइरस देखिएको र विस्तारै व्यापार व्यवसायमा असर परेका कारण रुपन्देहीको समग्र पर्यटन व्यवसायसहित इलेक्ट्रीक र अन्य दैनिक उपयोग्य सामानहरुको अभाव हुन थालेको छ।

चीन स्वयमले उत्पादित वस्तुहरुको अर्डर र डिस्पेच गर्न बन्द गरेकोले चीनको भरमा रहेका अधिकांश इलेक्ट्रीकल तथा घरायसी सामानहरुको समेत बजारमा अभाव देखिन थालेको छ। लसुनदेखि सुनसम्मको आयातलाई असर पुर्‍याएको कोरोनाले औद्योगिक क्षेत्रमा प्रयोग हुने बिभिन्न कच्चा पदार्थ, तयारी पोशाक, मेसिनरी, विलाशिताका समान, विद्युतीय उपकरणसहित तयारी सामानहरुमा केही प्रभाव पारेको छ।  

गोयनका समूहका निर्देशक अरुण गोयनकाले चीनबाट गैती, बेल्चा, टोकरी, बेन्डिंग वायर लगायतका सामग्री ल्याउने गरेको तर पछिल्लो समय कोरोना भाइरसका कारण अहिले त्यहाँका पार्टीहरुले ढुवानी गर्न नसकिने र उद्योगहरु पनि बन्द रहेको भन्दै अर्डर नै नलिएको बताए।

गोयनकाले आयात गर्ने तयारी सामानहरु ल्याएर यहाँ बिक्री वितरण गर्दै आएकोमा अहिले चीनबाट नयाँ सामानहरु केही पनि नआएको र पुरानो मौज्दात सामान पनि अन्तिम अवस्थामा रहेकाले सामानको अभाव देखिन थालेकोे बताए। उद्योग नै बन्द रहेकोले कोरोना भाइरस नियन्त्रणमा आएको कम्तिमा ३ महिनापछि मात्र सो सामानहरु आउने छ, जसले अभाव ३ महिना बढि हुने निश्चित छ गोयनकाले नागरिक न्युजलाई बताए।

कोरोनाले विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) लाई पनि प्रभावित बनाएको छ। भैरहवास्थित सेजमा एलइडी बल्ब उत्पादन गर्दै आएका व्रिलियन्ट लाइट इन्डस्ट्रिजले चीनबाट कच्चा पदार्थ नआउँदा उत्पादन नै गर्न सकेको छैन। कम्पनीका म्यानेजर केशब भट्टराईका अनुसार बल्ल सुरु गरेको निर्यात २ महिना नहुँदै प्रभावित भएको छ। कच्चा पदार्थ लिन गएकोे कन्टेनर १५ दिनदेखि चीनमै रोकिएको छ, कहिले आउने निश्चित नभएर उत्पादन नै बन्द गरेको भट्टराईले भने।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले कोरोनाको असर प्रत्यक्ष रुपमा पर्यटन व्यवसायमा परे पनि अन्य व्यवसायमा खासै नरहेको बताए। बजार प्रभावित भन्ने कुरा हावा रहेको बताउदै उनले कृत्रिम अभाव गरेर सामान महंगो होला भन्ने हो, केही हदसम्म कमी भए पनि अभाव नैे छैन। पछिल्लो समय नेपालको अर्थतन्त्रमा त्यसै पनि आर्थिकमन्दी छ, व्यवसायीहरुले कोरोनाको कारण देखाएर मूल्य बढाउन र अभाव देखाए पनि हामीसँग विकल्पको रुपमा भारतबाट पनि चिनियाँ र भारतीय सामानहरु आउने गरेको न्यौपानेले नागरिक न्युजलाई बताए ।

लसुनमा मनपरी रेट
चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण भैरहवा बजारमा चिनियाँ लसुनकोे मूल्य मनपरी रहेको छ। चिनियाँ लसुन आयातमा कठिनाई भएको कारण व्यवसायीहरुले मनपरी दरमा बिक्री गर्दै आएका छन्। पसलपिच्छे ५ सय ५० देखि ८ सयसम्ममा खुद्रा व्यवसायीहरुले बिक्री वितरण गरेपनि थोक व्यवसायीहरुले भने पछिल्लो समय भएको मौज्दात ३५० प्रति केजीमा बिक्री गरेको दावी गर्छन्।  

'चिनियाँ लसुनको १० दिनअगाडी ३५० रुपैयाँ प्रति केजी थोक बिक्री गरेका थियौ भएको स्टक सकिएकाले अहिले भारतीय लसुनले बजार धानेको छ', चीनबाट लसुन आयात गर्दै आएका भैरहवा गल्लामण्डीका अनमोल इन्टरप्राइजेजका मोहन बानियाले भने।

अहिले भारतीय लसुन प्रति केजी २ सय रुपैयाँका दरले बिक्री गरिरहेका छौ। लसुनको अभाव छैन, अबको १५ दिनभित्र चाइनिज लसुन आउँछ, बजारमा भएको अभाव हट्नेछ बानियाले नागरिक न्युजलाई भने।

नेपाल लसुनमा आत्मर्निभर नभए पनि बजारको माग अवस्था सम्बन्धमा जानकारी लिने सरोकारवाला अनुगमन गर्नुको साटो मूल्य वृद्धिको मूकदर्शक बनेर बसेको देखिन्छ। उपभोक्ताले ८ सय रुपैयाँसम्म लसुन खरिद गर्नुपरेको अवस्था स्थानीय सरकार र जिल्ला प्रशासनलाई थाहा हुँदाहुँदै पनि अनुगमन नगरि मौन बसेको आरोप उपभोक्ताको छ।

 

प्रकाशित: १५ फाल्गुन २०७६ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App