४ वैशाख २०८१ मंगलबार
अर्थ

महासंघ वरिष्ठ उपाध्यक्षमा प्रधान भिड्ने

विराटनगर – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आगामी चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। प्रधानले बिहीबार गृहनगर विराटनगरमा विशेष कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनेघोषणा गरेका हुन्।

महासंघका अर्का उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्। ढकालले पनि गृहनगर बागलुङबाट उम्मेदवारी घोषणा गरेका थिए। लामो समयदेखि सक्रिय रुपमा उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न आफू लागिपरेकोभन्दै उनले अझै एकपटक उद्योग, व्यवसाय क्षेत्रको सेवा गर्ने अवसर प्रदान गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरे। वरिष्ठ उपाध्यक्षको निर्वाचन जिते शेखर गोल्छाको नेतृत्वमा महासंघमा १० वर्षको अवधिमा नभएको काम तीन वर्षमै गरेर देखाइदिने उनले दाबी गरे। प्रधानले भने, ‘महासंघमा १० वर्षमा हुन नसकेको काम तीन वर्षमै गरेर देखाइदिन्छौं।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले काममा टिम स्पिरिट बढाउन वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई आफूले रोजेको बताए। गोल्छाले कुनै एक वर्गको मात्रै नभई सबैको साझा अध्यक्ष हुने दाबी पनि गरे। आफ्नो कार्यकालमा महासंघलाई बलियो बनाउने,उद्योग, व्यवसायका समस्या समाधानका लागि काम गर्ने पनि उनले प्रतिबद्धता जनाए। महासंघ आर्थिक रुपमा अपारदर्शी भएको आरोप लागिरहेकाले पदभार सम्हालेको ६ महिनाभित्रै अडिट गरेर वेबसाइटमा राख्ने उनले स्पष्ट पारे। उनले भने, ‘अध्यक्षको पद सम्हालेको ६ महिनाभित्रै हिसाब अडिट गरेर वेबसाइटमा राख्छु।

कार्यक्रममा पूर्वअध्यक्षहरू पशुपति मुरारका, विनोदबहादुरश्रेष्ठ लगायतले महासंघ नेतृत्वले संस्थाको गरिमा बढाउन नसकेको गुनासो गरे। उनीहरूले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने आफूहरूको धारणा रहेको बताए। प्रत्यक्ष निर्वाचित अध्यक्षले मात्रै महासंघलाई गति दिन सक्ने उनीहरूको भनाइछ।

प्रकाशित: २ फाल्गुन २०७६ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App