१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालतर्फ लोड फ्लो टेस्ट सकियो

रसुवा - चीनसँगको अन्तरदेशीय प्रसारण लाइन निर्माणपछि विद्युत् आदानप्रदान गर्नका लागि नेपालतर्फ लोड फ्लो टेस्टको काम सकिएको छ। नेपाल विद्युत् प्राधिकरणको योजना तथा अनुगमन निर्देशनालयअन्तर्गत रहेको सिस्टम प्लानिङ डिपाटमेन्टले एक महिना लगाएर लोड फ्लो टेस्ट गरेको हो।

आयोजनाले भारतसँग दुईवटा र चीनसँग एउटा प्वाइन्टबाट लोड फ्लो टेस्ट गरेको रातमाटे–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ। भारतसँग ढल्केबर, गोरखपुर तथा चीनसँग रसुवागढी–केरुङ प्वान्टबाट प्रणालीको अध्ययन गरेको हो। प्रसारण लाइन निर्माणपछि तीन हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने देखिएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए। चीनमा देखिएको कोरोना भाइरसका कारण चीनतर्फको काम भने प्रभावित भएको छ। यसले संयुक्त रूपमा हुने लोड फ्लो टेस्टको काम केही समय धकिलिने छ।

‘प्राविधिक टोलीले नेपालभरिको सबै प्रवाह हेरेर सुरुमा कति मेगावटसम्म फ्लो गर्न सकिन्छ भनेर हेरेको थियो,’ उनले भने, ‘चीनतर्फ टेस्टको काम सुरु नभएकाले त्यहाँको नतिजा आउन केही समय लाग्छ ।’ चीनको स्टेट ग्रिड अफ चाइनाले चीनतर्फ लोड फ्लोको स्टडी गर्ने छ। दुवै देशतर्फ स्टडी सकिएपछि मात्र संयुक्त रूपमा टेस्ट गरिने छ। टेस्टको काम सकिएपछि दुवैले संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्ने छन्। प्रसारण लाइनमा पाँच हजार मेगावाट विद्युत् प्रवाह हुने आयोजनाले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणको योजना तथा अनुगमन निर्देशनालयअन्तर्गत रहेको सिस्टम प्लानिङ डिपाटमेन्टले एक महिना लगाएर लोड फ्लो टेस्ट गरेको हो।

प्रसारण लाइन निर्माणपछि नेपालमा उत्पादन भएको विद्युत् चीनले खरिद गर्ने छ। यो चीनसँगको पहिलो अन्तर्देशीय प्रसारण लाइन हो। प्रसारण लाइन निर्माण भएमा नेपालले बंगलादेशलाई समेत विद्युत् बेच्न सक्ने छ। नेपालतर्फ चार सय केभी डबल सर्किट र चीनतर्फ पाँच सय केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ। चीनको केरुङदेखि नेपालको रातमाटेसम्म निर्माण हुने आयोजनाको प्रि–फिजिबिलिटी अध्ययन सकिएको छ। प्रसारण लाइन पाँच हजार मेगावाट क्षमताको हुने छ। यो प्रसारण लाइनमा दुई सय १४ टावर रहने छ। सम्भाव्यता अध्ययनको ड्राफ्ट रिपोर्ट २०७५ चैत ३ गते पेस भएको थियो। अध्ययन प्रतिवेदनमा टावर संख्या, टावर राखिने स्थान, खोला क्षेत्र, निकुञ्ज क्षेत्र, आवश्यक पर्ने जग्गा, घुमाउन पर्ने क्षेत्रलगायतको जानकारी समेटिएको छ।

नेपालतर्फ रातमाटेमा सबस्टेसन रहने छ भने चीनतर्फ तिब्बतस्थित जिलोङ काउन्टीमा सबस्टेसन राखिने छ। रसुवागढी नाकादेखि रातमाटेसम्मको प्रसारणको दूरी ७० किलोमिटर रहेको छ। अन्तर्देशीय प्रसारण लाइन ६ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। नेपाल विद्युत् प्राधिकरणअन्तर्गत रहेको आयोजना विकास विभागले काम गरिरहेको छ। यो चीनसँगको पहिलो अन्तर्देशीय प्रसारण लाइन हो। भारतसँग भने ११ स्थानमा प्रसारण लाइन जोडिसकिएको छ। चीन सरकारले बेल्ट एन्ड रोड इनिसेटिभअन्तर्गत सन् २०३० सम्ममा सातवटै महादेशमा प्रसारण लाइन विस्तार गर्ने नीति लिएको छ।

चीन र नेपालबीच प्रसारण लाइन जोडिएपछि यसले भारत तथा मध्य एसियाली मुलुकलाई समेत जोड्छ। विद्युतीय रेल आएमा प्रसारण लाइनको दूरी पनि बढ्ने छ। ७० किलोमिटर दूरी रहेको लाइन काठमाडौं लैजाँदा एक सय पाँच किलोमिटर हुन्छ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App