४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

कृषिमा रमाउँदै ठिटो

टनेलभित्र पाकेका गोलबेँडा टिप्दै बासपानीका किसान सुर्यराज राई । तस्बिर : दमन/नागरिक

खोटाङ– पैसा कमाउन सहोदर दौतरीहरु विदेश पुगे तर खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीका सुर्यराज राई भने गाउँमै कृषि कर्ममा रमिरहेका छन्। ‘गाउँमै केही गर्न सकिन्छ‘ भन्ने मान्यता बोकेका २३ वर्षीय राईले व्यवसायीक रुपमा विभिन्न प्रजातीका तरकारी खेती तथा माहुरी पालन गरिरहेका छन्। गोलबेँडा, बन्दाकोभी, फूलकोभी, ब्रो–काउली, ग्याटकोभी, प्याज, अदुवा, बेसार लगायतका तरकारी खेतीबाट उनले घरैमा बसेरै लोभलाग्दो आम्दानी गरिरहेका छन्।

आफ्नै गाउँमा स्वरोजगार बन्ने उपायको खोजीकाक्रममा सुर्यराजले २०७५ सालदेखि व्यवसायीक रुपमा कृषि खेती सुरुवात गरेका हुन्। उनले पाँच वटा टनेलभित्र बेमौसमी गोलबेँडा खेती लगाउने गरेका छन्। ६ महिनामा प्रतिटनेल पाँच–छ सय केजी गोलबेँडा उत्पादन हुने गरेको राईले बताए। दुई टनेल गोलबेँडा गाउँघरमा हुने बिहे पास्नी वा अन्य सामाजिक कामलाई ध्यानमा राखेर जगेडा राख्ने गरेका छन्। गाउँघरमा अन्यले लगाएको गोलबेँडा सकिएको अवस्थामा मात्र उनले आफ्नो गोलबेँडा बजारमा पुर्‍याउने गरेको बताए। उनले प्याजको बेर्ना बिक्रीबाट पनि उत्तिकै राम्रो आम्दानी गर्ने गरेका छन्। उनको बगानबाट प्रतिमुठा ५० रुपैयाँका दरले प्याजको बेर्ना बिक्री हुने गरेको छ।

उनले जेटिए अध्ययन गरेका काका अविराज राईको सिको गर्नेक्रममा कृषिमा व्यवसायीक सफलता प्राप्त गरेका हुन्। हाल उनलाई आवश्यक परेका बेला काकाले प्राविधिक सरसल्लाह दिने गरेका छन्। उत्पादित तरकारी घरबाटै बिक्री हुन्छ। कतिपय तरकारी अर्डरमा जान्छ। बाँकी रहेको तरकारी उनले भाईसँग डोकोमा बोकेर बाक्सिला बजारमा लाग्ने बुधबारे हाटमा पुर्‍याउने गरेका छन्। ‘सुरु सुरुमा त डोकोमा तरकारी बोकेर बजार जाँदा लाज लाग्यो, पैसा हात पर्न थालेपछि विक्रीमा बानी परियो,’ उनले भने, ‘तरकारी बजारमा आफै लैजाने, आफै बिक्री गर्ने गरेको छु। बजार जाँदा गोजी रित्तो हुन्छ, फर्कँदा गोजी भरि पैसा लिएर फर्कन्छु।’

उनले माध्यमिक तहसम्मको मात्र अध्ययन गरेका छन्। तर व्यवसायीक कृषिमा सफल कृषकका रुपमा परिचित छन्। कृषि खेती सम्बन्धि तालिम लिएर उनले व्यवसायीक कृषिको सुरुवात गरेका हुन्। बिहानदेखि बेलुकासम्म उनी तरकारीको गोडमेल र हेरचाहमा व्यस्त रहन्छन्। दिनभर कृषि कर्ममा रमाउँदा आनन्द लाग्ने गरेको राईले बताए। तनावका बेला तरकारी बारीमा गएर काम गर्दा तनावबाट मुक्ती मिल्ने गरेको उनको अनुभव छ। उनको कृषिप्रतिको लगावलाई ध्यानमा राखेर गाउँको अगुवा कृषक बनाइएको छ। ‘म त साथीभाईलाई विदेश नजाऔं भन्छु,’ उनले भने, ‘विदेश त सुन्नै मन लाग्दैन। यही छ हाम्रो लागि सुन।’

उनले १६ घार महुरी पालन गरेका छन्। घार संख्या वर्षेनी बढाउँदै लगेका छन्। हरेक वर्षको मंसिर, बैसाख र जेठमा मह काढ्दा वार्षिक ८० केजी मह उत्पादन हुने गरेको उनले बताए। उत्पादित मह प्रतिकेजी एक हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ।

 

प्रकाशित: २५ माघ २०७६ ०८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App