११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

श्रम बजारमा दक्ष जनशक्ति अभाव, सिक्ने छैनन्

काठमाडौं - स्वदेश र विदेशको रोजगारीमा दक्ष जनशक्तिको अभाव भइरहेको बेला युवाको भने सीप सिक्नेतर्फ चासो देखिएको छैन।

जुनसुकै पेसा र कामका लागि सीप नभई नहुने भए पनि युवायुवतीको ध्यान सीप सिक्नेतर्फ नहुँदा  उनीहरूका लागि अघि सारिएका कार्यक्रम निरर्थक भइरहेका छन्। काम गर्ने समूहका युवाले सीप नसिक्दा गुणस्तरीय काम र उत्पादकत्व वृद्धिमा समस्या परेको छ। केही वर्षयता सरकारी तथा गैरसरकारी निकायले युवायुवतीलाई सीप सिकाउन विभिन्न कार्यक्रम अघि सारे पनि चाहिएको अनुसारको संख्या नै पु-याउन हम्मेहम्मे परेको अधिकारीहरूले बताएका छन्।

‘पछिल्लो दुई वर्षदेखि लक्ष्य अनुसार सीप सिक्ने युवायुवतीको संख्या पु-याउन सकेका छैनौं,’ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का अनुसन्धान तथा सूचना विभागका निर्देशक मणिराज भट्टराईले भने, ‘के कारणले प्राविधिक शिक्षा र सीपमा युवाको चासो बढ्न सकेको छैन भन्नेबारे अध्ययन गर्नुपर्ने देखिएको छ। परिषद्ले अघिल्लो वर्ष देशभरिका ६२ हजार युवालाई सीप सिकाउने लक्ष्य राखे पनि ४७ हजारले मात्र आवेदन गरेका थिए। त्यस्तै चालु आर्थिक वर्ष ७४ हजार आठ सय ६३ लाई सीप सिकाउने लक्ष्य राखेकोमा करिब ३० प्रतिशत (२२ हजार जति) संख्या अपुग भएको भट्टराईले बताए। युवालाई विभिन्न प्रकारका सीप सिकाएर दक्ष बनाउने उद्देश्यले सरकारले चालु आर्थिक वर्षमा करिब पौन दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

अघिल्लो वर्ष देशभरका ६२ हजारलाई सीप सिकाउने लक्ष्य राख्दा ४७ हजारको मात्र आवेदन, यो वर्ष ७४ हजार आठ सय ६३ लाई सीप सिकाउने लक्ष्य रहेकोमा २२ हजार जति अपुग

परिषद्ले मात्र नभई चालु आर्थिक वर्ष वैदेशिक रोजगार बोर्ड लगायतका विभिन्न निकायले युवालाई सीप सिकाउने कार्यक्रम थाल्दा सीप सिक्ने युवा पाउन सकिरहेका छैनन्। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले चालु आर्थिक वर्ष १५ हजार युवालाई निःशुल्क सीप सिकाउने लक्ष्य राखे पनि हालसम्म पाँच हजार दुई सय ३० लाई मात्र सीप सिकाउन सकेको बताए। सीप सिक्दा प्राप्त हुने लाभबारे ग्रामीण भेगसम्म जनचेतना वृद्धि गर्नुपर्ने देखिएको छ,’ श्रेष्ठले भने, ‘निःशुल्क सीप सिकाउँछौं भन्दा पनि खासै आकर्षण बढ्न सकेको छैन।’ हाल स्वदेशमा मात्र नभई वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश युवायुवतीसँग कुनै पनि सीप हुने गरेको छैन।

बोर्डका अनुसार बर्सेनि वैदेशिक रोजगारीमा जाने करिब पाँच लाख युवामध्ये २५ प्रतिशत मात्र दक्ष÷अर्धदक्ष हुने गरेका छन्। करिब ७५ प्रतिशत युवा कुनै पनि सीपबिना वैदेशिक रोजगारीमा जाँदा एकातिर मुलुकमा जाने संख्याको आधारमा रेमिटेन्स भित्रिन सकेको छैन भने अर्कोतर्फ सीपबिना वैदेशिक रोजगारीमा गएका युवा जोखिममा पर्ने गरेका छन्। सीप नसिकेकै कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्याको तुलनामा भित्रिने रेमिटेन्स न्यून रहेको विज्ञ बताउँछन्। आर्थिक वर्ष २०७५÷७६ मा वैदेशिक रोजगारीमा गएका युवाले आठ खर्ब ७९ अर्ब रुपैयाँ रेमिटेन्स पठाएका थिए। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा तीन खर्ब ७६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

वैदेशिक रोजगारीको मृत्युको कारणमा कतिपयले प्राविधिक सीप र शिक्षाको कमीलाई पनि लिएको बताउँछन्। वैदेशिक रोजगारीमा गएका कतिपय युवाको एसि, हिटर जस्ता उपकरण चलाउन नजानेरै हुने गरेको पाइन्छ। त्यस्तै कतिपयसँग सडक पार गर्दा ध्यान दिनुपर्ने ज्ञान समेत नभएको बताइन्छ। आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका युवामध्ये सात सय ५३ को निधन भएको थियो। विज्ञहरू सीप सिकेर वैदेशिक रोजगारीमा जाँदा युवायुवतीले अहिलेको भन्दा बढी पारिश्रमिक पाउने र जसले गर्दा मुलुक र स्वयम् व्यक्तिको आर्थिक जीवन स्तरमा सुधार हुने बताउँछन्।

परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले संसारभरि नै सीपको महत्व बढ्दै गएकाले तीन सय ४५ स्थानीय तहसम्म प्राविधिक शिक्षाको पहुँच विस्तार गरिएको बताए। परिषद्ले टिएसएलसी र डिप्लोमा तहमा प्राविधिक शिक्षा र सीप सिकाउँदै आएको छ। त्यस्तै परिषद्ले युवाहरूको क्षमता विकास र उद्यमशीलता अभिवृद्धिका लागि सीपमा आधारित छोटो अवधिका तालिम सञ्चालन गर्दै आएको छ। वाग्लेले चालु आर्थिक वर्ष ४५ हजार युवालाई छोटा अवधिका तालिम सञ्चालन गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार सीप सिकेका युवायुवतीमध्ये ७५ प्रतिशत रोजगारी र स्वरोजगारमा छन्।

                              जनसचेतना अभियान सुरु
परिषद्ले प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम र स्वरोजगार तथा रोजगारीका अवसरको प्रवद्र्धनका लागि बुधबारदेखि जनचेतना अभियान सुरु गरेको छ। ‘सीप हुन्छ हातमा रोजगारी साथमा’ नाराका साथ अभियानको शुभारम्भ गरिएको हो। बालाजुको स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा एक कार्यक्रम आयोजना गरी सचेतना कार्यक्रमको सुरुआत गरिएको हो। अभियानको सुरुआत युरोपियन युनियनको दक्षता परियोजना र ब्रिटिस काउन्सिलको सहकायर्मा सुरु गरिएको परिषद्ले जनाएको छ।

प्रकाशित: २३ माघ २०७६ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App