१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पोको तयारी पूरा

बनेपा – नेपाल पोल्ट्री महासंघको आयोजनामा पोल्ट्री क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पो–२०२० आगामी शुक्रबारदेखि सुरु हुँदैछ। चितवन एक्स्पो सेन्टर, उद्योग प्रदर्शनीमार्ग भरतपुरमा आयोजना हुने तीनदिने एक्स्पोको सबै तयारी पूरा भएको अध्यक्ष गुणचन्द्र बिष्टले जानकारी दिएका छन्।

उनले भने, ‘मुलुकमा हाल भइरहेको पशुपक्षी पालन, प्रशोधन र बजारीकरणसम्बन्धी क्षेत्र समेटेर नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यावसायिक परिचय दिने र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रमुख उद्देश्य रहेको छ। यस्तै, अन्य विकसित देशमा अपनाइएका पोल्ट्रीजन्य उत्पादनका प्रविधि नेपालमा भित्र्याउन उत्पादक, वितरक कम्पनी एवं नेपाली उद्यमी र कृषकबीच प्रत्यक्ष भेटघाट तथा अन्तरक्रियासमेत गराउँदैछौं,’ बिष्टले थपे।

एक्स्पोमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यावसायिकीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योगका लागि आवश्यक नवीनतम प्रविधिसमेत प्रदर्शित हुने महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिए। उनले भने, ‘यो अवसरले नेपाली पोल्ट्री कृषकद्वारा उत्पादित वस्तुको कम लागतमा अन्तर्राष्ट्रियस्तरको पोल्ट्री उत्पादन हुने अपेक्षा गरिएको छ। जसबाट आमउपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादन पाउने सुनिश्चितता हुनेछ,’ मिश्रले थपे।

एक्स्पोमा दुई सयभन्दा बढी स्टलमार्फत नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्यान्ड्स, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इजरायल, बंगलादेशका कम्पनीले विकास गरेका नवीन प्रविधि तथा उत्पादनबारे जानकारी लिन सकिने आयोजकले जानकारी दिएका छन्। एक्स्पोमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रको सहकार्य रहेको छ। यस्तै, नेपाल भेटरिनरी काउन्सिल, नेपाल भेटेरिनरी एसोसियसन, नेपाल औषधि उत्पादक संघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल पशुपक्षी औषधि व्यवसायी संघ, नेपाल पशुपक्षी औषधि पैठारीकर्ता संघ, नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एसोसियसन, नेपाल लाइभस्टक हेल्थ सर्भिसेज टेक्निसियन एसोसियसन, नेपाल कखुरा व्यवसायी मञ्च र नेपाल कुखुरा बजार व्यवस्थापन संघको सहकार्य रहेको छ।

मुलुकको कूल गार्हस्थ उत्पादनमा करिब चार प्रतिशतले पोल्ट्री क्षेत्रले योगदान गरेको पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईको भनाइ छ। उनी भन्छन्, ‘नेपालमा कुखुरापालन व्यवसायको मूल्य शृंखला (भ्यालु चेन) मानिएको ह्याचरी, दाना, किसान, फ्रेस हाउस, स्लटर हाउस, औषधि बिक्रेता, अण्डा क्रेट र बाकस बनाउनेलगायत कार्यमा प्रत्यक्ष रुपमा डेढ लाखले र अप्रत्यक्ष रुपमा दुई लाख व्यक्तिले रोजगारी पाएका छन्। सन् २०१७/१८ सम्म आइपुग्दा निजी क्षेत्रको साढे ८६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको यस क्षेत्रमा पछिल्ला वर्षमा अनेक समस्या थपिँदो छ,’ भट्टराईले थपे।

पहिलो पटक पोल्ट्री पाठशाला
नेपालका पशु चिकित्सक (भेटेरिनरियन)हरुको संस्था नेपाल भेटेरिनरी एसोसियसन, नेपाल पोल्ट्री महासंघ र नेपाल भेटेरिनरी काउन्सिलको आयोजनामा एक्स्पोकै अवसर पारेर पहिलो पटक ‘पोल्ट्री पाठशाला’ समेत आयोजना गरिएको छ।

फागुन १५ देखि ४ दिनसम्म प्रत्येक दिन सञ्चालन हुने पाठशालामा व्यावसायिक कुखुरापालनमा स्वास्थ्य, रोग, खोप, जैविक सुरक्षा, ब्रिडर पोल्ट्री व्यवस्थापन र चल्ला उत्पादनलगायत विषयमा स्वदेशी तथा विदेशी विज्ञको कार्यपत्र र अन्तरक्रिया रहेको छ।

यस्तै, साना तथा मझौला किसान, उपभोक्ता तथा विद्यार्थीलाई लक्षित गर्दै पाठशालाको तेस्रो दिनमा कुखुरापालनमा स्वास्थ्य, रोग, खोप, जैविक सुरक्षाबारे विशेष प्रशिक्षण र अन्तरक्रिया राखिएको आयोजकले जानकारी दिएका छन्।

प्रकाशित: १२ फाल्गुन २०७६ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App