३ मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सोलु करिडोर प्रसारणलाइनको रुट नसर्ने

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका–४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहल गरिरहेको छ। स्थानीयले प्रसारण लाइनको रुट सार्न माग राख्दै झन्डै दुई वर्षअघिदेखि निर्माणमा अवरोध गरिरहेका छन्। त्यस क्षेत्रमा नौवटा टावर निर्माण गर्नुपर्नेछ।

अवरोधले निर्माण ढिलाइ हुँदा सोलुखुम्बुमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाकोविद्युत्् खेर जाने अवस्था आउन नदिन प्राधिकरण उच्च व्यवस्थापनले अवरोध हटाउन पहल गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, सम्बन्धित वडाका वडाध्यक्ष, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीलगायतको टोलीले आइतबार अवरोधस्थलको निरीक्षण गरी प्रस्तावित प्रसारण लाइन रुटको निरीक्षण गर्दै स्थानीयसँग छलफल गरेको छ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले सम्पूर्ण प्रकृयाहरु पूरा गरी निर्माण भइरहेको आयोजनाको रुट सार्न नसकिने प्रष्ट पारे।‘घनाबस्ती र खेतीयोग्य जमिनलाई कम क्षति पुग्ने गरी रुट तय गरिएको छ, यो लाइन तत्काल बनाउन सकेनौं भने निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न नसकेर ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने अवस्थामा छौं,’उनले भने, ‘यस्तो संवेदनशील आयोजनाको अहिले आएर रुटलाई अलिकति पनि दायाँबायाँ ग¥यौं भने लाइन नै बन्दैन, त्यसैले रुट सार्न सकिँदैन।’

स्थानीयसँगको छलफलमा कार्यकारी निर्देश घिसिङले भने, ‘लाइनमुनि पर्ने जग्गाको क्षतिपूर्ति रकम अधिकतम उपलब्ध गराउन प्रयास गर्ने छौं, आयोजनाले उपलब्ध गराउनसक्ने अन्य सुविधा र सामाजिक उत्तरदायित्वअन्तर्गतका कामबारे छलफल गरौं, लाइन तत्काल बनाउनु पर्ने दबाब भएकाले अवरोध हटाएर निर्माणमा सहयोग गरिदिनु प¥यो।’प्राधिकरणले देशैभरि प्रसारण लाइन निर्माण गरिरहेको उल्लेख गर्दै घिसिङले रुट सार्न थालिएमा कुनै पनि लाइन बनाउन नसकिने बताए।

उनले ऐलानी जग्गाको भोगचलन गरी फिल्डबुकमा नाम भएमा मूल्यांकित रकमको ७५ प्रतिशतसम्म र फिल्डबुकमा नाम नभएकाले अधिकतम ६६ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय मन्त्रिपरिषद्ले अन्य आयोजनामा यसअघि नै गरिसकेकाले यहाँ पनि उक्त सुविधा उपलब्ध गराइने बताए। प्राधिकरणले टावर रहने जग्गाको शतप्रतिशत मुआब्जा र लाइनमुनि नौ–नौ मिटर दायाँ र बायाँमा पर्ने जग्गाको क्षतिपूर्ति दिँदै आएको छ।

मेयर श्रेष्ठले अवरोध हटाएर राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्माण सम्पन्न गर्न नगरपालिकालेसक्दो सहयोग र प्रयास गर्ने प्रतिबद्धता जनाए। आयोजना प्रमुख जनार्दन गौतमकाअनुसार निर्माणमा १९ ठाउँमा भइरहेको अवरोध हटेमा यसै आर्थिक वर्षभित्र प्रसारण लाइन निर्माण सम्पन्न हुने छ।

सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत््लाई  सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय ग्रिडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको  हो। सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ। प्रसारण लाइनमा पर्ने तीन सय तीन टावरमध्ये दुई सय ४८को जग हालिएको र एक सय ६० खडा गरिएको छ। त्यस्तै ३१ किलोमिटर तार तानिएको प्राधिकरणले जनाएको छ।

सोलुखुम्बुको  तिंलामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ। योसँगै सिराहाको लाहानबाट तिंलासम्म ३३ केभी लाइन पुगेको छ। २३.५ मेगावाटको सोलुखोला जलविद्युत् आयोजनाको विद्युत्् अस्थायी वैकल्पिक व्यवस्थापनस्वरुप यही ३३ केभी लाइनबाट जोड्ने प्रयास भइरहेको छ।

सोलु करिडोर प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग तीन सय २५ मेगावाटकोविद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ। त्यसमध्ये सरकारले प्रतिस्पर्धामार्फत प्रवद्र्धक छनोट गरेका ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलुखोला आयोजनाको निर्माण सम्पन्न भई प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना तिर्नुपर्ने व्यवस्था पिपिएमा छ।सबै आयोजनाको विद्युत् तिंला सबस्टेसनमा जोडिने छ। 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झन्डै दुई वर्ष ढिला सुरु भएको थियो। प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२को चैतमा ठेक्का सम्झौता भएको थियो।

प्रकाशित: १३ फाल्गुन २०७६ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App