२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

दाङमा प्रदेश एक्स्पो हुँदै

दाङ- पाँच नम्बर प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा दाङमा ‘प्रदेश एक्स्पो’ गर्ने भएको छ। प्रदेश सरकारको स्थापना दिवस फागुन ३ मा हो। फागुन २ गतेदेखि स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको प्रदेश सरकारले १० फागुनदेखि १२ गतेसम्म दाङमा प्रदेश एक्स्पो गर्ने जनाएको हो।

यो एक्स्पो मार्फत प्रदेश सरकारले दुई वर्षसम्म गरेका हरेक गतिविधिहरुबारे आमजनमानसलाई जानकारी दिने नीति लिएको छ। ‘प्रदेश सरकारका हरेक मन्त्रालयले स्थापनाका दुई वर्षसम्म गरेका हरेक गतीविधिहरुलाई आमजनमानसमा पुर्‍याउने लक्ष्य अनुरुप यो एक्स्पो आयोजना गर्न लागिएको हो,’ शुक्रबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा पाँच नम्बर प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले भने ‘प्रदेश सरकारको हरेक गतिविधि बारे जानकारी दिनु सरकारको दायित्व हो।’

उनका अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत यो कार्यालय मार्फत दुई वर्षसम्म गरेका उपलब्धीहरु बारे जानकारी दिन डिजिटल बोर्डको व्यवस्थापन गरिने छ। यसैगरि आर्थिम मामिला तथा योजना मन्त्रालले पनि दुई वर्षे कार्यप्रगती विवरण प्रस्तुत गर्नुका साथै प्रदेशका स्थानीय तहका अधिकारीहरुलाई विभित्तय व्यवस्थापन सम्बन्धि परामर्श तथा तालिमको आयोजना गर्ने कार्यक्रम रहेको छ।

यसैगरि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिपदका अवस्थामा गरिने उद्धार कार्यको अभ्यास तथा राहत व्यवस्थापन र वितरण प्रणाली बारे प्रस्तुती राख्ने कार्यक्रम रहेको छ। यसैगरि भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ निर्माण प्रविधि तथा भूकम्प प्रतिरोधी संरचना सम्बन्धि जानकारी दिने छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टे सञ्चालनका लागि हस्पिटालिटि सम्बन्धि तालिमको आयोजना गर्ने छ भने प्रदेश ५ का मौलिक नृत्यहरुको प्रदर्शनसंगै दोहोरी गीत, सारंगी बादन लगाएत सांस्कृति कार्यक्रमको आयोजना गर्ने भएको छ।

यसैगरि सामाजिक विकास मन्त्रालयका तर्फबाट योगा लगाएत युवा तथा बालबालिकाहरुका लागि खेल आयोजना गर्ने छ। त्यस्तै शैक्षिक तथा वैज्ञानिक कार्यक्रमरुको आयोजना गर्ने सामाजिक विकास मन्त्रालयले मुटु तथा क्यान्सर रोगका बिरामीहरुको निःशुल्क उपचारका लागि स्वास्थ्य शिविर समेत सञ्चालन गरिने जनाईएको छ। मुटु तथा क्यान्सर रोगका विशेषज्ञ चिकित्सकहरुले दुई दिनसम्म शिविरमा रहेर उपचार गर्ने कानुन मन्त्री केसीले जानकारी दिए।

यस्तै भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका प्रमुख कृषि उत्पादनहरुको प्रदर्शनीको आयोजना गर्ने छ। यस्तै प्रदेश योजना आयोगले योजनाहरु सम्बन्धि दुई वर्षे समिक्षाको आयोजना गर्ने छ। साथै एक्स्पोमा निजी क्षेत्रका स्टलहरु रहने छन्। उक्त एक्स्पोमा सर्वसाधारणहरुलाई पुर्‍याउनका लागि जिल्लामा रहेका विभिन्न यातायात प्रालिहरुसंगको समन्वयमा धेरै भन्दा धेरै सवारी साधनको व्यवस्थापन गरिने मन्त्री केसीले जानकारी दिए।

प्रदेशभित्रका विभिन्न धार्मिक तथा पर्यटकीय थलोहरुका बारेमा पनि उक्त एक्स्पोमा जानकारी गराईने उनले बताए। एक्स्पो जिल्लाको बेलझुण्डिमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको खाली जमिनमा आयोजना गरिने छ।  

 

प्रकाशित: २४ माघ २०७६ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App