२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बानेश्वर र कोटेश्वर चोकमा आकासे पुल अलपत्र

काठमाडौं - पैदल यात्रुको उच्च चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएपछि सरकारले राजधानीको बानेश्वर चोक र कोटेश्वर चोकमा बनाउन खोजेका आकासे पुल अलपत्र बनेका छन्। मुलुकमा आयोजना समयमा नबन्ने रोग यी पुलमा पनि देखिएको छ। ठेक्का सम्झौता अनुसार बानेश्वर चोक र कोटेश्वर चोकका आकासे पुल निर्माणको अवधि गत पुसभित्र हो। ठेक्का सम्झौताको समय सकिँदा पुल तयार हुनुपर्ने थियो।

मुलुकका अन्य आयोजनामा जस्तै यहाँ पनि काम नहुनुमा एक पक्षले अर्को पक्षलाई दोष दिइरहेका छन्। विगतमा जस्तै टेलिफोन, तार, बिजुलीका पोल, बनाउने क्षेत्रलगायत कुरालाई अगाडि सारेर काम गरिएको छैन। यी पुल निर्माण गर्न ठेक्का पाएको कम्पनी पवन तथा प्राकृतिक जेभी हो। सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार बानेश्वर चोकमा टेलिफोन र भूमिगत ट्रान्सफर्मर लाइनको अवरोध समयमा हटाउन र पुलको डिजाइन पुनः रिभ्यू गर्नु परेकाले तोकिएको समयभित्रै निर्माण हुन नसकेको हो। गत चैतमा बानेश्वर चोक र कोटेश्वर चोक दूवैमा पुल निर्माण गर्ने ठेक्का पवन–प्रकृति जेभीले पाएको थियो। बानेश्वरचोकको पुलको ठेक्का सम्झौता दुई करोड चार लाख रुपैयाँमा भएको थियो। उक्त पुलको लम्बाइ ३८ मिटर रहेको छ।

बानेश्वरमा बनाउने भनिएको पुलको अहिले बल्लबल्ल पिल्लर उठ्दैछ। कोटेश्वरमा भने सुरसारै छैन।

कार्यालयका अनुसार हालसम्म बानेश्वरचोकको स्काई ब्रिजको प्रगति ४० प्रतिशत भएको छ। कोटेश्वरचोकमा निर्माणाधीन पुलको अहिलेसम्म जगको कामसमेत सुरु भएको छैन। सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर सजना अधिकारीले  बानेश्वरचोकमा निर्माणाधीन आकासे पुलको प्रगति ४० प्रतिशत भएको बताइन्। ‘बानेश्वरचोकमा निर्माणाधीन पुलको फाउन्डेसन र पिलर तयार भइसक्यो,’ उनले भनिन्, ‘पुलको ट्रस्टको डिजाइन फेर्नु परेकाले केही समय ढिला भएको हो।’

 इन्जिनियर अधिकारीले कोटेश्वरचोकमा कामनपा वडा कार्यालय ३२ र स्थानीयबासीको अवरोधका कारण पुल निर्माणले गति लिन नसकेको हो।’ सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले वडा कार्यालयको अवरोधका कारण कोटेश्वरचोकमा आकासे पुल निर्माण हुन नसकेको बताए। ‘सडक विभागले कोटेश्वरमा निर्माण गर्न खोजेको स्थानमा वडाध्यक्षले कुनै पनि हालतमा बनाउन दिन्न भन्नुभएको छ,’ उनले भनिन्, ‘त्यसैको कारणले अहिले पुल निर्माणको काम हुन नसकेको हो।’

प्रवक्ता सापकोटाले बानेश्वरचोकमा निर्माणाधीन आकासे पुलको ट्रस्टको डिजाइन संशोधन गर्नु परेकाले केही समय ढिलासुस्ती भएको बताए। ‘पुलको डिजाइन रिभ्यूको काम भइरहेको छ,’ उनले भने, ‘अबको केही समयभित्रै डिजाइनको काम सकेर निर्माण गर्नेछौं ।’ काठमाडौं महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष नवराज पराजुलीले सडक विभाग र सडक डिभिजन कार्यालय काठमाडौंले अपायक पर्ने स्थानमा आकासे पुल निर्माण गर्न लागेकाले स्थानीयबासीले विरोध गरेको दाबी गरे।

‘सडक विभागले वडा कार्यालय र स्थानीयबासीलाई बेवास्ता गरेर पुल निर्माण कार्य अगाडि बढायो। जसका कारणले विरोध भइरहेको हो,’ उनले भने, ‘हामीले कोटेश्वर र महादेवस्थान जाने  बाटोको बीचमा पुल निर्माण गर्न माग गरेका हौं,’ वडाध्यक्ष पराजुलीले सडक विभागले आफूखुसी निर्माण गर्न खोज्दा पैदलयात्रुलाई समस्या भएर विरोध गर्न लागेको दाबी गरे। इन्जिनियर अधिकारीले स्थानीयले अवरोध गरेसँगै काटेश्वरचोकमा पुल निर्माण कार्यले गति लिन नसकेको बताइन् ।‘जहाँ डिजाइन गरेका थियौ। त्यहाँ पुल निर्माण गर्न पाएनौं,’ उनले भनिन्, ‘तत्कालै अर्काे ठाउँमा सार्न सक्ने अवस्थामा छैनौं ।’ कोटेश्वरचोकमा निर्माण गर्न खोजिएको पुल भ्याटसहित दुई करोड ८९ लाख रुपैयाँमा गर्न लागिएको हो।

काठमाडौं महानगरपालिका सहरी योजना आयोगले गरेको सर्भेले कोटेश्वर चोकमा बिहान ९ देखि ११ बजेसम्मको पिक आवरमा १० हजार एक सय ७५ जना पैदल यात्रुले बाटो काट्ने गर्छन्। त्यस्तै बेलुकाको ४ देखि ६ बजेसम्मको अवधिमा १० हजार ७० जनाले बाटो काट्ने गरेका छन्। भक्तपुरबाट सातदोबाटोतर्फ जाने सवारीको संख्या १० प्रतिशत मात्रै देखिएको छ। बानेश्वर चोकमा बिहानको पिक आवरमा पाँच हजार आठ सय ६२ पैदल यात्रुले बाटो वारपार गर्ने भेटिएको छ।

बेलुकको पिक आवरमा ६ हजार चार सय ७४ जनाले बानेश्वरको चोकबाट बाटो वारपार गर्ने आयोगको अध्ययनले देखाएको छ। सर्भेले भक्तपुरबाट कोटेश्वरतर्फ बिहान र बेलुकाको पिकआवरमा १९ हजार तीन सय ३४ दुईपांग्रे सवारीसाधन कोटेश्वर भित्रिने गरेका छन्। सर्भे अनुसार भक्तपुरबाट कोटेश्वरतर्फ बिहान ६ हजार चार सय ६८ चारपांग्रे सवारीसाधन भित्रिने गर्छन्। बेलुकीपख कोटेश्वरबाट भक्तपुरतर्फ आठ हजार एक सय ७० चारपांग्रे गाडी जाने गरेको प्रारम्भिक अध्ययनले देखाएको छ।

प्रकाशित: १९ माघ २०७६ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App