२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

इलेक्ट्रोमेकानिकलको मेसिन स्टलेसनको काम रोकियो

माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको पावर हाउस। तस्बिर / नागरिक

रसुवा - जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलको मेसिन स्टलेसनको काम रोकिएको छ। चीनमा फैलिएको कोभिड–१९ का कारण चिनियाँ कामदार नआएपछि काम रोकिएको हो।

आयोजनाका अनुसार यही फेब्रुअरी १ बाट स्टलेसनको काम सुरु गर्ने तयारी थियो। यसका लागि चिनियाँ समूह आउने तयारीमा थिए। अन्य काम निरन्तर रूपमा चलिरहेको भए पनि स्टलेसनको काम अघि बढाउन नसक्दा समस्या आएको आयोजना प्रमुख सुदनसिंह महतले बताए। चालु आर्थिक वर्ष ०७६/७७ असार मसान्तभित्र विद्युत् उत्पादन गर्ने गरी काम गरिरहेको आयोजनाले जनाएको छ।  आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भइसकेको छ। यो १४.८ मेगावट क्षमताको आयोजना हो। आयोजनाले अहिले पोखरी निर्माणको काम गरिरहेको छ।

चार सय ७४ मिटर पेनस्टकमा पाइप राख्नुपर्नेमा ५० मिटर पाइप राख्न बाँकी छ। आयोजनाले दिएको जानकारी अनुसार सिभिलतर्फ ९०, इलेक्ट्रोमेकानिकलतर्फ ७० र हाइड्रोमेकानिकलतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको छ। आयोजना निर्माणका लागि हालसम्म तीन पटकसम्म म्याद थप गरिएको छ। आयोजनाको ०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ। आयोजनाको ०६८ असोज २३ गते विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो। आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ। सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ।

आयोजनाले पावर हाउसदेखि चिलिमे हबसम्म सात किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम चलिरहेको छ। आयोजनाले विद्युत् उत्पादन गर्ने समयसम्म चिलिमे हबको निर्माण पूरा नभएमा कन्टिन्जेन्सी प्लान बनाएर चिलिमे प्रसारण लाइनमा विद्युत् जोडिने छ। ११ केभी डबल सर्किट लाइनमा सीमित विद्युत् जोड्न सकिने उनले बताए। हब निर्माण भएपछि उत्पादित विद्युत् हबमा नै जोडिने छ। चीनमा फैलिएको कोभिड–१९ को कारण जिल्लामा निर्माण भइरहेका आधा दर्जन आयोजना प्रभावित भएका छन्। यसका कारण माथिल्लो सान्जेन, रसुवागढी, फलाखुखोला, लाङटाङ खोलालगायत जलविद्युत् आयोजनाको काम प्रभावित भएको हो। नयाँ वर्ष मनाउन चीन गएका कामदार नफर्किएपछि आयोजनाको काममा प्रत्यक्ष असर पुगेको आयोजनाले जनाएका छन्।

प्रकाशित: ८ फाल्गुन २०७६ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App