२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जङ्गली मेलमा नास्पाती फलाउने तयारी

जंगलमा पाईने मेलका रुखहरु । कलमी गरेको मेलको बोटमा लाएको नास्पाती । तस्बिर : कृष्ण/नागरिक

बाजुरा- कृषि ज्ञान केन्द्र बाजुराले जंगलमा पाईने मेल प्रजातीको बोटमा कलमी गरेर नास्पाती फलाउने योजना अघि सारेको छ। नास्पातीकै सानो जातिका रुपमा चिनिएको मेललाई कलमी गरेर नास्पाती बनाउने योजना रहेको कार्यालय प्रमुख गोविन्द्र सिजापतीले जानकारी दिएका छन्।

बाजुरा नास्पाती खेतीका लागि प्रचुर संभावना बोकेको जिल्ला हो। नास्पाती मेलकै विकसीत जात भएकोले कलमी गरेर नास्पाती उत्पादन गर्न सजिलो हुने कार्यालय प्रमुख सिजापतीको भनाई छ। कार्यालयले यो वर्ष एक लाख बढी मेलका बोटहरुमा कलमी गर्ने बताएको छ।

बाजुराका अधिकांश क्षेत्रमा प्रर्याप्त मात्रामा जंगली मेल पाइने भएकोले कलमीसहितको योजना अघि सारिएको कार्यालयका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन्। संभावनाको अध्ययनसहित परिक्षण मै सफल भइसकेकोले एकसाथ लाख बढी बोटमा कलमी गर्न लागिएको जैशीको भनाई छ।

बाजुराको स्याउ, आलु र स्थानीय रैथाने उत्पादीत वस्तुहरुको जिल्ला बाहिर बजार विस्तार गर्न सफल कृषि ज्ञान केन्द्रले नयाँ नयाँ कार्य थालनी गरेको छ। मेलकै विकसीत जात नास्पाती हो, मेल स्वस्फूर्त रुपमा आफै उम्रीसकेको छ, त्यसैमा कलमी गर्दा छिटो उत्पादन हुने कृषि वैज्ञानिकहरुको परिक्षणबाट सफल भइसकेकोले सुरुवाद गर्न लागिएको कार्यालयको दाबी छ।

उच्च हिमाली क्षेत्र बाहेक जिल्लाका सबै स्थानमा मेल पाइने गरेको छ। मेल आफैमा कात्र्तिक मंसिरमा पाक्ने भएपनि कलमी गर्दा सबै गुण नास्पातीको सर्ने र फल पनि नास्पाती नै दिने कृषि प्राविधिकहरुको भनाई छ। कलमी गरिएका सबै लाख बढी बोटहरुमा फल उत्पादन नभएपनि ९० प्रतिशत बढीमा उत्पादन संभावन हुने गरेको उनीहरुको दाबी छ।

भुइमा मेलको जस्तै जरा हुने भएकोले रोग किराको पनि डर हुने र माथिको भाग मात्र नास्पाती हुने हुँदा नयाँ बोट भन्दा सुरक्षित हुने बताईएको छ। कलमी गर्दा बोट बिरुवाको उत्पादन क्षमतामा पनि कुनै कमी नहुने प्राविधिकहरुको भनाई छ। बाजुराकै धेरै स्थानमा मेललाई कलमी पछि नास्पाती बनाएका उदाहरण रहेका छन्।

कलमीका लागि कृषि ज्ञान केन्द्रले सीपउयुक्त तालिम प्राप्त प्राविधीक गाउँ गाउँ खटाउने तयारी गरेको छ। गोडमेल तथा मलखाद प्रयोग गर्नु नपर्ने र लामो समय सम्म टिकाउ हुने हुँदा मेललाई प्रयोग गरेर नमुना कृषि उत्पादन गर्ने तयारी ज्ञान केन्द्रको छ।

जंगलमा प्रशस्त मात्रामा आफै उम्रीने भएकोले गर्दा खेर गईरहेको मेलको बोटलाई सामान्य व्यवस्थापनमा पनि नास्पाती फलमा रुपान्तरण गरी किसानको आयश्रोत बढाउने र जिल्लाको आम्दानीमा फाइदा पुग्ने अभियान ज्ञान केन्द्रको मात्र नसम्झीन ज्ञान केन्द्रले अनुरोध गरेको छ। स्थानीयले आफ्नो निजी क्षेत्रमा भएका मेललाई पनि कलमी गर्न चाहेमा ज्ञान केन्द्रले सहयोग गर्ने भएको छ।

ताजा फल बिक्री जाम तथा जेली बनाउनुका साथै बाँकी नास्पातीबाट बार्जु वाईन तयार गरी बिक्री वितरण गरी सजिलै आम्दानी गर्न सकिने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन्।

मेलका बोटहरु भएका गाउँ तथा सामुदायीक वनमा ५ वर्षमा कम्तिमा १ लाख खेर गईरहेका मेलका बोटलाई नास्पाती बनाउने लक्ष्यका साथ यो वर्षबाटै अभियान थालिएको हो। फागुन पहिलो हप्ताबाटै १० हजार बोटमा कलमी कार्य सुरु गर्ने तयारी गरिएको छ।

फलफूल विकास केन्द्र कीर्तिपुर काठमाडौबाट जापनीज नास्पातीको साईन र दक्ष जनशक्ति ल्याएर यहाँका प्राविधिकलाई कलमी गर्ने तरीकाबारे तालिम दिइने भएको छ। त्यसका लागि पुराना साविक २७ गाविसमा १ जना पर्ने गरी २७ जना प्राविधिक परिचालन गरिने भएको छ। कलमी गरेका बोटहरुले ३ देखि ४ वर्षमा उत्पादन दिन सुरु गर्दछन्।

 

प्रकाशित: २४ माघ २०७६ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App